खोप अभियानलाई देशव्यापी बनाइँदै



काठमाडौं - फागुन १७

काठमाडौं, कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ करोड १७ लाख नागरिकलाई कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउने महत्वाकांक्षी योजना ल्याएको छ ।

मन्त्रालयले सोमबार राष्ट्रिय सञ्चारमाध्यमका प्रधानसम्पादक तथा सम्पादकसँग अन्तरसंवाद गर्दै खोप अभियानलाई सफल बनाउन देशव्यापी रूपमा सकारात्मक प्रचारसहितको अभियानमा सहभागी हुन आग्रह गरेको हो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सरकारले नागरिकलाई जोखिमबाट मुक्त गराउने उद्देश्यसहित ठूलो मिहिनेत गरेर खोप ल्याउन सफल भएको स्पष्ट पारे । मन्त्री त्रिपाठीले खोप खरिद प्रक्रियालाई पारदर्शी बनाइने र कुनै प्रकारको अनियमितता हुन नदिने प्रतिबद्धता जनाए ।

मन्त्रालयका सचिव लक्ष्मण मैनालीले तीन वटै सरकारको समन्वयमा भ्याक्सिन अभियानलाई छिटै देशव्यापी बनाउँदै नागरिक स्तरमा सरकार रहेको प्रत्यक्ष अनुभूति दिइनेगरी काम गर्ने बताए ।

मन्त्रालयले कोरोनाविरुद्धको अभियान तथा खोप अभियान सफल बनाउन आवश्यक पर्ने उपायहरूका बारेमा सम्पादकहरूसँग समेत राय र सुुझाव लिएको थियो । सम्पादकहरूले खोप अभियानलाई छिटोभन्दा छिटो आम नागरिकसमक्ष पु¥याउनुपर्ने, पारदर्शिता अपनाउनुपर्ने, भ्याक्सिन अभियान सफल बनाउन स्पष्ट खालका नीति योजना तथा कार्यक्रम बनाउनुपर्ने तथा मिडियामैत्री नीतिसमेत अख्तियार गर्नुपर्ने सुझाव दिएका थिए ।

सो कार्यक्रममा मन्त्रालयका कोभिड–१९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा। श्यामराज उप्रेतीले कुल जनसंख्याको ७१।६२ प्रतिशत नागरिकलाई खोप उपलब्ध गराउनेगरी महत्वाकांक्षी योजना ल्याइएको जानकारी दिए । जसअनुसार २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइनेछ ।

योजनाअनुसार स्वास्थ्य तथा सामाजिक क्षेत्रका ९ लाख ११ हजार ३ सय ४२, ज्येष्ठ नागरिक, दीर्घरोगी, प्रवासी कामदार र शरणार्थी ५१ लाख ६४ हजार २ सय ६९ जनालाई खोप लगाइनेछ । यस्तै, ४० देखि ५४ वर्षका बाँकी सबै २९ लाख १ हजार १ सय ४, १५ देखि ३९ वर्ष उमेर समूहका १ करोड १७ लाख ८० हजार ४८ जनालाई खोप उपलब्ध गराइनेछ ।

सम्पूर्ण खोप व्यवस्थापनका लागि ४८ अर्ब ८३ करोड ४२ लाख ६५ हजार ८ सय ८९ रूपैयाँ लागत खर्च हुने अनुमान गरिएको आजको राजधानी दैनिकमा खवर छ ।