सुपर ओभरको शृंखला
News Desk
Oct-19 , 2020 तारिख 08:50 बिहान

आईपीएलमा आइतबारको दिन ऐतिहासिक नै बन्यो । तीन सुपर ओभर देखियो । पन्जाब र मुम्बईबीचको खेल दुई सुपर ओभरमा पुगेर नतिजा निस्कियो भने सनराइजर्स र कोलकाताको खेल पनि सुपर ओभरमै पुगेर टुंगिएको थियो ।

दुबई — कार्तिक ३, २०७७। 

 इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुबै खेल सुपर ओभरमा छिनोफानो भयो । किंग्स इलेभेन पन्जाबले मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई पराजित गर्दै नाटकीय खेलको फाइदा उठाए ।

पन्जाब र मुम्बईबीचको खेलको नतिजा टुंगो लगाउन एउटामात्र होइन दुई सुपर ओभरको सहायता लिनुपरेको थियो । पहिलो सुपर ओभरमा पन्जाबले १ विकेट गुमाई ५ रनमात्र बनायो । मुम्बईले पनि दुबै विकेट गुमाई ५ रनमात्र बनाउन सक्यो । स्कोर बराबर भएपछिको दोस्रो सुपर ओभरमा मुम्बईले १ विकेट गुमाई ११ रन बनायो । पन्जाबबाट क्रिस गेलले पहिलो बलमै छक्का र दोस्रो बलमा एक रन प्रहार गरेपछि मयंक अग्रवालले तेस्रो र चौथो बलमा लगातार दुई चौका प्रहार गर्दै पन्जाबलाई जिताए ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यसअघि टस जितेको मुम्बईले ६ विकेट गुमाई १ सय ७६ रन बनाएको थियो । जवाफमा पन्जाबले पनि ६ विकेट गुमाई त्यति नै रन बनाएपछि नतिजा निकाल्न दुई सुपर ओभर कुर्नुपरेको थियो । दुबै सुपर ओभर आफ्नो पक्षमा नआएपछि मुम्बईले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । दिल्ली क्यापिटल्स १४ अंकसाथ शीर्षस्थानमा छ । मुम्बईको १२ अंक छ ।

पहिलो ७ खेलमा एकमात्र खेल जित्न सकेको पन्जाबले पछिल्ला दुवै खेल जितेर ६ अंक पुर्याएको छ । टोली पुछारबाट छैटौं स्थानमा उक्लेको छ । हैदराबाद, पन्जाब, चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सको समान ६ अंक भए पनि कमजोर रनरेटका कारण चेन्नई र राजस्थान पुछारको दुई स्थानमा छन् । शीर्ष चार टोली प्लेअफ छनोट हुनेछन् ।

मुम्बईबाट क्विन्टन डी ककले ५३ रन बनाए । उनले ४३ बल खेली ३ चौका र ३ छक्का प्रहार गरे । हार्दिक पाण्डे ३० बलमा ४ चौका र १ छक्का प्रहार गरी ३४ रनमा आउट भए । किइरन पोलार्ड १२ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३४ र नथान कटलर नाइल १२ बलमा ४ चौकासहित २४ रन बनाई अविजित रहे । पन्जाबका मोहम्मद सामी र असरदीप सिंहले २–२ विकेट लिए ।

कप्तान केएल राहुलले ५१ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ७७ रन बनाएर पन्जाबलाई विजयको बाटो देखाएका थिए । त्यस्तै मयंकले ११, गेल र निकोलस पूरनले समान २४ रन बनाए भने दीपक हुडा १६ बलमा १ चौका र १ छक्का प्रहार गरी २३ रनमा अविजित रहे । मुम्बईका जसप्रित बुमराहले ४ ओभरमा २४ रन खर्चेर ३ र राहुल चाहरले २ विकेट लिए ।

