crimenews
||Rajyadainik||

आजको समाचार

कोरोनाको बहानामा बलात्कार आरोपीलाई उन्मुक्ति, घर पुगेर भोजभतेर

अपराध


काठमाडौं - माघ ७

काठमाडौं , गत मंसिर २६ गते राति चिंगाड गाउँपालिकाकी १५ वर्षीया बालिका छिमेकीबाटै बलात्कृत भइन् । बालिकाका आफन्तले दुई दिनपछि ३० वर्षीय ओमबहादुर रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जबरजस्ती करणी मुद्दा दार्ता गरे । प्रहरीले भोलिपल्टै उनलाई पक्राउ गर्यो ।

हिरासतमा राखिएको एक सातापछि उनको कोरोना परीक्षण गरियो । रिपोर्ट पोजेटिभ आएपछि प्रहरीले बलात्कार आरोपीलाई हिरासतमुक्त गर्यो । होम आइसोलेसनमा बस्ने गरेर हिरासतमुक्त भएका उनी ठाउँ गएर भोजभतेर गर्न थाले । पीडितको घरमै पुगेर मुद्दा फिर्ता लिन धम्क्याउन थाले ।

‘गम्भीर प्रकृतिको अपराधमा संलग्नलाई कोरोनाको बहानामा घर पठाउँदा पीडितलाई पर्ने असरका बारेमा प्रहरीले ख्यालै नगरेको देखिन्छ,’ अधिवक्ता विवसकुमार बस्नेतले भने ।

होम आइसोलेसनमा पठाएको बलात्कार आरोप गाउँ पुगेर भोजभतेर गरेको, प्रहरीलाई घुस दिएर आफू छुटेको बताउने गरेको, पीडितको घरमा पुगेर धम्क्याउने गरेको जस्ता गुनासो प्रहरीकोमा नपुगेको होइन । प्रहरीले अहिलेसम्म गुनासाहरु नसुनेझैँ गरिररहेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

हरेक दिन १० वर्षमुनिका एक जना बालिकामाथि बलात्कार

अपराध


काठमाडौं - माघ ६

काठमाडौं , नेपाल प्रहरीका अनुसार प्रत्येक दिन औसतमा १० वर्षमुनिका एक जना बालिकाहरु बलात्कारको सिकार बन्ने गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि मंसिरबीचको पाँच महिनामा मात्रै १० वर्ष मुनिका १ सय ३४ बालिका र एक बालक बलात्कारको सिकार भएका छन् ।

यही अवधिमा ११ देखि १६ वर्षका ४ सय २८ बालिकाहरु बलात्कारको सिकार बनेको तथ्यांक छ । लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो पाँच महिनामा १० वर्ष उमरमुनिका ३० बालिका बलात्कृत भएका छन् ।

यो तथ्यांक यो अवधिमा प्रदेश १ बाहेकका अन्य ५ प्रदेशको तुलनामा सबैभन्दा उच्च हो । यही अवधिमा लुम्बिनी प्रदेशमा ११ देखि १६ वर्ष उमेर समूहका ५८ बालिका बलात्कृत भएका छ ्। आजको कान्तिपुर दैनिकमा समाचार छ ।

छोरा मारिए, शरीर चिरेर यातना दिइयो तर न्याय दिइएन

अपराध


काठमाडौं - माघ २

काठमाडौं, देशमा चलेको एक दशक लामो सशस्त्र द्वन्द्वका बेला नेपालगन्जका पूर्णप्रसाद पौडेलले दुई छोरा गुमाए । सैनिकले घरमै आएर पाँच लाख लुटे । उनीहरुबाट पाएको यातनाले शरीर छियाछिया भयो । ‘आँखैअगाडि श्रीमतीमाथि दुव्र्यवहार गरियो, पछि द्वन्द्व सकियो, तर वर्षौंसम्म पनि न्याय पाइनँ’, पौडेलले भन्नुभयो– ‘यस्ता विषयको हिसाव किताब देखाउँदै न्याय मागेर थाकिसकेको थिएँ, अबचाहिँ न्याय पाउँछु कि?’

