एनआरएनए युएसको बोर्ड अफ डाईरेक्टरमा बाला घिमिरेको उम्मेदवारी, यस्तो छ उनको अपिल 
News Desk
May-16 , 2021 तारिख 11:30 बिहान

केशव ढकाल

शिकागो -एनआरएनए राष्ट्रिय समन्वय परिषद युएसको २०२१-२०२३ बोर्ड अफ डाईरेक्टरमा बाला घिमिरेले उम्मेदवारी दिएका छन् । गैर आवासीय नेपाली संघ, एनआरएन अमेरिकाको नयाँ नेतृत्व छनोटको प्रक्रिया आरम्भ भएसँगै अमेरिका स्थित प्रवासी नेपालीहरुको साझा संगठनको चुनावी मैदानमा घिमिरे होमिएका हुन । गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका मार्फत निःस्वार्थ भावका साथ सामाजिक सेवामा अनवरत रुपमा खटिदै आएका घिमिरेले नेपाली समुदायको उत्थान र कल्याणका निम्ती बोर्ड अफ डाइरेक्टर पदमा आफ्नो उम्मेदवार दिएको बताए । अघिल्लो कार्यकाल बरिस्ठ उपाध्यक्ष पदमा झिनो मतान्तरले पराजित घिमिरेले बोर्ड अफ डाईरेक्टरमा किन उम्मेदवारी दिए भन्ने बिषयले सबैको ध्यानाकर्षण गराएको छ । कतिपयले त उनी हाललाई बरिस्ठ उपाध्यक्ष पदका दर्विलो उम्मेदवार हुनुपर्नेमा किन बोर्ड अफ डाईरेक्टरमा उठदै छन् भनेर अचम्मित पनि भएका छन् । यस पोष्टको लागी उनलाई स-सम्मान निर्विरोध गराई अन्य पोस्टकालागी चुनाब गराउदा उनी जत्तीको मान्छेको समाजप्रती अझ जिम्मेवारी बढने र उनले हालसम्म नेपाली समाजप्रती पुर्याउदै आएको योगदानको कदर हुने भन्ने आवाजहरु समेत उठदै आएको छ ।

यस पृष्‍ठभुमी माझ तपाईंको उम्मेदवारी किन भन्ने हाम्रो सवाल उपर प्रस्ट पार्दै उनी भन्छन् ’एनआरएन सबै नेपालीको साझा संस्था बन्न सकोस् भन्ने सोच बोकेर म अगाडी बढेको हुँ । आगामी नयाँ कार्यकालमा नेपालीका लागि नेपाली भन्ने नारालाई सार्थक तुल्याउन र एनआरएनको मुख्य एजेण्डा दोहोरो नेपाली नागरिकताको निरन्तरताको लागि जो सुकै अध्यक्ष जितेर आए पनि म क्रियाशील भई दृढताका साथ अगाडी बढ्ने प्रतिबद्धता जायर गर्न चाहन्छु ।’

साथै, विगतमा मातृभुमि नेपालमा बसिरहेका दाजुभाई दिदि वहिनीहरुलाइ परेको भुकुम्प, बाढि, पहिरो जस्ता दु:खको घडिमा सहयोगको हात फैलाउने काम गरेका उनले विपद्का बेला जस्तै मातृभुमि नेपालमा हाल देखा परेको महामारीको संकटसँग जुध्न विश्वभर छरिएर रहेका नेपाली समुदाय एकजुट हुनुपर्ने धारणा राख्दै सहयोगको हात फैलाउन अनुरोध सहित आफ्नो चुनावी अभियानमा साथ दिन समेत गैर आवासिय नेपाली दाजु भाई दिदी बहिनीमा अपिल गरेका छन् ।

