अमेरिकामा दशकौंपछि महिलालाई मृत्युदण्ड दिइने
News Desk
Oct-19 , 2020 तारिख 10:47 बिहान

वासिङ्टन —  कार्तिक ३, २०७७। 

अमेरिकामा झन्डै ७० वर्षपछि एक जना महिला कैदीलाई मृत्युदण्ड दिन लागिएको न्याय मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सन् २००४ मा मिसोरी राज्यमा लिसा मन्टगमरीले एउटी गर्भवती महिलाको हत्यापछि पेट चिरेर बच्चाको अपहरण गरेकी थिइन् ।

उनलाई डिसेम्बर ८ मा इन्डियानामा प्राणघातक सुई लगाएर मृत्युदण्ड दिइने जनाइएको छ ।

‘डेथ पेनाल्टी इन्फर्मेसन सेन्टर’ का अनुसार यसअघि अमेरिकामा सन् १९५३ मा बनी हेडीलाई मिसोरीमा मृत्युदण्ड दिइएको थियो । डिसेम्बर महिनामै अर्का एक जनालाई पनि मृत्युदण्ड दिने तय गरिएको छ । मृत्युदण्ड दिइने र्ब्यान्डन बर्नार्डलले दुई जना मन्त्रीहरूको हत्या गरेका थिए ।

अमेरिकी महान्यायाधिवक्ता विलियम बारले जघन्य अपराधमा संलग्न भएका कारण उनीहरूलाई मृत्युदण्ड दिनुपरेको जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गत वर्ष मृत्युदण्ड पुनः सुरु गर्ने बताएको थियो । अमेरिकी न्याय मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार सन् २००४ को डिसेम्बरमा मन्टगमरी कुकुरको बच्चा किन्ने मिसोरीस्थित बबी जो स्टिनेटको घर पुगेकी थिइन् । घरभित्र पुगेपछि मन्टगमरीले आठ महिनाकी गर्भवती स्टिनेटलाई आक्रमण गरी बेहोस बनाएकी थिइन् ।

‘त्यसलगत्तै उनले भान्साकोठामा रहेको चक्कुले स्टिनेटको पेट चिरिन् र बच्चा बाहिर निकालिन्,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सन् २००७ मा न्यायालयले उनलाई अपहरण र हत्यामा दोषी ठहर गर्दै मृत्युदण्ड दिने फैसला गरेको हो । मन्टगमरीका वकिलहरूले उनले सानो समयमा पाएको यातनाका कारण उनको दिमागमा असर परेको दाबी गरेका थिए । जसका कारण उनमा मानसिक समस्या रहेकाले मृत्युदण्ड दिन नहुने दाबी गरेका थिए ।

अमेरिकी न्याय प्रणालीअनुसार अपराधहरू केन्द्रीय तथा राज्य तह दुवैमा अनुसन्धान गर्न सकिन्छ । मुद्राको अपचलन गरेको वा चिठीपत्र चोरी गरेका विषयमा संघीय तहमा मुद्दा चलाइन्छ । अरू अपराधमा भने त्यसको प्रकृतिका आधारमा मुद्दा चलाउने गरिन्छ ।

सन् १९७२ मा सर्वोच्च अदालतको एक निर्णयबाट मृत्युदण्ड राज्यस्तरीय र संघीय दुवै तहमा गैरकानुनी बनाइएको थियो र त्यसबेला थाती रहेका सबै मृत्युदण्ड रद्द गरिएको थियो । सन् १९७६ मा सर्वोच्च अदालतले अर्को निर्णय गर्दै राज्यहरूलाई मृत्युदण्ड पुनःस्थापित गर्ने अनुमति दिएको थियो ।

(एजेन्सी/कान्तिपुर दैनिक)