सर्वोच्च अदालतले आदेश पाएको १५ दिनभित्र आवश्यक सुविधा तथा अन्य सहुलियत दिनका लागि सिफारिस गर्न सत्य निरुपण तथा मेलमिलाप आयोगलाई परमादेश दिएपछि पौडेलले न्याय पाउने आशा पलाएको बताउनुभएको हो । सशस्त्र द्वन्द्वको समयमा पौडेल १८ महिनासम्म बाँकेको सैनिक हिरासतमा प्रताडित हुनुभयो ।

त्यतिबेला आँखामा पट्टी बाँधेर राखिने, पछाडि हात लगेर बाँध्ने, करेन्ट लगाइने, हात खुट्टाको औंलामा पिन ठोक्ने, खुट्टाको अघिल्लो भाग चिरेर दुई औंला एकातिर र बाँकी तीन औंला अर्कोतिर पारिनेजस्ता कार्यबाट आफू प्रताडित भएको पौडेलले सर्वोच्च अदालतसमक्ष बताउनुभएको थियो ।

पौडेलका छोराछोरी २०५८ साल माघ १५ गतेदेखि विद्यालयबाट निकालिए । ‘पढ्न नपाएर कान्छा छोराले २०६२ साल फागुन ८ गते आत्महत्या ग(यो।’ –पौडेलले सर्वोच्च अदालतमा सुनाउनुभयो । उहाँका अर्का छोरा २०७४ साल असार २७ गते भेरी नदीको किनारमा मृत अवस्थामा भेटिए ।

पौडेल सैनिकको कब्जामा नै रहेको अवस्थामा २०५८ साल पुस २४ गते ७० जनाको टोली आफ्नो घर गई ५ लाख रुपियाँ लुटपाट गरेको गुनासो पनि उहाँले अदालतसमक्ष गर्नुभयो । आफू सैनिक कुटाइबाट थला परेको र उपचारका लागि ११ लाख खर्च लागेको पनि पौडेलको बयानमा उल्लेख छ । त्यसको शोधभर्ना माग्न जाँदा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको कार्यालयले सबै सक्कल बिल हराइदिएको पनि उहाँको गुनासो छ । नेपाल समाचारपत्र दैनिकबाट

शंकाको घेरमा टोखा हत्याकाण्ड : १० घण्टापछि मात्र किन गरियो प्रहरीलाई खबर ? केसी परिवारलाई पनि जानकारी दिइएन

अपराध


काठमाडौं - पुस २६

बुधबार उमेश केसी र पत्नी सुदीक्षा गिरीसँग शर्मिला गिरीको सम्पर्क भएको थियो । बिहीबार भने सुदीक्षासँग पटकपटक फोन सम्पर्क गर्दा पनि नलागेको बयान शर्मिलाले प्रहरीलाई दिएकी छन् । ‘त्यसपछि कोठामै गएर कुरा गर्नुपर्यो भन्ठानेँ, भोलिपल्ट बिहान करिब ११ बजेतिर कोठामा पुग्दा भित्रबाट ढोका लगाइएको रहेछ, भान्सा कोठातर्फबाट ढोका ठेल्दा चुकुल खुस्कियो, त्यसपछि भित्र पसेँ अनि बहिनी झुन्डिएको अवस्था र ज्वाइँको शव गन्हाएको अवस्थामा भुइँमा ढलेको देखेपछि आत्तिएर बाहिर निस्किएँ ।’

त्यसपछि आफू आत्तिँदै टोखास्थित घर पुगेर आमालाई सबै कुरा बताएको उनको जिकिर छ । उमेश दम्पतीको हत्याबारे केसी परिवारलाई किन खबर गरिएन भन्नेमा प्रहरीले सूक्ष्मरुपमा अनुसन्धान भइरहेको जनाएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार शर्मिलाले शव देखेको करिब १० घण्टापछि मात्रै प्रहरीलाई खबर गरेको, मृतकका परिवारलाई जानकारी नगराएको, सुदीक्षा गिरीले आत्महत्या गरेको वा हत्या भएको विषयमा सूक्ष्म रुपमा अनुसन्धान भइरहेको बताए ।

बहिनी र ज्वाइँबीच पहिलेदेखि नै पारिवारिक विवाद हुने गरेको शर्मिलाले बताएकी छन् । उमेशका दाजु हिमेशले भाइबुहारीको हत्यामा तेस्रो पक्षको पनि संलग्नता हुन सक्ने आशंका गरे । ‘सुदीक्षाले भाइको हत्या गरेर आत्महत्या गरिन् भन्ने पत्यार लाग्दैन, कतै आर्थिक कारणले त घटना घटाइएन भन्ने हाम्रो आशंका छ,’ उनले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