फर्गुसनको सानदार बलिङ

अबुधावीमा लोकी फर्गुसनको कोलकाताको जितमा नायक रहे । उनले कोलकाताको स्कोर रक्षा गर्नेक्रममा ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । प्रतियोगितामा पहिलो खेल खेलिरहेका न्युजिल्यान्डका यी बलरले सुपर ओभरको पहिलो बलमा हैदराबादका कप्तान डेविड वार्नरलाई बोल्ड गरे । तेस्रो बलमा अब्दुल समादलाई पनि फर्गुसनले बोल्ड गरेपछि कोलकाताले पाएको ३ रनको लक्ष्य चौथो बलमा पूरा गरेको हो । यसले कोलकातालाई लगातार तेस्रो हारबाट बचायो ।

१ सय ६४ रनको लक्ष्य पाएको हैदराबादको म्यान अफ द म्याच फर्गुसनले ३ मध्ये दुई विकेट बोल्डमै गरेका थिए । उनले प्रियम गर्गलाई ४ र मनीष पाण्डेलाई ६ रनमा बोल्ड गरे । जोनी बेरिस्टो र केन विलियम्सनले ६ ओभरमा ५८ रन जोड्दै हैदराबादलाई उत्कृष्ट सुरुआत दिलाए । त्यसपछि फर्गुसनले ४ मध्ये तीन विकेट लिँदा हैदराबाद १२औं ओभरमा ८४–४ को स्थितिमा पुगेको थियो । विलियम्सनलाई फर्गुसनले नितिश राणाको हातबाट क्याच गराए । विलियम्सनले १९ बलमा ४ चौका र १ छक्कासहित २९ रन बनाए । अर्का ओपनर बेरिस्टोले २८ बलमा ७ चौकासहित ३६ रन बनाई बरुण चक्रवर्तीको बलमा आउट भए । वार्नर ४७ रनमा अविजित रहे । उनले ३३ बल खेली ५ चौका प्रहार गरे ।

हैदराबादलाई अन्तिम ओभरमा जितनिम्ति १८ रन चाहिन्थ्यो । एन्ड्रयु रसेलले अन्तिम ओभरको पहिलो बलमा वाइड फाल्न पुगे । रशिद खानले पहिलो बलमा एक रन लिए भने त्यसपछिको तीन बलमा वार्नरले लगातार चौका प्रहार गरे । अन्तिम दुई बलमा हैदराबादलाई ४ रन चाहिन्थ्यो । पाँचौं बलमा वार्नरले अर्को दुई रन जोडे । तर अन्तिम बलमा लेग बाईमा एक रनमात्र लिन सकेपछि स्कोर बराबर हुँदा सुपर ओभरमा पुगेको थियो ।

टस हारेर ब्याटिङ निम्तो पाएको कोलकाताले यसअघि अन्तिम ५ ओभरमा ५८ रन जोड्दै १६३–५ को स्कोर बनाएको थियो । ओपनरद्वय राहुल त्रिपाठीले १६ बलमा २ चौका र १ छक्कासहित १९ तथा शुभमन गिलले ३७ बलमा ५ चौकासहित ३६ रन बनाएका थिए । राना २० बलमा ३ चौका र १ छक्का प्रहार गरी २९ रन तथा रसेल ९ रनमा आउट हुँदा कोलकाता अप्ठ्यारो स्थितिमा पुगेको थियो ।

नवनियुक्त कप्तान इयोन मोर्गन र पूर्व कप्तान दिनेश कार्तिकले अन्तिम ५ ओभरको भरपूर फाइदा उठाए । ब्याटिङमा केन्द्रित हुने बताउँदै कप्तानी त्यागेका कार्तिक १४ बलमा २ चौका र २ छक्कासहित २९ रनमा अविजित रहे । इनिङ्सको अन्तिम बलमा बासिल थाम्पीद्वारा आउट हुनुपूर्व मोर्गनले २३ बलमा ३४ रन बनाए । इंग्ल्यान्डका विश्वकप विजयी कप्तान मोर्गनले ३ चौका र १ छक्का प्रहार गरे । हैदराबादका टी नटराजनले ४ ओभरमा ४० रन खर्चेर २ तथा विजय शंकर र रशिदले १–१ विकेट लिए ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको