गण्डकी प्रदेशको प्रवेशद्वार मानिने आँबुखैरेनी नाकामा चेकजाँचमा कडाइ



 बिष्णु गौतम दमौली, १ जेष्ठ- कोरोना भाइरस कोभिड १९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार तनहुँको आँबुखैरेनी (पुलजिपमा) नाकामा चेकजाँचमा कडाइ गरिएको छ । कोरोनाका कारण संक्रमितको संख्या बढ्दै गएपछि चेकजाँचमा कडाइ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । प्रहरी निरीक्षक विकास थापाले गण्डकी प्रदेशकै प्रवेशद्वार मानिएको तनहुँको आँबुखैरेनीमा सुरक्षा चेकिङ तिब्र पारिएको बताए ।

‘संक्रमितहरुको संख्या बढ्दै गएपछि चेकजाँचमा कडा बनाएका छौ’ प्रहरी निरीक्षक थापाले बताए । अस्थायी प्रहरी पोष्ट, हेल्थ डेस्क राखेर गण्डकी प्रदेश भित्रिने सवारी साधन र यात्रुहरुको तथ्याङ्क लिने काम समेत तिब्र भएको जानकारी उनले दिए । यात्रुहरुलाई समस्या भए तत्कालै गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले तापक्रम नाप्ने, औषधी उपलब्ध गराउने, जटिल केश भए भर्ना गरी उपचार गर्ने व्यवस्था मिलाइएको छ । कोरोनाको रोकथाम, व्यवस्थापन र नियन्त्रणका लागि प्रहरी सक्रिय रुपमा लागिरहेको दाबी थापाको छ ।

आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले पनि आँबुखैरेनी क्षेत्रमा स्वास्थ्य र सुरक्षामा कडाइ गरिएको बताए । भारत लगायत बाहिरी मुलुकबाट आउनेलाई सम्बन्धित वडा वा टोलमा खबर गरी १० दिनसम्म होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको जानकारी उनले दिए । ‘जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गरेपछि आँबुखैरेनी बजार बिहान ९ बजेसम्म खुला रहने र त्यसपछि बन्द गरिएको छ’ उनले भने । बजारमा भिडभाड हुन नदिन र काम नभएकाहरुलाई घरमै बस्न माइकिङ समेत गर्ने गरिएको प्रहरी निरीक्षक थापाले बताए । गाउँपालिकाका १५ जनाको पिसिआर गरी पठाइएकोमा रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।



धेरै पढिएको