उम्मेदवारी दिएसँगै मतदाता एवम् शुभेच्छुकहरु माझ आफुलाई भोट दिएर निर्वाचित गराउन र  विश्वभर छरिएर रहेका तथा विभिन्न तहमा रहेर काम गर्दै आएका गैर आवासीय नेपालीहरुलाई साथ दिन उनले गरेको अनुरोध एवं अपिल यस्तो छ ।   

बाला घिमिरेको अपिल 

अमेरिकावासी आदरणीय दाजुभाइ दिदि वहिनीहरु 

हार्दिक अभिवादन, 

सर्वप्रथम विभिन्न समय र परिस्थितिमा हाम्रो समाज र समुदायको हितमा मैले चालेका कदमहरुमा यहाँहरु बाट प्राप्त साथ , समर्थन , माया र हौसला प्रति हृदय देखि आभार प्रकट गर्दछु । चाहे अमेरिकी नेपाली समुदायको हितमा चालिएको कदमहरु हुन वा मातृभुमि नेपालमा बसिरहेका दाजुभाई दिदि वहिनीहरुलाइ परेको भुकुम्प जस्ता दुखहरुमा सहयोगी हात फैलाउने काम हुन सवै   याहाँहरुको साथ र सहयोग बिना सम्भव हुने पक्कै थिएन । अनि सामाजमा क्रियाशील विभिन्न सामाजिक सँस्थाहरुको सदस्य हुँदै नेतृत्वदायी पदहरुमा पुग्न र त्यसमा सफल हुनमा पनि यहाँहरुको सहयोगले सदैव महत्वपूर्ण भूमिका खेलेको छ , त्यसको निम्ती म सदैव आभारी छु । समाजसेवा कुनै आवधिक कार्य हैन , यो त निरन्तर चलिरहने प्रक्रिया हो र यसको अंश बनिरहन सक्नु हाम्रो सफलता हो भने यस कार्यमा सँस्थागत आवद्धता सहित  सहभागी रहन पाउनु चाहिं हाम्रो निम्ती अवसर हुन । निस्वार्थ समाजसेवाको एक महत्वपूर्ण प्लेटफर्मको रुपमा रहेको , प्रवासी नेपालीहरुको साझा संगठन गैर आवासीय नेपाली संघ (NRN ) अमेरिकाको नया नेतृत्व छनोटको प्रक्रिया आरम्भ भएको छ , समाजका अग्रणी थुप्रै असल पात्रहरु यसको बिभिन्न पदमा रहेर सेवा गर्न अग्रसर भएर निर्वाचनको मैदानमा हुनुहुन्छ र समाजसेवाको आफ्नो प्रतिवद्धतालाइ फेरी एक पटक सामुहिक रुपमा प्रकट गर्न सबैसंग मिलेर काम गर्न मैले पनि एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदमा उमेदवारी दिएको छु । अन्य कतिपय सँस्थाहरुमा नेतृत्वदायी पदहरुमा रहेर काम गरिसकेको अनि समाजसेवालाइ नै आफ्नो जीवनको महत्वपूर्ण अंश बनाउने निष्कर्ष निकालेको मेरो लागि एनआरएनको बोर्ड अफ डाइरेक्टरको जिम्मेवारी एक नया अनुभव मात्रै हुनेछैन बरु समाजका बिभिन्न क्षेत्रका स्थापित र अनुभवीहरुसंगको सहकार्यमा सामाज सेवाको एउटा नया अध्याय पार गर्ने अवसर हुनेछ भन्ने ठानेको छु । आशा छ यहाँहरुको साथ र सहयोगमा आगामी निर्वाचनमा विजय भएर एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरको रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछु  ।  मतदाता एवम् शुभेच्छुकहरु माझ आफुलाई भोट दिएर निर्वाचित गराउन र साथै विश्वभर छरिएर रहेका तथा विभिन्न तहमा रहेर काम गर्दै आउनु हसने गैर आवासीय नेपाली दाजुभाइ दिदि वहिनीहरुलाई आ आफनो स्थानबाट साथ दिनु हुन समेत अनुरोध तथा अपिल गर्दछु । अनि यस्तो आशा गरिरहँदा निर्वाचित भएमा सवै संग मिलेर एनआरएन अमेरिकालाइ यहाँहरु सबैले आफ्नो ठान्न सक्ने सँस्था  बनाउन भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दछु । 

धन्यवाद सहित 

बाला घिमिरे

को हुन बाला घिमिरे? 

