संवैधानिक इजलास सुचारु गर्ने तयारीमा सर्वोच्च
News Desk
Sep-22 , 2020 तारिख 10:37 बिहान

काठमाडौं— आश्विन ६, २०७७। 

सर्वोच्च अदालतले संवैधानिक इजलासमा रहेका रिट निवेदन तथा मुद्दाको पनि सुनुवाइ गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै रोकिएको संवैधानिक इजलास अब सुचारु गर्ने सर्वोच्चले उल्लेख गरेको छ ।

सर्वोच्चका उपसचिव देवेन्द्र ढकालले दिएको जानकारीअनुसार अब संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय गरिएको हो । सर्वोच्च अदालतमा गत चैत १० गतेदेखि सामान्यरुपमा सुनुवाइ हुन सकेको छैन । अब निषेधाज्ञा खोलेसँगै सर्वोच्चसँगै अन्य अदालतमा पनि सुनुवाइ गर्ने क्रम सामान्यतर्फ गएको छ ।

सर्वोच्च अदालतले सोमबार सूचना जारी गरी अव संवैधानिक इजलासमा पनि सुुनुवाइ हुने जानकारी गराएको हो । तर, सर्वोच्चले कुन मितिदेखि सुनुवाइ हुने भनी स्पष्ट गरेको छैन । यसअघि सर्वोच्चमा बुधबार र शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ गरिन्थ्यो ।

सर्वोच्चबाट थाहा भएअनुसार संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ मात्र गरिने भएको छ । संवैधानिक इजलासमा पूर्ण सुनुवाइ भने हाल नगरिने भएको छ । संवैधानिक इजलासमा हाल उल्लेख्य संख्यामा रिट निवेदन तथा मुद्दाहरू विचाराधीन अवस्थामा छन् ।

कुनै कानुन संविधानसँग बाझिएमा, संघ र प्रदेश, प्रदेश र प्रदेश, संघ र स्थानीय तह, प्रदेश र स्थानीय तह बीच अधिकारलाई लिएर विवाद उत्पन्न भएमा त्यस्तो विवादको छिनोफानो संवैधानिक इजलासबाट हुने प्रावधान छ । तर संवैधानिक इजलासले अपेक्षाकृत मुद्दाको कारबाही र किनारा गर्न नसकेको भनी आलोचना हुने गरेको समाचार आजको नेपाल समाचारपत्र दैनिकले  प्रकाशन गरेको छ ।