सरकारको हस्तक्षेप डरलाग्दो — सांसद गगन थापा

0
35
gagan thapa

काठमाडौँ — असार १

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सरकारले ल्याएको सूचना प्रविधि विधेयकविरुद्ध उत्रिन आव्हान गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै उनले अभिव्यक्ति स्वतन्त्रता कुनै व्यक्ति विशेष र दल विशेषका लागि मात्रै नभएकाले आन्दोलनको प्राप्तीलाई गुम्न नदिने जिम्मेवारी वहन गर्न आग्रह गरेका हुन् ।

चलचित्र समालोचक प्रनेश गौतम, धर्म संस्कृतिको संरक्षणको माग गर्ने गुठीयारहरुलाई गरेको जस्तै व्यवहार सरकारले जो कसैलाई पनि गर्न सक्ने भन्दै उनले सबैले सचेत हुनुपर्ने बताए । मन नपरेकाको मुख थुन्दै गएको भन्दै उनले सरकारमै रहेर विधेयकको विरोध गर्नेहरु पनि सरकारको गलत दृष्टिबाट बच्न नसक्ने दाबी गरे ।

‘म त भन्छु, प्रधानमान्त्रीको पार्टी भित्र रहेर फरक मत राख्ने साथीहरु पनि होसियार हुनुहोला, किनकी यहाँ अव कोही पनि सुरक्षित छैन,’ उनले भने, ‘यो कानुन पारित भइसकेपछि कसरी प्रयोग हुनसक्छ, हामी अहिले अनुमान लगाउन सक्छौ । यहाँ केबल सरकारका अरिंङगालहरु मात्र सुरक्षित रहन सक्छन् ।’

उनले लेखक ब्रजेश खनालको कविता उदृत गरेर संसदमा सुनाए,
‘तँ बोल त्यति मात्र, जे म सुन्न चाहन्छु्,
तँ हेर त्यत्ति मात्र जे म देखाउन चाहन्छु,
तँ सुन त्यत्ति मात्र जे म सुनाउन चाहन्छु,
तेरे स्वतन्त्रताको घेरा मैले कोरेको शुन्य भन्दा बाहिर छैन,
किनकी मलाइ चिनेको छस ?
म हुँ तेरो सरकार’

सूचना प्रविधि विधेयक संसदबाट बहुमतको बलमा पारित गरियो भने सबैका लागि लागु हुने भन्दै उनले ‘यो कानुन मेरा लागि होइन भनी सोच्ने हो’ भने एकदिन जर्मन कवि मार्टिन निमोरले भने जस्तै अवस्था श्रृजना हुने दाबी गरे ।

उनले जर्मन कवि मार्टिनको कविताको हरफ उल्लेख गर्दै भने, ‘पहिले उनीहरु समाजवादीलाई लिन आए । म बोलिनँ । किन कि म समाजवादी थिइन । उनीहरु ट्रेड युनियनकर्मीलाई लिन आए, म बोलिनँ । किन कि म ट्रेड युनियनकर्मी थिइनँ । उनीहरु जुजलाई लिन आए । म बोलिनँ किन कि म जुज थिइनँ । जब उनीहरु अन्तिममा मलाई लिन आए, मेरा लागि बोल्न बाँकी कोही थिएन ।’

उनले भने, ‘सम्माननीय सभामुख महोदय, यस्तै अवस्था आउँदै छ । उठौ ,बोलौ, जागौं, सरकारको यो कानुनविरुद्ध अहिले हो बोल्ने बेला । यो कानुन यो संसदबाट पारित हुनु भनेको संविधानको खिलाप मात्रै होइन । हाम्रो आन्दोलनको, अभिव्यक्ति स्वतन्त्रताको खिलापमा हो । त्यसैले म यो कानुनको विरुद्ध जनमत श्रृजना गर्न सबैलाई अनुरोध गर्दछु ।’

स्वतन्त्रताको अर्थ स्वच्छन्दता होइन भन्दै अघि बढेको हस्तक्षेपकारी सरकारको प्रवृति नै डरलाग्दो भएको उनले टिप्पणी गरे । ‘सरकारी संरक्षणमा व्यक्तिको आत्मसम्मान ध्वस्त गर्ने गरि गाली बेइजती गरिरहन पाउने,’ उनले भने, ‘तर सरकारलाई मन नपर्दा गाली बेइजती र शिष्टाचार वा नैतिकताको नाममा जुनबेला मन लाग्यो मुख थुन्न पाउने गरि कानुन सरकारले बनाउन लागेको छ ।’

अस्पष्ट कानुनी व्यवस्थाले अभिव्यक्तिको स्वतन्त्रतामा बन्देज लगाउने भन्दै भारतको सर्वोच्च अदालतले २०१५ मा सिंगल भर्सेस अफ इण्डियाको मुद्धामा २००२ मा बनेको भारतको सूचना प्रविधि ऐनको दफा ६६ ए लाई असंबैधानिक भन्दै खारेज गरेको उल्लेख गर्दै उनले नेपालमा भारतमा भन्दा कठोर कानुन बनाउन लागिएको दाबी गरे ।

‘नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद संसदबाट पारित गर्न खोजिएको सूचना प्रविधि विधेयक भन्छ कुनै पनि व्यक्तिलाई जिस्काउने , झुक्काउने, होच्याउने , हत्तोत्साही गर्ने, धम्क्याउने आशयले सामाजिक सञ्जालमा सन्देश सम्प्रेषित गरेमा ५ वर्ष कैद र १५ लाख सम्मको जरिवाना भोग्नुपर्नेछ,’ उनले प्रश्न गरे, ‘जिस्काउने, झक्काउने, होच्याउनेको परिभाषा के ?’

एकपछि अर्को गर्दै सरकारले ल्याएका पछिल्ला विधेयकबाट सरकारले आफुलाई सर्वशक्तिमान ठानेको उनले स्पष्ट पारे । उनले सनातनदेखि चलिआएको संस्कृतिको दायित्व बोकेको राज्यले गुठीलाई मासेर नेपालको सांस्कृतिक पहिचान सम्पदा मास्ने षडयन्त्रको विरुद्धमा बोल्ने मुख थुन्न लाठी र पानीको फोहोरा फ्याक्ने, गीत गाउने गायक, चलचित्रको समिक्षा गर्ने समिक्षक र संस्कृति बचाउको माग गर्ने विरुद्धको सरकारको हस्तक्षेप डरलाग्दो भएको बताए ।

अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोज्ने सरकारका प्रधानमन्त्रीले अभिव्यक्ति स्वतन्त्रताको महत्वका बारेमा अन्तराष्ट्रिय जगतमा भाषण गरेको भन्दै उनले व्यङ्ग्य गरे ।

(नयाँ पत्रिका)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here