२० लाख ९६ हजारमै हुन्डाई सेन्ट्रो
News Desk
Sep-23 , 2020 तारिख 02:33 बेलुका

काठमाडौं । हुन्डाई सेन्ट्रोमा २ लाख नगद छुट दिने योजना कम्पनीले सार्वजनिक गरेको छ । कम्पनीले सेन्ट्रोको २०१९ मोडलमा १ लाख ८० हजार सिधै नगद र २० हजारदेखि १ लाखसम्म स्क्र्याच कार्ड मार्फत छुट दिने योजना ल्याएको हो । तर, २०२० मोडलमा भने १ लाख रुपैयाँ मात्रै छुट हुने छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ल्याएको दशैं तिहार लक्षित योजनामा उक्त छुट दिने भएको हो । कम्पनीले अहिले सेन्ट्रोको पाँच भेरियन्ट बिक्री वितरण गर्दै आएको छ । जसमा इरा, मग्ना, मग्ना अटोमेटिक, स्पोर्टज् र आस्टा भेरियन्ट छन् । कम्पनीले ल्याएको योजनामा सेन्ट्रोको इन्ट्री लेवल भेरियन्ट किन्न चाहने ग्राहकले २० लाख ९६ हजार रुपैयाँमा नै खरिद गर्न सक्ने छन् । त्यस्तै सेन्ट्रोको अन्य कुनैपनि भेरियन्ट किन्न चाहने ग्राहकले क्रमश २ लाख रुपैयाँले छुट प्राप्त गर्न सक्ने छन् । सेन्ट्रो मग्नाको मूल्य २५ लाख ५६ हजार, मग्ना अटोमेटिकको २८ लाख ९६ हजार, स्पोर्टज्को २७ लाख ५६ हजार, आस्टाको ३० लाख ५६ हजार रुपैयाँ रहेको छ । तर, २०२० मोडल किन्न चाहने ग्राहकले भने इराको २३ लाख ९६ हजार, मग्नाको २६ लाख ५६ हजार, मग्ना अटोमेटिकको २९ लाख ९६ हजार, स्पोर्टज्को २८ लाख ५६ हजार र आस्टाको ३१ लाख ५६ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । सेन्ट्रो २०२० मोडल बीएस ६ इन्जिनमा उपलब्ध हुने भएकाले यसको मूल्य १ लाख रुपैयाँले बढेको कम्पनीले जनाएको छ । साथै, कम्पनीले दिने नगद छुट पनि १ लाख रुपैयाँ मात्रै ग्राहकले पाउने छन् ।

नगद छुटको अलावा कम्पनीले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीको लागि २५ हजार रुपैयाँ बराबरको सर्भिस भौचर उपलब्ध गराउने छ । उक्त भौचरको प्रयोग २ वर्ष भित्र गरिसक्नु पर्ने कम्पनीले जनाएको छ । एक वर्षको बीमा शुल्क, सडक दस्तुरजस्ता खर्च कम्पनीले व्योर्होने छ भने लक्की ड्र मार्फत बम्पर उपहारमा हुन्डाई ग्राण्ड आई १० नियोस एक थान र अउरा एक थान जित्न सक्ने छन् ।

यस्तो छ हुन्डाई सेन्ट्रो

टल ह्याचब्याक मोडलको रुपमा आएको सेन्ट्रोमा ठूलो स्पेश, शानदार लूक्स, फगल्याम्प्स, एड्जस्टेबल हेड रेस्ट जस्ता विशेषताले सेन्ट्रो नेपाली बजारमा निकै चर्चित बनेको छ । हुन्डाई सेन्ट्रोमा अल न्यू डिजाइन थेम प्रयोग गरिएको छ । यो कार ग्रान्ड आई-१० बाट प्रेरित छ भने, यसमा स्वेप्ट ब्याक हेडल्याम्प, नयाँ सिग्नेचर क्यासकेडीङ ग्रील दिएको छ । सेन्ट्रोमा पनि कम्पनीले आफ्नो पुरानो टल बोय थेमलाई नै निरन्तरता दिएको छ । यसको टप भेरियन्टमा १४ इन्चको अलोय ह्वील दिइएको छ भने, लो भेरियन्टमा १३ इन्च ह्वील दिइएको छ । यसको एक्सटेरियर डिजाइन निकै नै आकर्षक रहेको छ । यस्तै, नयाँ सेन्ट्रोमा सुरक्षाका लागि एबीएस, इबीडी, ड्राइभर-साइड एयरब्याग, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी डोर लक जस्ता सेफ्टी फिचर दिइएको छ । सेन्ट्रोमा १.१ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । जसले ६९ पीएस पावर र ९९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड म्यानुअल र एएमटी गियरबक्स दिइएको छ ।