किन गइरहन्छ बत्ती?
News Desk
Oct-20 , 2020 तारिख 10:50 बिहान

काठमाडौं —  कार्तिक ४, २०७७।

काठमाडौं उपत्यकासहित देशभर बिनासूचना झ्यापझ्याप बत्ती जान थालेपछि उपभोक्ताले पुनः लोडसेडिङ फर्किएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् ।

तर देशभर विद्युत् आपूर्तिको जिम्मेवारी पाएको नेपाल विद्युत् प्राधिकरणले भने झ्यापझ्याप बत्ती जानु नियोजित नभई प्राविधिक मात्रै भएको प्रस्ट्याएको छ । ‘मर्मतसम्भार गर्ने र कुनै प्राविधिक गडबडी भएको अवस्थाबाहेक अन्य कारणले विद्युत् अवरुद्ध भएको छैन,’ प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले भने, ‘यो बेला मौसमले साथ दिने भएकाले देशभर प्रणाली मर्मतको काम तीव्र पारिएको छ ।’ उनका अनुसार दसैंअगावै देशभर भइरहेको मर्मतसम्भारको काम सकिन्छ ।

‘त्यसपछि प्राविधिक गडबडीबाहेक अन्य अवस्थामा कतै पनि विद्युत् अवरुद्ध हुन्न,’ उनी भन्छन्, ‘हरेक वर्ष वर्षा सकिएपछि प्राधिकरणले मर्मतसम्भारको कामलाई तीव्रता दिने गरेको छ ।’ अघिल्ला वर्षमा पनि दसैंतिहार चाड आउनुअघि मर्मतका लागि विद्युत् अवरुद्ध हुने गरेको उनले जानकारी दिए ।

‘मागअनुसारको विद्युत् प्रणालीमा छ,’ उनी भन्छन्, ‘विद्युत् नपुगेर लोडसेडिङ गर्नुपर्ने अवस्था छैन ।’ दसैंतिहारजस्ता चाडमा उद्योग कलकारखाना बन्द भएर विद्युत् माग घट्ने भएकाले उत्पादित विद्युत्भन्दा कम खपत हुने उनले बताए । ‘मर्मतसम्भार र प्राविधिक गडबडी भएको ठाउँमा मात्रै विद्युत् अवरुद्ध भएको हो,’ उनी भन्छन्, ‘विद्युत् नपुगेर लोडसेडिङ गरिएको छैन ।’

लोडसेडिङ अन्त्यको जस पाएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भदौ ३१ मा प्राधिकरणबाट बिदा भएपछि पटकपटक विद्युत् अवरुद्ध हुने गरेको सामाजिक सञ्जालमार्फत गुनासो आउने गरेको आजको कान्तिपुर दैनिकमा खवर छ ।