बालबालिकामाथि अपराध बढ्दै

अपराध


काठमाडौं - पुस २१

यो आर्थिक वर्षको मंसिरसम्म बालबालिकाविरुद्ध भएका १ हजार ७४ घटना प्रहरीमा पुगेको छ। त्यसमा बलात्कार, बालयौन दुव्र्यवहार, अपहरण, अपहरणपछि हत्या, जातीय छुवाछुत, घरेलु हिंसा, अप्राकृतिक मैथुनलगायत छन्। प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बालबालिकाविरुद्ध हुने अपराधमा प्रहरी संवेदनशील रहेको बताउँछन्। ‘प्रहरी जहिल्यै बालबालिकाविरुद्धको अपराधमा संवेदनशील छ’, प्रवक्ता कुँवर भन्छन् । 

उनी भन्छन्, ‘हामीले प्रहरी समुदाय साझेदारी कार्यक्रमबाट सर्वसाधरणलाई सुचित गरेका छौं। पहिला अभिभावक पनि सचेत हुनुपर्छ।’ बालबालिकाको क्षेत्रमा थुप्रै सरकारी एवं गैरसरकारी संघसंस्थाले काम गरिरहेका छन्। तर, बेला–बेला भइरहने आपराधिक घटनाले यी संस्थाका प्रयास निस्प्रभावीझैं देखाउँछ। अबोध बालबालिकामाथि हुने क्रूर घटनामा राज्य त्यतिबेला संवेदनशील हुन्छ, जब घटनाले उग्ररूप लिन्छ। सडक तात्छ। सदन तात्छ। तब मात्रै सरकारी निकाय बोल्छन्। अन्तिममा क्षतिपूर्तिको नाममा पीडित पक्षलाई थमथमाउने र पीडकलाई कानुनी दायरामा ल्याउने काम मात्रै भएको विभिन्न घटनाक्रमले देखाउँछ।

राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी कानुन बनाएर मात्र पनि नहुने बताउँछिन्। ‘कानुन कार्यान्वयनको पाटो बलियो बनाउनुपर्छ’, अन्सारी भन्छिन्, ‘स्थानीय सरकारको संयन्त्र बलियो बनाउनुपर्‍यो। अहिले स्थानीय संयन्त्र नै बालबालिका क्षेत्रमा संवेदनशील भएको देखिँदैनन्।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । 

बालकको बीभत्स हत्या

अपराध


जनकपुरधाम - पुस १८

जनकपुरधाम । ‘मेरो सोना राजा, मेरो अभि मलाई छोडेर कहाँ गयौ ?’ ३० वर्षीया रामपुकारी राय ५ वर्षीय छोरो अभिनन्दन खोज्दै भक्कानिँदै थिइन्। छोराहरू जेठो ११ वर्षीय दीपक, माइलो ८ वर्षीय करण र छोरी ८ महिनाकी आरुषीकुमारी साथमै थिए। छिमेकी र आफन्त उनीहरूलाई सम्झाइबुझाइ गरिरहेका थिए।

दीपक पनि भक्कानो छाडेर रोइरहेका थिए। करण दाइ दीपकलाई भन्दै थिए, ‘म भाइसँग दुई दिनदेखि खेल्न पाएको छैन। मेरो भाइ ल्याइदेऊ।’ छोरा गुमाएको शोकमा रामपुकारी लुडीबुडी गरिरहँदा उनलाई छिमेकी मञ्जुदेवी रायले सम्झाइरहेकी थिइन्, ‘जे नहुनु थियो भइसक्यो, अब के गर्ने ? कालले तिम्रो छोरालाई लिएर गइसक्यो, अब कहिले फर्किंदैन, धैर्य राख।’

यो घटना हो धनुषाको विदेह नगरपालिका–२ दुहबीको। स्थानीय ५ वर्षीय अभिनन्दन राय अमात बुधबार बिहान ९ बजेदेखि हराएका थिए। हत्या गरेर भंैसीगोठमा गाडेको अवस्थामा बिहीबार राति १० बजे उनको शव भेटियो।

