आइसोलेसनमा विजेता हुँदा...



ठमेलको ब्यान्डबाट आइडल विजेतासम्म सज्जा चौलागाईंको यात्रा 

काठमाडौँ — भाद्र २४, २०७७। 

नेपाल आइडलको तेस्रो सिजनका प्रतिस्पर्धीका लागि यसपालीको ग्रान्डफिनाले अप्रत्याशित बन्यो । यसअघिका दुई ग्रान्डफिनाले दर्शकबीच लाइभ कार्यक्रम गर्दै समापन भए । विजेताले स्टेजमा सबैका अगाडि उपहार पाउँथे । तर, आइडलको तेस्रो सिजनमा यस्तो केही भएन । 

नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएपछि ग्रान्डफिनाले खल्लो बन्न पुग्यो । रेकर्डेड कार्यक्रमबाटै विजेता घोषणा भयो । उपहार रकम पनि घोषणा भयो । तर उपहार लिन न त्यहाँ स्टेज नै थियो न तेस्रो सिजनकी विजेता सज्जा चौलागाईं ।

सज्जा त आफ्नै कोठामा सेल्फ आइसोलेसनमा थिइन् । टिभीमै ग्रान्डफिनाले हेर्दै थिइन् । १२ गते आइडलको ग्रान्डफिनाले थियो । फिनालेको तयारी सुरु हुँदै गर्दा टिमकै एक जनालाई कोरोना संक्रमण देखिएको जानकारी पाएपछि सज्जा घर फर्किइन् । उनी गोकर्णेश्वरको नारायणटार बस्छिन् । 'टिमकै एकजनालाई कोरोना लाग्यो भन्ने जानकारी पाएँ । डर पनि लाग्यो । त्यसपछि फिनालेको सुट पनि बन्द भयो,' उनी सम्झिन्छिन् ।

आइडलको नतिजा सुन्न निकै उत्सुक थिइन् सज्जा । मनमा आफैंले जित्छु भन्ने आत्मविश्वास थियो । नतिजाबारे कसैलाई थाहा थिएन । त्यसैले टिभीमै प्रसारण हुने पर्खाइमा बसिन् । कार्यक्रमको अन्तमा उनले सुन्न चाहेको नाम नै विजेता घोषणा भयो । अर्थात्, सज्जा बनिन् आइडल जित्ने पहिलो महिला ।

आइडल जित्दाको खुशी उनी शब्दमा बयान गर्न सक्दिनन् । कार्यक्रमको प्रत्यक्ष प्रसारण भएको भए त्यो खुशी उनको अनुहारमा झल्किएको दर्शकले देख्न पाउँथे होला। ग्रान्डफिनाले खल्लो भए पनि उनको खुशी जितमा थियो । 'स्टेजमै गएर उपहार लिन पाइनँ । यसमा केही दु:ख पनि लागेको छ । पहिलाको सिजनका विजेताले दर्शकका बीच उपहार पाउनुहुन्थ्यो । मेरो हकमा त्यस्तो भएन । तर ठिकै छ मेरो लागि जित्नु ठूलो कुरा हो,' खुशी हुँदै सुनाउँछिन्, 'विजेता घोषणा हुँदा घरमा म र भाइ थियौं । एकदम खुशी लागेको छ । यत्तिको दु:ख गरेकै यही टाइटलको लागि हो ।'

विजेता घोषणा हुनेबित्तिकै उनी बस्ने टोलमा ठूलै होहल्ला मच्चिइसकेको थियो । टोलका केही व्यक्तिहरु सज्जालाई बधाई दिन उनको डेराछेउसम्म आइपुगेका थिए । उनले झ्यालबाटै सबैलाई धन्यवाद दिइन् । आफू आइसोलेसनमा बसेको खबर गराइन् ।

आइडलको टाइल जितेपछि उनलाई गर्विलो अनुभव भइरहेको छ । 'जिन्दगीमा मैले संगीतमा अलिकति भए पनि सफलता प्राप्त गरें भन्ने खुशी छ,' उनले सुनाइन् । उनको अर्को खुशी पीसीआरको नतिजा पनि हो ।

आइसोलेसनमा बसेको भोलिपल्ट सज्जाले आफ्नो पीसीआर परीक्षण गराएकी थिइन् । पीसीआर रिपोर्ट नेगिटिभ आयो । त्यसको पाँच दिनपछि पनि सज्जाले पीसीआर परिक्षण गराइन् । दुईपटक नै नतिजा नेगेटिभ आएपछि भने सज्जा ढुक्क भएकी छिन् । अहिले पनि उनी आइसोलेसनमै छिन् । तर, ब्यान्ड सदस्यसँग भने उनको भेट भइरहेको छ । उनी नयाँ गीतबारे छलफल गर्दैछिन् ।

ठमेलको पाँच वर्षे ब्यान्ड यात्रा

आइडलमा आउनुअघि नै सज्जा 'द लोडिङ'ब्यान्डसँग आबद्ध थिइन् । उनी ब्यान्डको एकमात्र महिला सदस्य । ब्यान्डका अरु सदस्यमा छन् सुशान्त सापकोटा (किबोर्डिस्ट), अविनाश अछामी (गीतार) र पेम्बा छिरिङ तामाङ (क्याजन) । ब्यान्ड स्थापना भएको पाँच वर्ष भयो । खासमा उनको ब्यान्ड ठमेलका रेस्टुरेन्ट, क्लबहरुमा गाउने बजाउने काम गर्थ्यो ।

सानैदेखि सज्जा गायनमा रुचि राख्थिन् । विद्यालयका कार्यक्रमहरुमा गाउँथिन् । कक्षा ८ मा पढ्दा उनले गायन प्रतियोगिता जितेकी पनि थिइन् । स्टपोल बोर्डिङ हाइयर स्कूलबाट १२ पढ्दै गर्दा पनि उनले कलेजका कुनै कार्यक्रम छुटाइनन् । पेम्बा छिरिङ तामाङ उनको कक्षामै पढ्थे । उनैले एकदिन सज्जालाई ब्यान्डसँग आबद्ध हुन हौस्याए । 'हामी सबैजनालाई यसप्रति लगाव थियो । त्यतिकै बस्नु भन्द ब्यान्डमा आबद्ध भयो भने कमाइन्छ । करियर पनि अगाडि बढ्छ भनेर हामी अगाडि बढ्यौं । ब्यान्ड स्थापना भयो,' उनले भनिन् ।

ब्यान्डसँग आबद्ध भएपछि सज्जाले स्टेजमा गाउन थालिन् । ठेमलका विभिन्न रेस्टुरेन्ट, नाइट क्लबहरुमा उनको ब्यान्डले प्रस्तुति दिन थाल्यो । हप्ताको पाँच दिन उनको ब्यान्डले पाँच फरक रेस्टुरेन्ट र क्लबहरुमा सांगीतिक प्रस्तुति दिन्थ्यो । दर्शकको मागअनुसार सबै विधाका गीत सज्जाले प्रस्तुत गर्नुपर्थ्यो । हरेक साँझ ७ बजेदेखि १२ :३० सम्म ठमेलका रेस्टुरेन्टहरुमा गाउन थालिन् । पाँच वर्ष लगातार उनले रेस्टुरेन्टहरुमा गाइन् । 'पकेट खर्च' यतैबाट कमाउन थालिन् ।

ब्यान्डमा आबद्ध भएपछि नै संगीतप्रति सज्जाको झुकाव बढ्न थाल्यो । उनले संगीतमै करियर देख्न थालिन् । लामो समय रेस्टुरेन्टमा गाउन थालेपछि एक दिन उनलाई लाग्यो, 'सँधैभरी ठमेलमा गाएर हुँदैन । अब फ्रन्टलाइनमा आउनुपर्छ ।' त्यसपछि उनले आइडलमा जाने सोचिन् । टिभीमा गाउँदा ठूलो स्रोता र दर्शकमाझ पुगिनेले उनलाई थाहा थियो । यसमा ब्यान्ड सदस्य पनि सहमत भए । ब्यान्ड सदस्यको साथ भएपछि उनी आइडलमा आइन् ।

आइडलको यात्रा सोचेजस्तो थिएन । निखारिएका गायक/गायिकासँग प्रतिस्पर्धा गर्न निकै गाह्रो भएको अनुभव छ सज्जासँग । अहिलेको जितलाई उनी ब्यान्डकै जित भन्छिन्, 'मेरो जीत भनेकै ब्यान्डको जित हो ।'

रक विधामा रुचाइएकी छिन् सज्जा । आइडलमा पनि उनले धेरै त रक विधाकै गीत गाएकी थिइन् । उनी रकसँगै अन्य विधामा गीत ल्याउने तयारीमा छिन् । 'कसरी अगाडि बढ्ने सल्लाह गर्दैछौं,' उनी सुनाउँछिन्, 'म पहिलो महिला विजेता भएको भएर पनि के गर्ला भनेर धेरैको नजर ममा छ ।'

सज्जाले उपहारको रकम पाइसकेकी छैनन् । १ वर्षको सम्झौताअनुसार नै उनले उपहार रकम पाउँनेछिन् । उपहार रकमले घर बनाउने सोचेकी छिन् उनले । आफ्नो सांगीतिक करियरका लागि खर्च गर्ने पनि सोचेकी छिन् । हुन त उनी पहिल्यैदेखि परिवारको लागि घर बनाइदिने सपना बुन्थिन् । आइडलले त्यो सपना पूरा गर्न केही सहयोग गरेको उनी बताउँछिन् ।

उनकी आमा साइप्रसमा र बुबा मोरङमै छन् । ७ वर्ष भयो उनको आमा विदेशिएको । आमा नभएपछि आफ्नो भाइलाई उनी आफैंले हुर्काइन् । भाइप्रतिको जिम्मेवारीले पनि उनलाई सानैदेखि परिपक्व बनाउँदै गयो ।

२३ वर्षीया सज्जालाई थाहा छ संगीत क्षेत्रमा टिक्न गाह्रो छ । तर, उनी संगीत क्षेत्रमै सक्रिय हुने प्रयासमा छिन् । 'संगीत क्षेत्रमा टिकिरहन धेरै गाह्रो छ । टिकिसकेपछि सदाबहार हुन्छ,' उनी भन्छिन्, 'टिकिरहन संगीतलाई निरन्तर दिइरहनु पर्‍यो । म त्यही गर्ने तयारीमा छु ।' आइडलमा सहभागी भएपछि उनले तीनवटा गीत रेकर्ड गराएकी छिन् । पछिल्लो समय उनले पहिलो नेपाल आइडल बुद्ध लामासँग मिलेर 'हुन्न हुन्न हुँदै हुन्न' बोलको गीत गाएकी थिइन् ।

पछिल्लो समयका गायन रियालिटी सोका विजेता संगीत क्षेत्रमा उत्ति सक्रिय छैनन् । धेरैले उनीहरुलाई हराएको बताउँछन् । तर, सज्जा यसमा फरक मत राख्छिन् । 'टाइटल विजेताहरु हराउनु भएको छैन । उहाँहरुको गीत चर्चामा नआएको मात्र हो । उहाँहरुले आ-आफ्नो स्थानबाट गीतहरु गरिरहनु भएको छ । हराउने भन्ने चाहिँ छैन,' उनले भनिन्, 'म पनि मेरो तर्फबाट गीतहरु दिइरहन्छु । अब चल्यो भने हराउँदिन होला, चलेन भने हराउँछु होला सायद ।'

(कान्तिपुर दैनिक)