उखु किसानका पुस्तैनी पीडा
News Desk
Nov-10 , 2020 तारिख 10:52 बिहान

काठमाडौँ — कार्तिक २५, २०७७। 

‘बिक्री गरेपछि हातै रुपैयाँ आउँछ’ भन्दै जयलाल महतोले जेठो छोरो हीरालाललाई चार दशकअघि उखु खेतीमा लगाएका थिए। जयलालले नगदे बाली भनेको उखु अहिले आएर उधारो खेतीमा परिणत भएको छ।

‘नगद खर्च गरेर उखु उब्जाउनुपर्छ। उधारोमा चिनी मिललाई बेच्नुपर्ने बाध्यता छ’, महोत्तरीको बर्दिबास–१३ बिजलपुराका हीरालालले भने, ‘एक त लागत खर्चअनुसार मूल्य पाइँदैन। त्यसमाथि खेतमै सुकाएर लिएको उखुको रकम दिन मिल मालिकले अढाई–तीन वर्ष लगाइदिन्छ।’

उनले पाँच वर्षअघिसम्म डेढ बिघामा उखु खेती लगाउँथे। ‘अब पार लाग्दैन भनेर मैले यस वर्ष ७ कठ्ठामा मात्रै उखु खेती गरेको छु’, उनले भने, ‘खेतमा उखु तयारी भइसक्यो। तर, अझै उखुको मूल्य तोकिएको छैन।’ उनले गत वर्ष तीन वर्षअघिकै मूल्य ५ सय ३६ रुपैयाँ (सरकारले दिने अनुदानसहित) मा उखु बिक्री गरेका थिए।

उद्योगलाई बिक्री गरेको उखुको रकम लिन सर्लाहीका रामविलास महतोलगायत किसान गत वर्ष काठमाडौंको माइती घरमा गएर आन्दोलन गर्न बाध्य भए। सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौलले परार बक्यौता नदिँदा उनी आन्दोलनमा रोएका थिए। तत्कालीन उद्योगमन्त्रीले रकम तुरुन्त दिलाउने भन्दै किसान र उद्योगीबीच सहमति गराएका थिए। केहीबाहेक धेरै किसानलाई उद्योगीले अझै रकम दिएका छैनन्। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

धेरै पढिएको