‘हामीले बालकलाई सकुशल उद्धार गर्न हराएको थाहा पाएदेखि नै खोजिरह्यौं। जिल्लाका हरेक युनिट र सीमा सुरक्षामा खटिएको प्रहरीलाई फोटोसहितको सूचना प्रवाह ग¥यौं’, सीमा प्रहरी चौकी दुहबीका प्रमुख हिलक सिंहले भने, ‘तर, बिहीबार राति १० बजे खोज्दै जाँदा घाँटी थिचेर हत्या गरी गाडेको अवस्थामा शव भेट्यौं।’

सिंहले घटनाबारे बुधबार बेलुका जानकारी प्राप्त भएको उल्लेख गरे। ‘त्यसपछि शंकाका आधारमा खोजी गर्दै जाँदा बिहीबार अबेर राति ब्रह्मदेव राय अमातको घरमा भैंसी बाँध्ने गोठमा खाल्डो खनी पुरेर पराल ओछ्याई भैंसी बाँधेको अवस्थामा शव बरामद गरेका छौं’, उनले भने।  धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले रुपैयाँ लेनदेनका कारण नाबालक मारिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिए। ‘खेल्दाखेल्दै प्रमिलाको घर पुगेको बच्चालाई चाउचाउ खान दिएर राखेको पायौं’, प्रहरी उपरीक्षक बस्नेतले भने, ‘चाउचाउ खाइसकेपछि बच्चाले प्रमिलालाई निद्रा लाग्यो सुत्छु भनेकोमा खाटमा सुताई, सुतिसकेको अवस्थामा घाँटी थिचेर हत्या गरेको देखियो।’

बच्चाको घाँटी थिचेर हत्यापछि साँझको अँध्यारोमा शव उठाएर गोठमा लगी खाल्डो खनेर गाडेको र माथिबाट खरानी र पराल हाली भैसी बाँधेको अवस्थामा भेटिएको बस्नेतले बताए।  यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोविन्द महतोले लेखेका छन् । 

जीवन–मरणको छटपटीमा बलात्कृत ७ वर्षीया बालिकाः अस्पतालको बेवास्ता, रोकिएन रक्तस्राव

अपराध


रौतहट - पुस १६

रौतहट । अस्पतालभित्र आउजाउ गर्ने बाटो छेउको बेडमा ओठ सुकेकी र अनुहार मलिन भएकी बालिका सुतेकी छन्। बेडकै एक छेउमा आमा र आफन्त उनको अनुहार हेर्दै चिन्तित मुद्रामा छन्।

गत सोमबार बलात्कृत ७ वर्षीया बालिकाले उचित उपचार र सुरक्षा नपाएको पीडित परिवारले गुनासो गरेका छन्। ती अवोध बालिका चन्द्रनिगाहपुर सरकारी अस्पतालमा जीवन–मरणको छटपटी व्यहोरिरहेकी छन्। मंगलबारदेखि अस्पतालमा राखिएकी उनलाई सामान्यबाहेक उपचार हुन सकेको छैन। बालिकाको बिग्रिँदो अवस्थाले अभिभावक छटपटाइरहेका छन्।

सोमबार दिउँसो करिब १२ बजे रौतहटको चन्द्रपुर नगरपालिका–७ की बालिकालाई २२ वर्षीय दिनेश दास तत्माले बलात्कार गरी घाइते बनाएका थिए। पैसाको प्रलोभन देखाई उनलाई दासले घरनजिकै आम खोला किनारमा लगेर बलात्कार गरेका थिए। प्रहरीले ती बालिकालाई सोमबारै अस्पताल पु¥याएको थियो। त्यसदिन सामान्य उपचार गरी अस्पतालले घर पठाएको थियो।

घरमा उनको स्वास्थ्यमा थप समस्या आयो। अत्यधिक रक्तश्राव भयो। पुनः उपचारका लागि त्यही अस्पताल लगियो। तर, स्वास्थ्यकर्मीले उपचारमा ध्यान नदिएको अधिकारकर्मी र आफन्तले गुनासो गरेका छन्। घटना भएकै दिन अस्पताल पु¥याउँदा डा. जहुर राइनले प्राथमिक उपचार मात्रै गरेर घर पठाएको पीडित पक्षको भनाइ छ। मंगलबार पुनः अस्पताल पु¥याउँदा पनि वास्ता नगरेको गुनासो छ। धेरै अनुरोधपछि बालिकाको घाउमा टाँका लगाइएको अभिभावकले बताए।

