कम्पनीलाई कारवाही मालिकलाई तक्मा
News Desk
Sep-23 , 2020 तारिख 10:56 बिहान

काठमाडौँ — आश्विन ७, २०७७। 

राष्ट्रलाई महत्वपूर्ण योगदान दिने व्यक्तिहरूलाई प्रदान गर्ने पदक सरकारले विवादित व्यक्तिलाई दिएर पदककै अपमान गरेको छ । राष्ट्रको शिर उच्च बनाउने काम गर्ने व्यक्तिलाई दिनुपर्ने पदक पैसा र पावरमा खरिद–बिक्री हुने गरेको पाइएको छ । राज्यलाई कर छली गर्ने र उपभोक्तालाई खुलेआमरूपमा ठग्दै आएको संस्थाका मूल व्यक्तिलाई यसपटक पदक दिएर पुरस्कृत गर्ने काम भएको छ ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर कार्यान्वयनमा आइसक्दा अझै पनि पञ्चायती र राणा शासनकै शैलीमा तक्मा वितरणले निरन्तरता पाउँदै आएको छ । विभूषण ऐन २०६४ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई मुुलुकका तर्फबाट कदर तथा सम्मानस्वरूप मानपदवी, अलंकार तथा पदकजस्ता विभूषण (तक्मा) प्रदान गर्नुपर्ने प्रावधान छ ।

तर, तक्मा वितरण गर्दा यो कानुनी प्रावधानलाई पूर्णरूपमा बेवास्ता गर्दै सरकारले नै कारबाहीको दायरामा ल्याएका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नै तक्मा दिएको छ । सरकारको करोडौं लगानीमा हुने तक्मा वितरण कार्यक्रम यस वर्ष पनि विवादित बन्न पुगेको छ । व्यक्तिगत सोर्सफोर्स र पहँचका आधारमा तक्मा वितरण हुने क्रम बढेपछि बर्सेनी विवादित बन्दै आएको छ ।

प्रत्येक वर्ष गृह मन्त्रालयले गणतन्त्र दिवसको दिन घोषणा गर्ने मानपदवी, अलंकार तथा पदकजस्ता बहुमूल्य तक्मा मापदण्डका आधारमा भन्दा पनि पहुँच, सोर्सफोर्सवाला, पार्टीनिकट र उच्च शक्तिधारीले मात्रै पाउने गरेका छन् ।यस वर्षको संविधान दिवसका अवसरमा विवादित व्यवसायी शंकर ग्रुपका शंकरलाल अग्रवाललाई प्रबल जनसेवा श्री (चतुर्थ)बाट विभूषित गरिएको छ ।

शंकर ग्रुपकै जगदम्बा स्टिल गुणस्तरहीन भएको भन्दै सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।