अर्को वर्षको नोबेल शान्ति पुरस्कारमा ट्रम्पको नाम पनि सिफारिस



नर्वेका एक जना सांसदले अर्को वर्षको नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम सिफारिस गरेका छन्।

फक्स न्युजका अनुसार नर्वेजियन राजनीतिज्ञ क्रिस्चियन टाइब्रिंग येद्देले इजरायल र संयुक्त अरब इमिरेट्सबीच सम्बन्ध स्थापनामा खेलेको भूमिकाका लागि ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन सिफारिस गरेका हुन्।

अमेरिकाको पहलमा इजरायल र युएईले गत अगस्ट १३ मा पिस डिलमा हस्ताक्षर गरेका थिए।

अब दुबै देश कूटनीतिक सम्बन्ध स्थापना गर्न तयार भएका छन्।

उक्त सम्झौतापछि इजरायल र युएईबीच टेलिफोन सेवा पनि सुरू भएको छ।

यो सम्झौता किन महत्वपूर्ण हो भने इजरायलसँग कूटनीतिक सम्बन्ध राख्ने युएई अब तेस्रो अरब मुलुक बनेको छ। यसअघि जोर्डन र इजिप्टले मात्र इजरायलसँग औपचारिक सम्बन्ध कायम गरेका थिए।

युएईसँगको सोही सम्झौताका लागि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतनन्याहुले वेस्ट ब्यांकको केही भाग इजरायलमा गाभ्ने योजनालाई तत्काल थाँती राखेका छन्।

येद्देले अरब क्षेत्रका लागि यो ठूलो उपलब्धी भएकाले ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनु पर्ने बताएका हुन्।

'सिफारिस भएका अरूमध्ये उनले देशहरूबीच शान्ति कायम गर्न महत्वपूर्ण प्रयास गरेका छन् भन्ने मलाई लाग्छ,' उनले फक्स न्युजसँग भनेका छन्।

नोबेल कमिटीलाई पठाएको पत्रमा उनले लेखेका छन्- अपेक्षा गरिएअनुसार मध्यपूर्वका अरू देशहरूले पनि युएईका पाइला पछ्याउने छन् र यो सम्झौता मध्यपूर्व क्षेत्रमा सहकार्य र समृद्धिका लागि गेम चेन्जर हुन सक्छ। यसअघि येद्देले सन् २०१८ मा पनि ट्रम्पको नाम उक्त पुरस्कारका लागि सिफारिस गरेका थिए।

त्यतिबेला ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर सम्मेलन गरेका थिए। ट्रम्प स्वयंले पनि यसअघि नै आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य भएको बताएका थिए।

ट्रम्पअघिका अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २००९ मा नोबेल शान्ति पुरस्कार पाएका थिए।