कोरोना संक्रमणमा ब्राजिललाई उछिन्दै भारत दोस्रो स्थानमा



संक्रमितको संख्या ४२ लाख नाघ्यो, ७१ हजारभन्दा बढीको मृत्यु

संक्रमण समुदायस्तरमै फैलिसकेको र चाडपर्व नजिकिँदै गर्दा स्थिति थप भयावह बन्ने विज्ञहरुको भनाइ

 

नयाँदिल्ली — भाद्र २२, २०७७। 

कोरोना संक्रमणका हिसाबले भारत विश्वकै दोस्रो स्थानमा उक्लिएको छ ।  भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ८ सय २ जनामा संक्रमण पुष्टि भएसँगै भारतले ब्राजिललाई उछिनेको हो ।

भारत गुवाहाटीस्थित रेल स्टेसननजिकै घरविहीनहरूलाई आइतबार खाना वितरण गर्दै शिख समुदायका स्वयंसेवक । तस्बिर : एपी 
जुन एकैदिन संक्रमण देखिएको हालसम्मकै ठूलो संख्या हो । यसअघि भारतमा शनिबार ९० हजार ६ सय ३३ जनामा संक्रमण पुष्टि भएको थियो ।

योसँगै भारतमा कुल संक्रमितको संख्या ४२ लाख नाघेको छ । आइतबार साँझसम्म संक्रमितको संख्या ४२ लाख ४ हजार ६ सय १४ पुगेको छ । त्यसैगरी गएको २४ घण्टामा १ हजार १६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७१ हजार ६ सय ४२ पुगेको छ ।

भारतले उछिनेपछि तेस्रो स्थानमा रहेको ब्राजिलमा सोमबार बिहानसम्म संक्रमितको संख्या ४१ लाख ३७ हजार ५ सय २२ रहेको छ । त्यस्तै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या करिब एक लाख २७ हजार रहेको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ३५ लाख निको भएका छन् ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा सोमबार बिहानसम्म संक्रमितको संख्या ६२ लाख ७५ हजारभन्दा बढी पुगेको छ । अमेरिकामा कोरोनाबाट करिब एक लाख ८९ हजारको मृत्यु भएको छ भने २३ लाखभन्दा बढी निको भएका छन् ।

त्यसैगरी सोमबार बिहानसम्म विश्वभर दुई करोड ७० लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने ८ लाख ८२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये एक करोड ८० लाखभन्दा बढी निको भइसकेका छन् ।

भारतमा कुल संक्रमितमध्ये करिब ३२ लाख ५० हजारभन्दा बढी निको भइसकेका छन् । निको भएको दरका आधारमा भारतको अवस्था सुधारात्मक मानिएको छ । भारतको निको हुने दर ७७.३१ प्रतिशत छ ।

निको हुने दर राम्रै मानिए पनि पछिल्ला दिनमा बढेको संक्रमणले परिस्थिति भयावह बन्ने सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरूले यसरी संक्रमणमा एकाएक तीव्र वृद्धि हुनुका पछाडि सर्वसाधारणको लापरबाही तथा लकडाउन खुकुलो भएसँगै आर्थिक गतिविधि सुचारु हुनुलाई प्रमुख कारण ठानेका छन् ।

भारतमा पहिलो संक्रमण जनवरी ३० मा दक्षिण भारतीय राज्य केरलामा पुष्टि भएको थियो । तर, ७ महिनामै संक्रमितको संख्या ४१ लाखभन्दा बढी पुगिसकेको छ । भारतमा संक्रमितको संख्या पहिलो १ लाख पुग्न साढे ३ महिना लागेको थियो । तर पछिल्लो ४ महिनामै ४० लाख संक्रमित थपिइसकेका छन् ।

अगस्ट ७ मा भारतमा कुल संक्रमित २० लाख रहेकोमा त्यसको दुई सातामा ३० लाख पुगेको थियो । सेप्टेम्बर ५ मा आइपुग्दा त्यो बढेर ४१ लाघेको छ । संक्रमण बढेसँगै भारत परीक्षणको दरलाई पनि बढाउँदै लगिएको छ ।

भारतमा आइतबार करिब ७ लाखको पीसीआर परीक्षण गरिएको भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) ले जनाएको छ । अरु दिनको तुलनामा आइतबार कम नमुना परीक्षण भए पनि भारतमा पछिल्ला दिनमा औसतमा १० लाखको हाराहारीमा नमुना परीक्षण हुने गरेको छ । भारतमा हालसम्म ४ करोड ९५ लाखभन्दा बढीको पीसीआर परीक्षण भइसकेको छ । तर, आर्थिक गतिविधि क्रमशः खुकुलो बन्दै गएर जनजीवन सामान्य बन्ने क्रमशः सँगै पछिल्ला दिनमा संक्रमणमा पनि उछाल देखिन थालेको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि देशव्यापी रूपमा लागू गरिएको २ महिनाभन्दा लामो लकडाउन खुकुलो पारिएसँगै संक्रमण बढ्ने क्रम तीव्र बनेको थियो । भारत सरकारले ६८ दिन लामो लकडाउन जुन पहिलो सातादेखि क्रमशः खुकुलो बनाउँदै लगेको थियो । त्यसपछि लकडाउनका कारण विभिन्न सहरमा रोकिएका प्रवासी कामदारहरू आ–आफ्नो गन्तव्यतिर लागेका थिए ।