बाला घिमिरेको जन्म अर्घखाँचीमा भएको हो ।घिमिरेले मास्टर डिग्री हासिल गरेका  छन् । नेपालमा युवावय अवस्था व्यतित गर्दै गर्दा उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा सकृय भूमिका निर्वाह गरेका थिए । त्यसो त, नेपालको पर्यटन प्रबर्धनमा उनले आफनै रेस्टुरेन्ट र खानाको माध्यमबाट उल्लेख्य योगदान पुर्याउदै आईरहेका पनि छन् ।

घिमिरे २५ बर्ष अघि देखी अमेरिकामा बसोबास गर्दै आएका छन् । अमेरिकामा उनको आफनै व्यवसाय छ । लामो समय देखी उनले शिकागोमा नेपाल हाउस नामक रेस्टुरेन्ट संचालन गर्दै आएका छन् । जुन त्यस क्षेत्रको प्रख्यात रेस्टुरेन्ट मध्येमा पर्दछ । घिमिरे सामाजिक संस्थाहरु नासा, आन्मा र एएनएमा समेत आवद्ध  छन् ।  त्यस्तै, लामो समय देखी एशोसियसन अफ नेप्लिज इन मिडवेस्ट अर्थात आनमाउसको अध्यक्षको जिम्मेवारी समेत सम्हाली सकेका छन् । उनले  टेकअफ  मेयर एडभाईजर बोर्ड मेम्बर साथै स्टेट अफ इलिनोइस काउन्सिलको मेम्बर फर सेक्रेटरी अफ स्टेटका रुपमा काम गरेका छन् । सिकागोमा उनी प्रतिष्ठित व्यक्तिका रुपमा गनिन्छन् । घिमिरेलाई सफल व्यवसायीका रुपमा पनि लिइन्छ   । साधारणपना उनको जीवनको सबल पक्ष हो ।  संघर्षका दिनमा होस् कि ब्यबसायिक सफलता हासिल गरे पछिका क्षण उनी एकैनास देखिन्छन् । न त उनमा घमण्ड छ, न त अरु प्रति इर्श्या । मानिस भएर जन्मिए पछि कर्मशिल बन्नु पर्छ भन्ने मान्यता बोक्ने उनी सामाजिक भावनाले ओतप्रोत पनि छन् ।त्यसैले त उनी  समाजमा सबैलाई दु:ख परेको बखत सहयोग गर्छन् । 

मिलनसार बाला घिमिरे यो यस बर्षको चुनावी अभियानमा त्यति सक्रिय नदेखिएतापनि अन्तर्राष्ट्रीय नेपाली डायस्पोरासंग धेरै नजिक रहेको ब्यक्तित्व हुन ।

एनआरएन आईसिसिको विभिन्न समितीमा रहेर काम गरिसकेको अनुभव र अमेरिकाका विभिन्न संघ संस्थाहरुमा रहेर पुर्याएको योगदानले पनि  उनको  एनआरएनए एनसीसी अमेरिकाको बोर्ड सदस्य तर्फको उम्मेदवारीलाई अमेरिका स्थित नेपाली समुदायले चासोपुर्वक हेरेको  छ । बोर्ड अफ डिरेक्टरमा उनलाई निर्विरोध निर्वाचित गराएर लैजानुपर्छ भन्ने आवाज समेत गुन्जिरहेको छ । यसबाट  सम्भावनासँगसंगै उनको उम्मेदवारीलाई समयको मागको रुप हेरिन थालिएको पनि छ ।