भर्चुअल माध्यममा चौतारी नाटक



पहिले नै कथा तयार नगरिएको यो विधामा रंगकर्मीहरुले सहभागी दर्शकको भोगाइलाई सुनेका आधारमा संगीत, संवाद र भावसहित अभिनयमा रुपान्तर गर्छन् ।

काठमाडौँ — आश्विन २८, २०७७। 

एउटा नाटक रंगमञ्चमा दर्शक अगाडि पुर्‍याउन रंगकर्मीहरूले निकै समय र मिहिनेत खर्चिनुपर्ने हुन्छ । कथावस्तु, नाटक स्क्रिप्ट, पात्रअनुसारको संवाद रूपान्तरण, पात्रको छनोट त छँदै छ, यसबाहेक मञ्चनका लागि कैयौं दिनको रिहर्सलको पाटो अझ महत्त्वपूर्ण हुन्छ ।

कोरोना महाव्याधिसँगै बन्द भएका नाटकघरहरू अझै खुल्ने छाँटकाँट देखिँदैन । संक्रमणकै त्रासले सहकर्मी र दर्शकसँग प्रत्यक्ष भेटघाट सम्भव नै भएन । यद्यपि रंगमञ्चलाई माया गर्ने दर्शकसँग जोडिन मण्डला थिएटरले प्ले ब्याक थिएटर (चौतारी नाटक) विधामार्फत छुट्टै खालको स्वाद पस्कने जमर्को गरेको छ ।

थिएटरले मंगलबार भर्चुअल माध्यममा नै चौतारी नाटकमार्फत हालको कोरोना कालमा मिडियाकर्मीले भोगेका समस्यालाई उनीहरूकै भनाइका आधारमा नाटकका रूपमा प्रस्तुत गर्‍यो । यस्ता खाले नाटकका लागि पहिले नै कुनै कथा तयार गरिएको हुँदैन । रंगकर्मी मात्र नभई दर्शकसमेत सहभागी हुन सक्ने यस विधाको नाटकमार्फत सहभागीहरूमा उत्साह, साहस र उत्प्रेरणासमेत दिन सकिने रंगकर्मीहरू स्विकार्छन् । मञ्चमा रंगकर्मीहरूले सहभागी दर्शकको भोगाइलार्ई सुनेको आधारमा त्यसलाई संगीत, संवाद र भावसहित अभिनयमा रूपान्तर गर्छन् ।

मंगलबार भने नाटक प्रस्तुतिमा दर्शकका रूपमा मिडियाकर्मीहरू नै सहभागी थिए । अहिले लकडाउनयता धेरैजसो सञ्चारकर्मी तथा पत्रकारहरूले घरबाटै काम गर्दा कस्ता समस्या झेलिरहेका छन् ? जोखिमका बाबजुद निरन्तर रूपमा अग्रपंक्तिमा रहेर सूचना संकलन र सम्प्रेषणका क्रममा संक्रमित भएका मिडियाकर्मीहरूको अनुभव कस्तो रह्यो ? यही समयमा रोजगारी गुमाउनुपर्दाको समस्यालाई कसरी हल गरे भन्ने तिनै मिडियाकर्मीहरूले सुनाएका पीडा, कोरोना अनुभव र छटपटीलाई रंगकर्मीहरूले नाटकमार्फत प्रस्तुत गरेका थिए ।