हालैका दिनमा संक्रमण झन तीव्र बनेको विज्ञहरूको बुझाइ छ । कतिपयले त हालैका दिनमा भइरहेको संक्रमणलाई दोस्रो लहरको संकेतसमेत भनेका छन् । साथै उनीहरूले भारतमा कोरोना संक्रमण नियन्त्रण हुन अझै केही समय लाग्ने बताएका छन् ।

लकडाउन हटेपछि मानिसमा मास्क लगाउन र सामाजिक दूरी कायम गर्न छाडेका कारण संक्रमण बढेको उनीहरूको दाबी छ । त्यसबाहेक चाडपर्व नजिकिने क्रमसँगै भारतमा संक्रमण थप बढेर जाने उनीहरूको भनाइ छ । ‘संक्रमणको ग्राफ फ्ल्याट हुन अझै केही समय लाग्ने देखिन्छ, त्यसमाथि लकडाउन खुकुलो भएपछि मानिसमा मास्क लगाउने र सामाजिक दूरीमा लापरबाही देखिएको सँगै चाडपर्व पनि नजिकिँदै गएका कारण जोखिम बढ्दै गएको छ,’ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सका निर्देशक डा. रनदीप गुलेरियाले भारतीय अंग्रेजी न्युज च्यानल एनडीभीसँग भने ।

गुलेरियाले भारतका केही भागमा संक्रमणको दोस्रो लहर देखिएको दाबी गरे । उनको भनाइमा संक्रमण नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ तथा परीक्षणको दायरा बढाउने, आइसोलेसनलगायतका प्रभावकारी कदमहरू नचाल्ने हो भने परिस्थिति थप चिन्ताजनक बन्दै जानेसमेत उल्लेख गरेका छन् । हुन पनि केही साताअघिसम्म कोरोना नियन्त्रणमा सफल मानिएका दिल्ली, केरलालगायतका राज्यहरूमा हालैका दिनमा संक्रमण थप फैलिएको छ ।

त्यसबाहेक अधिकांश भागमा आर्थिक गतिविधि र मानिसको आउजाउका लागि सार्वजनिक यातायात पनि सञ्चालनमा आउन थालेका छन् । यसले भारतका लागि संक्रमण नियन्त्रणको सन्दर्भमा आगामी दिनहरू थप चुनौतीपूर्ण हुने निश्चित देखिन्छ । त्यसमाथि डा. गुलेरियाले भनेजस्तै दसैं–तिहारलगायतका चाडपर्वहरू पनि नजिकिँदै छन् ।

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण बढिरहेका छ । तर भारतका सीमावर्ती राज्यहरूमा भएको संक्रमणको विस्तारले नेपालमा थप जोखिम बढ्ने निश्चित छ । तराई/मधेसका जिल्लाहरूमा देखिएको उच्च संक्रमणले पनि त्यसलाई केही हदसम्म पुष्टि गर्छ । कोरोना भइरसको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा बन्द गरिए पनि लुकीछिपी मानिस सीमामा आउजाउ गरेकै कारण त्यस क्षेत्रमा संक्रमण फैलिएको संक्रमितहरूको ट्राभल हिस्ट्रीबाट समेत पुष्टि भइसकेको छ ।

त्यसैले भारतका सीमावर्ती राज्यहरू उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल, उत्तराखण्डलगायत राज्यहरूको संक्रमण स्तरको प्रत्यक्ष असर नेपालमा पर्ने देखिन्छ । तर, यी राज्यहरूमध्ये उत्तरप्रदेश र बिहारमा संक्रमणको अवस्था चिन्ताजनक छ । भारतकै सबैभन्दा उच्च जनघनत्व भएका यी दुई राज्य स्वास्थ्य पूर्वाधारमा निकै पछि मानिन्छन् । जब कि यी दुई राज्यमै पछिल्ला दिनहरूमा संक्रमण तीव्र रूपमा बढिरहेको छ ।

करिब २४ करोड जनसख्या भएको उत्तरप्रदेशमा करिब २ लाख ६० हजार संक्रमित छन् । उत्तरप्रदेशमा नेपालसँगका सीमावर्ती जिल्लाहरू महाराजगन्ज, सिद्धार्थनगर बलरामपुर, बहराइचलगायत ७ जिल्लामा संक्रमण दिनप्रति दिन बढ्दो छ ।

त्यसैगरी, अर्को छिमेकी राज्य बिहारमा करिब १ लाख ५० हजार संक्रमित भइसकेका छन् । बिहारमा सबैभन्दा बढी संक्रमण राजधानी पटनामा देखिएको छ । त्यसबाहेक नेपालसँगका सीमावर्ती जिल्लाहरू पूर्वी र पश्चिम चम्पारण, किसनगन्ज, सीतामढी, मधुवनीलगायत जिल्लामा पनि पछिल्ला दिनमा संक्रमणको ग्राफ उकालो लाग्दै आएको छ ।

(कान्तिपुर दैनिक)