अधिक तरलतामा निक्षेपको ब्याजदर नघटाऊः राष्ट्र बैंक
News Desk
Nov-12 , 2020 तारिख 11:13 बिहान

काठमाडौं — कार्तिक २६, २०७७।

बजारमा अधिक तरलताको स्थिति देखाउँदै निक्षेपको ब्याजदर नघटाउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ध्यानाकर्षण गराएको छ ।

बजारमा तरलता अधिक भइरहने र यसको व्यवस्थापन नहुँदा निक्षेपको ब्याजदर धेरै तल जाने गरी नघटाउन राष्ट्र बैंकले बुधवार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई ध्यानाकर्षण गराएको बताएको छ ।

बजारमा नयाँ कर्जाको माग अपेक्षाअनुसार नभएकाले रू। २ खर्बभन्दा बढीकोे अधिक तरलताको स्थिति छ । यस्तो तरलताको स्थितिमा बैंक तथा वित्तीय संस्थाहरू व्यवस्थापनको योजनामा आफै लागिपर्न सुझाव दिएको राष्ट्र बैंकको नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए ।

उनका अनुसार ब्याजदरलाई निश्चित सीमाभित्र राख्ने गरी बैंक तथा वित्तीय संस्थाबाट पहल गर्न भनिएको छ । ‘तरलता व्यवस्थापन नगर्दा निक्षेपको ब्याजदर धेरै तल जानु भएन । निक्षेप ब्याजदर धेरै तल जाँदा भोलि बचत परिचालनमा नकारात्मक असर पर्नसक्छ । बचत निरुत्साहित हुनसक्छ । यसकारण यसतर्फ पनि बैंकहरूले राम्रो योजना बनाउनुप¥यो भनेका छौं,’ उनले भने । बैंकरहरूले राष्ट्र बैंकले भनेअनुसार गर्न प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग सहुलियतपूर्ण कर्जा प्रवाह प्रभावकारी हुन नसकेकोमा चासो व्यक्त गरेको थियो । अझै सहुलियत ब्याजदरको कर्जामा १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सकिने क्षमता भए पनि यसतर्फ बैंक तथा वित्तीय संस्थाहरूले बढी मेहनत नगरेको राष्ट्र बैंकको ठहर छ ।

छलफलमा बैंकहरू पूनर्कर्जामा कम सहभागी भएको राष्ट्र बैंकले बताएको छ । कार्यकारी निर्देशक ढकालले विशेष गरी राष्ट्र बैंकले कोभिड १९ बाट प्रभावित उद्योग, व्यवसाय, पेशालगायत क्षेत्रहरूलाई व्यवसाय नियमित गर्न, काम गर्ने कामदारको पारिश्रमिक भुक्तानी गर्न वा तिनीहरूलाई टिकाउनका लागि सहयोग होस् भनेर २ सय अर्बको पुनर्कर्जा उपलब्ध गराउने सुविधा दिए पनि बैंकको सहभागिता कम रहेको बताए ।

यस्तो कर्जाअन्तर्गत ग्राहक ऋणीअनुसार पुनर्कर्जा दिने पहिलो चरणको काम करीब अन्तिम चरणमा पुगेको समेत कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए । पुनर्कर्जा सबै ग्राहकवर्गमा पुर्‍याएर उनीहरूलाई सुविधाजनक अवस्थामा राखिदिन अनुरोधसमेत गरेको उनले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।