नाटक अवधिमा विकास कार्की, उज्वल आचार्य, मनोज सत्याल, सुजता खत्री, स्वेच्छा राउत, सृजना खड्का, वर्षा महर्जनलगायत मिडियाकर्मीहरूले आ–आफ्ना अनुभवहरू साटे । उनीहरूले कोरोना संक्रमण होला कि भनेर हुने मानसिक छटपटी, संक्रमित भएसँगै क्वारेन्टाइन अनुभव, स्वास्थ्य समस्या, सामाजिक अपहेलना, आइसोलेसनको अभाव, घरबाटै कार्यालयको काम गर्नुपर्ने दिग्दारी, कार्यालयको कामका लागि घरमा व्यवस्थापनको समस्या, कार्यालयको बेवास्ताले काममा आएको निराशा, आर्थिक अभावजस्ता यथार्थ भोगाइलाई रंगकर्मीसमक्ष व्यक्त गरेका थिए । उनीहरूकै भोगाइहरूलाई रंगकर्मीहरूरुले कविता तथा शारीरिक हाउभाउसहित संवादमा समेत हुबहु रूपमा अभिव्यक्त गरेका थिए । आचार्य, सत्याललगायतले कोरोना संक्रमण भएपश्चात् भोग्नुपरेको मानसिक पीडालाई सुनाएका थिए । संक्रमणपछि कसैलाई छुनु हुन्न, एक्लै बस्नुपर्छ, कहिलेसम्म यस्तो होला, यसबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने चिन्ताले सताएको दुवैले अनुभव साटासाट गरे । त्यस्तै खत्रीले सहकर्मीसँग निकट रहेर कोरोना लक्षणहरूलाई नियालेकाले आफू संक्रमित नभए पनि मानसिक रूपमा मान्न तयार नभएको बताइन् । यी भोगाइहरूलाई रंगकर्मीहरूले अभिनयमा देखाउँदा अन्य सहभागीहरूले अझै प्रस्ट बुझेका थिए भने भोगेकाहरूले प्रफुल्लित भएको प्रतिक्रिया दिए । कार्की र खड्का भने हालै रोजगारी गुमेपछि पत्रकारिताप्रति नै आएको निराशा र तत्कालै हरेस नखाई सुरु गरेको अर्को कामको भोगाइलाई नाटकका रूपमा देख्दा केही भावुक र उत्साहित देखिएका थिए ।

आफ्नै भोगाइलाई नाटकमा देख्न पाउँदा निकै खुसी लागेको खड्काले सुनाइन् । नेपालमा पछिल्लो समयमा यस विधाका नाटकको अभ्यास भइरहे पनि मूलधारमा आउन नसकेको मण्डलामा आबद्ध रंगकर्मी सोमनाथ खनालले सुनाए । उनका अनुसार यसअघि यस्ता खाले नाटकहरूको अभ्यास भई नै रहेको छ ।

उक्त नाटक प्रस्तुतिका लागि रंगकर्मीहरू सोमनाथ खनाल र राजन खतिवडाले सामाजिक दूरी र केही भर्चुअल रूपमै १० दिनको कार्यशालामार्फत प्रस्तुतिका लागि समूह तयार पारेका थिए । समूहमा उमेश तामाङ, शारदा अधिकारी, अनुप न्यौपाने, सुदीप खतिवडा, रञ्जना ओली, रेणु योगी, सन्दीप श्रेष्ठ, अंकित खड्का, विजय बराल, विजय कार्की, विकास जोशीलगायत कलाकार सहभागी थिए ।

सो समूहले सञ्चार मात्र नभएर थिएटर, तेस्रो लिंगी समुदाय, शारीरिक अशक्तता भएका व्यक्तिहरूको हालको भोगाइलाई सुनेर ती सबै कथालाई नाटकका माध्यममा प्रस्तुत गरिसकेका छन् । मंगलबारसम्ममा जम्माजम्मी १५ वटा प्रस्तुति पूरा गरेको खनालले जानकारी दिए । यो समयमा यस्ता खाले नाटक अझ बढी प्रभावकारी हुन सक्ने खतिवडाले दाबी गरे । ‘लामो समयदेखि घरभित्रै थुनिरहेका सबै मानिसहरूले यस विधाबाट नै आफ्ना कुरा राख्ने अवसर पाएका छन्,’ उनले भने, ‘यसबाट आम मानिसको भोगाइ र जटिलतालाई कम गर्न सकिन्छ ।’ उपयोगिताको दृष्टिकोणले निकै उत्तम भए पनि यस विधाका लागि केही कठिनाइ रहेको उनको अनुभव छ । कलाकारहरूको मानसिक प्रभावलाई ध्यानमा राख्नुपर्ने भएकाले अन्य नाटक जस्तो नियमित रूपमा जान नसकिने उनले सुनाए । आम दर्शकको माग एवं अहिलेको विद्यमान स्थितिलाई मध्यनजर गर्दै अन्य थुप्रै विषयवस्तुमा यस्ता खाले नाटक गर्दै जाने योजना रहेको उनले खुलाए ।

(कान्तिपुर दैनिक)