आन्तरिक पर्यटन प्रवर्द्धनका लागि हप्तामा २ दिन बिदाको प्रस्ताव
News Desk
Sep-25 , 2020 तारिख 08:58 बिहान

काठमाडौं, असोज ९ । कोरोना महामारीका कारण ठप्पप्राय भएको पर्यटन गतिविधिलाई चलायमान बनाउँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा २ दिन बिदाको प्रस्ताव अघि सारेको छ ।

मन्त्रालयले २ दिन बिदाको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरेको छ । पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीवार बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा २ दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको हो ।

कार्यदलमा पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेका छन्, जसमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको समेत प्रतिनिधित्व रहनेछ ।

आन्तरिक पर्यटन चलायमान बनाउन यसले सहयोग गर्ने अपेक्षासहित २ दिनको बिदाको प्रस्ताव तयार पारिएको पर्यटन मन्त्री योगेश भट्टराईले बताए । ‘यसले लाखौं मानिस बिदा मनाउन आन्तरिक पर्यटकका रूपमा एक ठाउँबाट अर्को ठाउँमा जान सक्छन्, यसले पर्यटनलाई चलायमान बनाउन सघाउ पुग्छ,’ उनले भने ।

मन्त्री भट्टराईका अनुसार १ दिनको बिदाले मानिसहरू कहीँ घुम्न जान चाहेर पनि समय अभावमा जान नसक्ने हुँदा २ दिनको बिदा दिँदा टाढा घुम्ने जान चाहनेलाई समय पनि हुनेछ भने बसाइ अवधि लम्बिँदा खर्च पनि बढ्नेछ ।

त्यस्तै बिहीवारको बैठकले पशुपतिनाथ मन्दिर, लुिम्बनीलगायत खोल्ने सम्बन्धमा प्रोटोकल तयार गरी ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ ९सीसीएमसी० मा पेश गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, पर्यटन क्षेत्रको पुनरुत्थान कार्यक्रम प्रभावकारी बनाउन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर संयुक्त रूपमा कार्यक्रम बनाएर आउँदो बैठकमा पेश गर्ने निर्णयसमेत गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

धेरै पढिएको