अमेरिकामा डिसेम्बरसम्म कोरोना खोप उपलब्ध हुन सक्ने
News Desk
Nov-24 , 2020 तारिख 12:32 बेलुका

वासिङ्टन —  मंसिर ९, २०७७। एजेन्सी

अमेरिकी नागरिकहरूले कोभिड–१९ विरुद्धको खोप पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन् । अमेरिकाको कोभिडविरुद्धको खोप कार्यक्रमका प्रमुख डा. मोन्सेफ स्लावीले सीएनएनसँग उक्त कुरा बताएका हुन् ।
स्लावीले प्रयोगका लागि स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्‍याइने योजना सुनाए । देशव्यापी रूपमा कोभिड–१९ को संक्रमण बढिरहेका बेला उनले त्यस्तो बताएका हुन् । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा १ करोड २० लाखभन्दा धेरै मानिसमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ । कम्तीमा २ लाख ५५ हजार जनाको मृत्यु भइसकेको छ ।

अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोप प्रयोगका लागि आकस्मिक अनुमति माग गर्दै शुक्रबार आवेदन दिएका थिए । दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको छ ।

परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोभिड–१९ को भाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो । खोप लिएपछि भाइरुसविरुद्ध लड्न शरीरले एन्टीबडी बनाउने जनाइएको छ । फाइजरले यो वर्षको अन्त्यसम्ममा उक्त खोप ५ करोड डोज उत्पादन गरिने जनाएको छ ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले खोपलाई अनुमति दिनेबारे डिसेम्बर १० तारिखमा छलफल गरिने जनाइसकेको छ । डा. स्लावीले सीएनएनसँगको कुराकानीमा अनुमति पाएको दुई दिनमै खोप दिन सकिने बताए । डा. स्लावीका अनुसार खोप कसलाई दिने भन्ने निर्णय सम्बन्धित राज्यहरूले गर्नेछन् । तर स्वास्थ्यकर्मी तथा पाका उमेर समूहका मानिसहरूलाई प्राथमिकता दिइने जनाइएको छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको