भेनेजुएलाले कोलम्बियासँगको कूटनीतिक सम्बन्ध तोड्यो

0
36
venejuala

काराकस— फागुन १३।

सीमा क्षेत्रमा हिंसा बढेपछि भेनेजुएला सरकारले कोलम्बियासँग कूटनीतिक सम्बन्ध तोडेको छ । भेनेजुएलाका लागि पश्चिमी मुलुकले पठाएको सहायता सामग्री सीमामा अड्किरहेकै वेला सरकारले कोलम्बियासँग कूटनीतिक सम्बन्ध तोडेको हो । रष्ट्रपति निकोलस मदुरोले सहायता सामग्री भित्रिन नदिन कोलम्बियासँग जोडिएका सबै सिमाना आंशिक रूपमा बन्द गर्न निर्देशन दिएको दुई दिनपछि कूटनीतिक सम्बन्ध तोडेका हुन् ।

मदुरोले भने, ‘मैले कोलम्बिया सरकारसँगको राजनीतिक तथा कूटनीतिक सबै सम्बन्ध तोड्ने निर्णय गरिसकेको छु । भेनेजुएलास्थित कोलम्बियाको राजदूतावासका सबै कर्मचारीले आगामी २४ घन्टाभित्र भेनेजुएलाबाट फर्किऊन् ।’ सरकारले विदेशी सहयोगको नाममा देशमा सैन्य हस्तक्षेप हुन लागेको भन्दै सहयोग अस्वीकार गर्ने निर्णय गरेको छ । गत महिना सडकबाट आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका हुवा गुएइदोले देशमा खाद्यान्नलगायतका दैनिक उपभोग्य सामग्रीको चरम अभाव भएपछि विदेशीसँग सहयोगको अपिल गरेका थिए ।

भेनेजुएलामा सरकार र विपक्षीको खिचातानीबीच सहयोगका लागि ल्याइएको खाद्यान्न तथा औषधिजन्य सामान प्रवेशमा राष्ट्रपति निकोलस मदुरोले रोक लगाएपछि सीमा क्षेत्रमा झडप भएका छन् । गुएइदो समर्थकहरूले सहायता सामग्री स्वदेश ल्याउन चाहन्छन् भने मदुरो समर्थकले त्यसको विरोध गरिरहेका छन् ।

प्रदर्शनकारीले चौकी, सुरक्षाकर्मी र दंगा नियन्त्रक प्रहरीमाथि ढुंगामुढा गरेका छन् । भेनेजुएला र कोलम्बियाको सिमानामा खटिएका भेनेजुएलाका केही सैनिकले चौकी छोडेर भागेको कोलम्बियास्थित मानवअधिकारवादी समूहहरूले बताएका छन् । गुएइदोेले सरकारविरोधी अभियानमा ‘दुर्लभ साहस’ देखाएको भन्दै आफ्ना समर्थकहरूको सामाजिक सञ्जालमा प्रशंसा गरेका छन् ।

मदुरो समर्थकले कोलम्बियाको सीमामा रहेको एउटा पुलमा अवरोध सिर्जना गर्दै खाद्यान्न र औषधि बोकेका दुई ठूला ट्रकमा आगो लगाइदिएपछि सहायता सामग्री बोेकेका अन्य चार सवारीसाधन कोलम्बियातर्फ नै फर्किएका छन् । सहयोगस्वरूप आएको सामग्री भित्र्याउने क्रममा सरकारी सुरक्षाकर्मीले रोकेपछि विपक्षी आन्दोलनकारी समूहले बलपूर्वक सामान भिœयाउने क्रममा झडप भएको हो । झडपमा कोलम्बिया र ब्राजिल क्षेत्रमा चारजनाको मृत्यु भएको र करिब ३ सयजना घाइते भएको कोलम्बियाली अधिकारीले जनाएका छन् । अश्रुग्यासको प्रभावका कारण कतिपय आन्दोलनकारीको आँखाको ज्योति गुमेको बताइएको छ ।

राष्ट्रपति मदुरोले आफ्नो देशमा संकट नरहेको र मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले भेनेजुएलामा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।
गुएइदोले शनिबारबाट दशौँ हजार स्वयंसेवकका सहायताले देशमा खाद्य तथा औषधिजन्य सहायता भिœयाउने बताए पनि सेनाको कडा निगरानीले यो लगभग असम्भव बनेको छ । यसैबीच भेनेजुएलालाई सहयोग गरेको रुसले समेत अमेरिकाले राहतका नाममा षड्यन्त्र गरेको आरोप लगाएको छ । देशमा संकट रहेको स्वीकार नगरे पनि गत साता मदुरो सरकारले रुसबाट ३ सय टन सहायता सामग्री भेनेजुएला भित्र्याउने घोषणा गरेको थियो ।

(नयाँ पत्रिका)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here