‘फोर नेसन्स कप’ मा नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्ने
News Desk
Jan-14 तारिख 07:46 बिहान

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु मैदान दशरथ रङ्गशालामा खेल्न लागेको ‘फोर नेसन्स कप’ मा पहिलो खेल किर्गिस्तानसँग खेल्ने भएको छ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज (सोमवार) सार्वजनिक गरेको खेल तालिकाअनु्सार आगामी फागु्न ५ गतेदेखि १४ गतेसम्म हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानसँग प्रतिष्पर्धा गर्ने भएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल फागुन ५ गते साँझ साढे ५ खेलाइनेछ। 

एन्फाले फिफा अन्तरराष्ट्रिय खेल विन्डोको समयमा प्रतियोगिता गर्न लागेको हो। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यान्मारले प्रतिष्पर्धा गर्नेछन।

खेल तालिकाअनुसार नेपालले दोस्रो खेल फागुन ८ गते लेबनानसँग र तेस्रो खेल फागुन ११ गते म्यान्मारसँग खेल्नेछ।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि अंक तालिकाका शीर्ष २ टोलीले उपाधिका लागि फाइनल खेल्नेछन।

एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एशियन कप–२०२६ को छनोटको तयारीका रूपमा लिएको छ।