निर्जीवन बीमा ९.९० प्रतिशतले बढ्यो
News Desk
Jan-26 , 2021 तारिख 07:15 बिहान

काठमाडौं  - माघ १३

काठमाडौं, जीवन बीमाको तुलनामा निर्जीवन बीमा व्यवसायको विस्तार अन्त्यन्त न्यून देखिएको छ । कोरोना महामारीका बीच पनि चालू आर्थिक वर्ष (आव) मा जीवन बीमाको व्यवसाय उत्साहजनक रूपमा बढेको छ । बैंक तथा अन्य वित्तीय क्षेत्रको विस्तार पनि राम्रो छ । तर, निर्जीवन बीमा व्यवसायको विस्तार भने तिनको दाँजोमा कम देखिएको छ ।

चालू आवको पहिलो ६ महीनामा जीवन बीमाको व्यवसाय ३२ दशमलव १२ प्रतिशतले बढेको छ । तर, निर्जीवन बीमाको व्यवसाय ९ दशमलव ९० प्रतिशत मात्रै बढेको छ । गत आवको यही अवधिमा निर्जीवन बीमा व्यवसाय १५ प्रतिशतभन्दा बढीले बढेको थियो ।

हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये १९ कम्पनीले यस अवधिमा रू। १५ अर्ब २० करोड बीमाशुल्क संकलन गरेका छन् । उनीहरूले गत आवको सोही अवधिमा पनि १३ अर्ब ८३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । सरकारी स्वामित्व राष्ट्रिय बीमा कम्पनीले भने समीक्षा अवधिको वित्तीय विवरण पेश नगरेको बीमा समितिको भनाइ छ ।

निर्जीवन बीमा व्यवसाय बैंक तथा वित्तीय कारोबारसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । बैंक तथा वित्तीय संसथाहरूले जेजति क्षेत्र तथा सम्पत्तिमा ऋण लगानी गर्छन् तीमध्ये अधिकांशमा बीमा गर्नुपर्ने हुन्छ । जस्तै, बैंकबाट कर्जा लिएर बनाइने घरको बीमा अनिवार्य रूपमा गर्नुपर्छ । तर, पछिल्लो समय बैंकहरूले बीमायोग्य सम्पत्तिमा लगानी बढाएका छैनन् । त्यसको असरले पनि निर्जीवन बीमा व्यवसाय व्यापक हुन नसकेको हो ।

पछिल्लो समय नयाँ सवारीसाधनको विक्री घटेको छ । फलस्वरूप मोटर बीमामार्फत हुने आम्दानी पनि बढ्न सकेको छैन । यिनै कारण निर्जीवन बीमा व्यवसायको वृद्धि व्यापक रूपमा हुन नसकेको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुनीलवल्लभ पन्तले बताए । आर्थिक अभियान दैनिकबाट

धेरै पढिएको