उम्लिरहेको दूधले नुहाएर पूजा!
News Desk
Jan-23 , 2021 तारिख 09:30 बिहान

जनकपुरधाम - माघ १०

जनकपुरधाम, दाउरा दनदनी बलिरहेको चुलामा दुइटा माटाका तौला बसाले। त्यसमा ३५ किलो दूध खन्याए। दूध उमाल्न तापमा कमी नहोस् भनेर दुई जना धुप र दाउरा लगातार अँगेनामा हाल्न लागिपरे।

भगतिया र किर्तनियाहरू भने दिनाभद्री (भुइँया महराज) को गीत गाउँदै नाचिरहेका थिए। मूल भगता (धामी) इनरजित सदा पूजाका सामान जुटाउन व्यस्त थिए। दूध उम्लिएर पोखिन थालेपछि दुई जना धामीले आगो ढोग्दै नांगो हात तौलामा हाले। डाडुले दूध चलाएझै हातले नै चलाए। नांगो हातले दूध चलाउने क्रम पूजाको अन्त्यसम्म चल्यो।

मूल धामी इनरजित, १८ वर्षमुनिका कृष्ण सदा र रामसोभित सदा दूध उम्लिरहेकै बेला गंगासागर पोखरीमा नुहाउन गए। नुहाएर नाच्दै पूजास्थलमा आएका धामीलाई पूजा आयोजकले घरघरबाट ल्याएको दूधले खुट्टा धोएपछि उनीहरू उम्लिरहेको दूधको तौलानजिक आइपुगे।

त्यसपछि मूल धामी र दुई बालकले नाच्दै उम्लिरहेको दूध पटक–पटक नांगो जीउमा खन्याएर भुइँया महराजलाई अपटौनी (अर्पण गर्नु) दिएका थिए। धामीले तातो दूध हातमा लिएर पूजा गर्ने परिवार र अन्य आगन्तुकको टाउकोमा राख्दै आशीर्वाद दिए। आस्था र श्रद्धाका कारण उम्लिरहेको दूधले नुहाउँदा पनि शरीरमा कुनै हानि नहुने धामी इनरजितले दाबी गरे। ‘

जनकपुरको पेठिया बजारका अर्जुन मेस्तर र उनको परिवारले शुक्रबार आयोजना गरेको भुइँया महाराजको पूजा अनौठो देखिन्थ्यो। बिहेको १२ वर्षसम्म निःसन्तान रहेका मेस्तरले भगता इनरजितसमक्ष सन्तान प्राप्तिका लागि भाकल गरिदिन बिन्ती गरेका रहेछन्। अन्नपूर्णपोष्ट दैनिकबाट