बुधबार दिउँसोसम्म रक्तस्राव रोकिएको छैन। बालिका बोल्न डराउँछिन्। छेउमा बसेकी आमा छोरीलाई केही हुन्छ कि भन्ने चिन्तामा छिन्। बाबु अस्पतालबाहिर र भित्र गरेर छटपटाइरहेका छन्। बलात्कारजस्तो घटनाका पीडितलाई धेरै भीड हुने ठाउँमा राखिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा फणि महतले लेखेका छन् । 

बलात्कारका घटना भयावह : चार वर्षमा ९० घटना

अपराध


इलाम — पुस १०, २०७७। (रासस)

समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ । इलाममा चार वर्ष (२०१७–२०२०) मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार सन् २०१७ मा ३२, ०१८ मा २३, ०१९ मा २१ र ०२० मा १४ बलात्कारका घटना भएका थिए । यस्तै सन् २०१६ मा ११, २०१५ मा २१ र २०१४ मा ११ बलात्कारका घटना भएका थिए । यसमध्ये बलात्कारमा पर्नेमा बालिका बढी देखिन्छ ।

इन्सेकका अनुसार सन् २०१७ मा बलात्कारका ३२ घटनामा २२ बालिका र १० महिला, सन् ०१८ मा बलात्कारका २३ घटनामा १५ बालिका र आठ महिला तथा सन् ०१९ मा बलात्कारका २१ घटनामा बालिकाको सङ्ख्या १३ र महिलाको सङख्या आठ थियो । पछिल्लो चार वर्षमा आत्महत्याका २६५, बलात्कारका ९०, घरेलु हिंसा ८५, बहुविवाह १७, हत्या १५, मानव बेचबिखन आठ, बलात्कारपछि हत्या तीन, जातीय विभेद र कुटपिट दुई÷दुई र बालविवाह भएको इन्सेकको तथ्याङ्कले देखाउँछ ।

यस वर्ष सबैभन्दा अन्य घटनाका तुलनामा आत्महत्याको घटना बढी भएको छ । यस वर्ष ११४ वटा आत्महत्याका घटना देखिएको इन्सेक इलामका प्रतिनिधि कोकिला ढकालले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका महिला र बालिका बलात्कारको शिकार हुने गरेको प्रतिनिधि ढकालले जानकारी दिनुभयो । आर्थिक सङ्कट टार्नका लागि काम गर्नुपर्ने बाध्यता हुनाले बलात्कारमा पर्न सक्ने जोखिम रहेको उहाँले बताउनुभयो । परपुरुषसँग मात्र नभई अभिभावकबाट बलात्कृत हुने क्रम बढेको बताइएको छ । हिंसाका घटना घरभित्रैबाट शुरु हुने र तिनै घटना बलात्कारसम्म पुग्ने गरेको मानवअधिकारकर्मीको भनाइ छ ।

घटना ढाकछोप गर्न मिलापत्र गर्नेदेखि पीडितलाई मार्नेसम्मका जघन्य अपराधका घटनासमेत बढेकाले यसबाट बच्न सचेतनाका कार्यक्रम ल्याउन आग्रह गरिएको छ । यता जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख नवीनराज राईले महिला बढी प्रभावित भएकाले न्यूनीकरणका लागि विभिन्न तालीमका कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । मानवअधिकार उल्लङ्घनका घटना बढेकाले महिलालाई उत्प्रेरणा दिने कार्यक्रम ल्याइएको राईले बताउनुभयो ।

संवैधानिक इजलासमा ‘पिक एन्ड चुज’

अपराध


काठमाडौँ — पुस १०, २०७७। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदन सुनुवाइका लागि केही बेरअघि मात्रै ५ सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । न्यायपरिषद्ले तय गरेका १४ जना न्यायाधीशको सूचीबाट उनले आफूसहित अरू चार जनालाई छानेका हुन् ।


प्रधानन्यायाधीश जबराले यसअघिको अभ्यासभन्दा फरक रूपले इजलास गठन गरेका छन् । उनले सूचीमा रहेको वरिष्ठताक्रमलाई पछ्याएका छैनन् । उदाहरणका लागि जबराले आफूपछिका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई इजलासमा राखेका छैनन् । त्यसपछिकी न्यायाधीश मीरा खड्का पनि इजलासमा परेकी छैनन् । यसअघि सामान्यतया वरिष्ठताक्रम पालना गरी इजलास गठन गरिन्थ्यो ।

प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइको निष्पक्षता र तटस्थतालाई यति बेला पेचिलो विषयका रूपमा हेरिएको छ । त्यसैले इजलास गठनका क्रममा प्रधानन्यायाधीशले के आधारमा अरू चार न्यायाधीश छाने, त्यसको कुनै आधार वा मापदण्ड बनेको हुनुपर्छ । तर त्यो सार्वजनिक गरिएको छैन ।

हालको सूची हेर्दा चौथो वरीयताक्रमका हरिकृष्ण कार्की इजलासमा परेका छन् । उनी जबरापछि प्रधानन्यायाधीश हुने रोलक्रममा समेत छन् । कार्कीपछिको वरीयताक्रममा रहेका विश्वम्भरप्रसाद श्रेष्ठ पनि इजलासमा छन् । त्यसपछिका दुई न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको नाम ‘अर्थपूर्ण रूपमा’ इजलासमा परेको छैन । त्यसपछि प्रधानन्यायाधीशको रोलक्रममा रहेका अनिलकुमार सिन्हालाई इजलासमा राखिएको छ ।

सिन्हापछिका प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल पनि इजलासमा छैनन् भने त्यसपछिका तेजबहादुर केसी संवैधानिक इजलासमा राखिएका छन् । उनीसँग प्रधानन्यायाधीशको अत्यन्त नजिकको सम्बन्ध रहेको भनी न्यायिक क्षेत्रमा चर्चा चल्ने गरेको छ । इजलासमा परेकामध्ये केसीमात्रै प्रधानन्यायाधीशको रोलक्रममा छैनन् । उनी इजलासमा नपरेको भए प्रधानन्यायाधीशको रोलक्रममा रहेका न्यायाधीशहरू मात्रै संवैधानिक इजलासमा परेको भनी अर्थ लगाउन पनि मिल्थ्यो । तर केसीसमेत संवैधानिक इजलासमा परेकाले जबराले न्यायाधीश छान्ने क्रममा लिएको आधार अनुमान गर्न कठिन छ ।

सूचीमा भएकामध्ये संवैधानिक इजलासमा को–को परे

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा

न्यायाधीश हरिकृष्ण कार्की (प्रधानन्यायाधीशको रोलक्रममा)

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ (प्रधानन्यायाधीशको रोलक्रममा)

न्यायाधीश अनिलकुमार सिन्हा (प्रधानन्यायाधीशको रोलक्रममा)

न्यायाधीश तेजबहादुर केसी (प्रधानन्यायाधीशको रोलक्रममा नरहेका)

को–को परेनन्

वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की (प्रधानन्यायाधीशको रोलक्रममा नरहेका)

न्यायाधीश मीरा खड्का (प्रधानन्यायाधीशको रोलक्रममा नरहेकी)

न्यायाधीश ईश्वरप्रसाद खतिवडा

न्यायाधीश डा. आनन्दमोहन भट्टराई

न्यायाधीश प्रकाशनमानसिंह राउत (प्रधानन्यायाधीशको रोलक्रममा)

न्यायाधीश सपना प्रधान मल्ल (प्रधानन्यायाधीशको रोलक्रममा)

न्यायाधीश पुरुषोत्तम भण्डारी (प्रधानन्यायाधीशको रोलक्रममा नरहेका)

न्यायाधीश बमकुमार श्रेष्ठ (प्रधानन्यायाधीशको रोलक्रममा नरहेका)

न्यायाधीश टंकबहादुर मोक्तान (प्रधानन्यायाधीशको रोलक्रममा नरहेका)

(कान्तिपुर दैनिक)

होसियार ! यसरी फस्नुहोला हनी ट्र्यापमा

अपराध


काठमाडौं - पुस १०

ललितपुर । नेपाली सेनाबाट अवकाशप्राप्त भोलाकुमार जर्घा मगर बुधबार दिउँसो केही कागजपत्र बोकेर महानगरीय प्रहरी परिसर ललितपुर पुगे। ‘हनी ट्र्याप’मा पारी जर्घालाई कुटपिट तथा लुट्ने समूहका एक आरोपित लालबहादुर श्रेष्ठ सँगै थिए। अपराध महाशाखा काठमाडौंको टोलीले श्रेष्ठलाई पक्राउ गरी ललितपुर पठाएको थियो।

सिन्धुली कमलामाई नगरपालिका घर भएका जर्घाले साउनमा आफूलाई एक युवतीले नाटकीय ढंगले फसाएको सुनाए। उनका अनुसार घटना साउन ८ गतेको हो। उक्त दिन भिनाजु पर्ने व्यक्ति बितेकाले दाहसंस्कारका लागि पशुपति आर्यघाट जानुप¥यो। त्यसपछि केही सरसामान खरिद गर्न उनी आफन्तका साथ न्युरोड गए। किनमेल सकाएर रत्नपार्क पुगे। आफन्तहरू हिँडिसकेका थिए। पानी दर्किन थाल्यो। उनी एउटा चिया पसलमा ओत लागेर बसिरहेका थिए। पहेंलो कुर्ता सुरुवाल, हरिया चुरा, मेहेन्दी लगाएकी एक युवती उनी बसेको टेबलमा आइन्। निकै चिसो भएकाले ती युवतीले चिया खुवाउन प्रस्ताव गरिन्।

‘साधारण पहिरनमा थिइन्। छलकपट गर्लाजस्तो लागेन, त्यसैले मःमः खुवाएँ’, जर्र्घाले भने, ‘पानी नरोकिएपछि दुई–तीन घण्टा त्यहीं बस्यौं।’ ती युवतीले पतिले साउदी अरबबाट पठाइदिएको मोबाइल लिन रत्नपार्क आएको बताएकी जर्घाले सुनाए। पानी रोकिएपछि युवतीले आफूलाई कलंकीसम्म छाडिदिन आग्रह गरिन्। जर्घाले मोटरसाइकलमा राखेर कलंकीतिर हुइँक्याए। त्यतिन्जेल ती युवती बारम्बार फोनमा कुरा गरिरहेकी थिइन्। कलंकी नपुग्दै उनले चोभारमा काम भएकाले त्यतै छाडिदिन भनिन्। चोभार पुगेर सँगै चिया पिए। केही न केही बहाना बनाएर रात पार्न खोजिरहिन्। भैंसेपाटीको बाटो जाऊँ भनिन्। जर्घाले मोटरसाइकल जलबिनायकतिरको बाटोतिर हुइँक्याए।

भैंसेपाटी आउँदै गर्दा मगर गाउँछेउ एक्कासि तीन जना व्यक्ति आए। साँझको ७ ः ४५ बजेको थियो। तीनै जनाले फलामको रड निकालेर जर्घालाई हान्न थाले। उनी ढलेपछि साथमा भएको पैसा, सुन, मोबाइल लुटे। जर्घाले ६ तोलाको सिक्री लगाएका थिए। महँगो र सस्तो गरी दुईवटा मोबाइल बोकेका थिए। आफूले लगाएको चस्मा र सात हजार रुपैयाँसमेत लगेको उनले सुनाए।

उनले उजुरी गर्न प्रहरीकहाँ पुग्दा त्यही महिलाले अरूलाई पनि सोही ठाउँमा सोही बहानामा लुटेको थाहा पाएको बताए। 

के हो हनी ट्र्याप ?
हनी ट्र्याप भन्नाले शारीरिक आकर्षण प्रयोग गरी कसैलाई फसाउने तरिका हो। प्राय ठूला व्यवसाय गर्ने व्यक्ति तथा उच्च ओहदामा रहेकाहरूलाई आफ्नो सौन्दर्यमा लोभ्याएर फसाउने गरेको देखिन्छ। प्रहरीले यसलाई अपराधको नयाँ शैली भन्दै आएको छ। पुरुषहरू युवतीको मायाजालमा परी विवाहको लोभमा पर्दा नराम्ररी फसेको दृष्टान्त प्रहरीमा देखिने गरेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा  नितु घलेले लेखेकी छिन् ।