वाराणसीमा नरेन्द्र मोदीलाई पराजित गर्लान् त तेजबहादुरले ?

0
94
tej bahadur

वाराणसी— बैशाख १७ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो पटक सरकारको नेतृत्व गर्ने तयारीका साथ चुनावी मैदानमा उत्रिएका छन् । उत्तर प्रदेशको वाराणसीबाट उनले लोकसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

मोदीका लागि चुनावी प्रतिश्पर्धा यसपटक त्यति सहज छैन । किनकि, यसपटक ‘मोदी शासन’ कै शिकार भएका भनिएका एक पूर्व सैनिकले उनीविरुद्ध उम्मेदवारी दिएका छन्, जसलाई समाजवादी पार्टीले सो क्षेत्रका लागि आफ्नो आधिकारिक उम्मेदवार बनाएको छ ।

‘बोर्डर सेक्युरिटी फोर्स’ (बीएसएफ) का पूर्व जवान तेजबहादुर यादव सुरुमा निर्दलीय उम्मेदवार बन्ने योजनामा थिए । तर उनलाई समाजवादी पार्टीले आफ्नो उम्मेदवार बनायो । उत्तर प्रदेशमा समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीले चुनावी गठबन्धन गरेका छन् । त्यसैले तेजबहादुर उक्त गठबन्धनका साझा उम्मेदवार बनेका छन् । यद्यपि अर्को विपक्षी घटक कांग्रेसले छुट्टै उम्मेदवार खडा गरेका कारण मोदीलाई पराजित गर्न त्यति सहज नहुने विश्लेषकहरु बताउँछन् ।

त्यसो त, समाजवादी पार्टीले यसअघि शालिनी यादवलाई सो क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । मोदीले पछिल्ला दिनमा पाकिस्तानविरुद्धको सैन्य कारवाहीलाई चुनावी मुद्दा बनाएर प्रचारप्रसार गरेका कारण समाजवादी पार्टीले ‘मोदी शासन’ मै प्रतिशोधको शिकार बनाइएका पूर्व सैनिकलाई उम्मेदवार बनाएर मोदी सरकारको भण्डाफोर गर्ने रणनीतिका साथ तेजबहादुरलाई आधिकारिक उम्मेदवार बनाएको हो ।

सन् २०१७ मा उनले एक भिडियोमार्फत गुनासो सार्वजनिक गरेका थिए । ब्यारेकभित्र जवानलाई दिइने खानाको गुणस्तरबारे उनको गुनासो थियो । उनको सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उक्त भिडियो सार्वजनिक गर्नुको कारण प्रष्ट पार्दै तेजबहादुरले भने, ‘एउटा विश्वासका साथ मैले आफ्ना कुरा भिडियोमार्फत राखेको थिएँ, मलाई मात्र होइन, देशवासी सबैलाई विश्वास थियो कि हामीले एउटा राम्रो प्रधानमन्त्री पाएका छौं, सुधारका काम गर्न प्रधानमन्त्रीजीले बारम्बार सबैलाई सार्वजनिक रुपमा आह्वान गर्दै आउनु भएको थियो, उहाँले आफूलाई सहयोग गर्न भन्दै आउनु भएको थियो ।’

प्रधानमन्त्रीले सुधारका लागि पहल गरेको ठानेर नै आफूले आफ्नो ब्यारेकभित्र खानामा भएको भेदभाव र अनियमितताबारे गुनासो गरेको उनको भनाइ थियो । ‘प्रधानमन्त्रीले केही गर्नुहुन्छ भन्ने विश्वासका साथ मैले आफ्ना कुरा राखेको थिएँ,’ उनले भने, ‘तर मैले के पाएँ ? मलाई बर्खास्त गरियो, मेरो परिवार आर्थिक संकटमा जेलियो, मलाई पेन्सनसमेत दिइएन, जनवरीमा मेरो छोराको पनि मृत्यु भयो ।’

तेजबहादुरमाथि सेनाको अनुशासन तोडेको आरोप लगाइएको थियो । सोही आरोपमा उनलाई बीएसएफबाट बर्खास्त गरिएको थियो । ‘म मान्छु कि मैले अनुशासन तोडेँ,’ उनले भने, ‘तर मैले २१ वर्ष काम गर्दा जम्मा भएको कोषको रकम त दिनुस्, पेन्सन त दिनुस् । जसले अनियमितता गरेको छ, उसलाई दण्ड त दिनुस्, उल्टै भ्रष्टाचारलाई संरक्षण गर्नु भएको छ ।’

मोदीले सेनामाथि राजनीति गरेको आरोप तेजबहादुरको छ । ‘प्रधानमन्त्रीजी देशको सुरक्षा अवस्था मजबुत भएको छ भनेर भाषण गर्दै हिँड्नु हुन्छ तर ९९७ जवानले आत्महत्या गरेका छन्, ७७५ जवान शहीद भएका छन्, त्यो खै त भनेको ?’

समाजवादी पार्टीले तेजबहादुरलाई उम्मेदवार बनाएकोमा आम आदमी पार्टीले स्वागत गरेको छ । कांग्रेसले भने उनको उम्मेदवारीबारे कुनै प्रतिक्रिया दिएको छैन । तेजबहादुर भन्छन्, ‘मलाई कांग्रेसले पनि समर्थन गर्नेमा विश्वस्त छु ।’

(एजेन्सी/ईमेज खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here