sports
||Rajyadainik||

आजको समाचार

आईपीएलमा राजस्थानको आक्रामक सुरुआत, चेन्नई सुपर किंग्स १६ रनले पराजित

खेलकुद


शारजहाँ — आश्विन ७, २०७७। 

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गरेको छ । सन् २००८ मा आयोजित पहिलो संस्करणको विजेता राजस्थानले यस संस्करणको आफ्नो पहिलो खेलमा २ सय १६ रनको विशाल स्कोर बनाउँदै खेल जितेको हो ।

चेन्नईले ६ विकेट गुमाई २ सय रनमात्र बनाउन सक्यो । कप्तान महेन्द्रसिंह धोनीले अन्तिम ओभरमा टम कुरानलाई लगातार तीन छक्का प्रहार गरे पनि चेन्नईलाई दोस्रो खेलमा भने जित दिलाउन सकेनन् । फाफ डु प्लेसिसले लगातार दोस्रो अर्धशतक बनाउनेक्रममा ३७ बलमा ७२ रन जोडे पनि चेन्नईलाई राजस्थानको स्कोर निकै ठूलो भएको थियो ।

डु प्लेसिसले १ चौका र ७ छक्का प्रहार गरे । मुरली विजय २१, शेन वाटसन ३३, साम कुरान १७ र केदार जादब २२ रनमा आउट भए । धोनी १७ बलमा २९ रन बनाई अविजित रहे । राजस्थानका स्पिनर राहुल टेवाटिआले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै जोफ्रा आर्चर, श्रेयस गोपाल र टम कुरानले १–१ विकेट लिए ।

यसअघि शारजहाँ क्रिकेट रंगशालामा सन्जु सामसन र कप्तान स्टिभ स्मिथको सानदार अर्धशतकमा राजस्थान रोयल्सले ७ विकेट गुमाई २ सय १६ रनको विशाल स्कोर बनाएको थियो । टस हारेपछि ब्याटिङमा बोलाइएको राजस्थानबाट ओपनर स्मिथले ६९ र सामसनले ७४ रन बनाए ।

यी दुईले दोस्रो विकेटमा १० ओभरभित्र १ सय २१ रन जोडेका थिए । सामसनले ३२ बल खेल्दै १ चौका र ९ छक्कासहित ७४ रन बनाए । १९ औं ओभरमा आउट भएका स्मिथले ४७ बलको इनिङ्समा समान ४ चौका र छक्का प्रहार गरे । जोफ्रा आर्चर ८ बलमा २७ रन बनाई अविजित रहे । उनले लुङ्गी एनगिडीलाई इनिङ्सको अन्तिम ओभरमा लगातार चार छक्का प्रहार गरेका थिए, त्यसमा लगातार दुई नो–बल पनि रहेको थियो ।

चेन्नईका साम कुरानले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । उनका दाइ टम कुरानले राजस्थानबाट ९ बलमा अविजित १० रन बनाएका थिए । पीयूष चावला र दीपक चाहरले समान एक विकेट लिए ।

चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो ।

(कान्तिपुर दैनिक)

म्यानचेस्टर युनाइटेड लिगकपको चौथो चरणमा

खेलकुद


लन्डन —आश्विन ७, २०७७। 

म्यानचेस्टर युनाइटेडले मंगलबार लुटन टाउनलाई ३–० ले हरायो र लिकगपको चौथा चरणमा प्रवेश गर्‍यो । यस्तै वेस्ट ह्यामले पनि हल सिटीमाथि सजिलो ५–१ को जित निकाल्यो ।

तर पूरा दिन इंग्लिस फुटबल भने कोरोना भाइरस संक्रमणको महामारीले नराम्रोसँग प्रभावित रह्यो । वेस्ट ह्यामका व्यवस्थापक डेविड मोयस र उनका दुई खेलाडी खेल अगाडि संक्रमित भएको पुष्टि भएको थियो ।

त्यसैक्रममा खेल सुरु हुन अगाडि मोयस, जोस कलिन र इसा डिप तीनै जना लन्डन स्टेडियम छाडेर ‘आइसोलेसन’ मा गए । संक्रमणकै कारण टोटनहम र लेयटन ओरियन्टबीचको खेल पनि रद्द गरिएको छ ।

(कान्तिपुर दैनिक)

रोयल च्यालेन्जर्स बेंग्लोर विजयी

खेलकुद


दुबई — आश्विन ६, २०७७। 

रोयल च्यालेन्जर्स बेंग्लोरले सोमबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ । अन्तिम ५ ओभरमा ३२ रन बनाउँदा ६ विकेट गुमाउन पुगेपछि हैदराबाद पराजय भोग्न बाध्य भयो ।

१ सय ६४ रनको लक्ष्य लिएर आएको हैदराबाद १९.४ ओभरमा १ सय ५३ रनमा अलआउट भयो । युजभेन्द्र चाहलले ४ ओभरमा १८ रनमात्र खर्चेर ३ विकेट लिए । नवदीप सैनी र शिवम दुवेले २–२ तथा डेल स्टेयनले १ विकेट लिए । दुबई अन्तर्राष्ट्रिय रंगशालामा जोनी बेरस्टोको शटमा नन स्ट्राइकमा अर्का ओपनर एवं डेविड वार्नर रनआउट भएपछि नै हैदराबादको दुर्भाग्य सुरु भएको थियो । बलर उमेश यादवले फलो थ्रुमा बल रोक्न खोज्दा स्टम्पमा लागेपछि वार्नर ६ रनमा पेभेलियन फर्किए । मनिष पाण्डेले ३३ बलमा ३४ रन बनाउँदै बेरिस्टोसँग दोस्रो विकेटमा ७१ रन जोडे । चौथो नम्बरमा आएका प्रियम गर्गले १२ रन बनाएपछि अन्य कसैले दोहोरो स्कोर बनाउन सकेनन् ।

यसअघि ट्वान्टी–२० मा डेब्यु गरिरहेका देवदत्त पाडिक्कल तथा भेट्रान दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको बेंग्लोरले ५ विकेट गुमाई १ सय ६३ रन बनाएको थियो । ओपनर पाडिक्कलले ४२ बलमा ८ चौकासहित ५६ र डी भिलियर्सले ३० बलमा ४ चौका र २ छक्कासहित ५१ रन बनाए ।

पाडिक्कलले ओपनर आरोन फिन्चसँग पहिलो विकेटमा ११ ओभरमा ९० रन जोडे । फिन्चले २७ बल खेली १ चौका र २ छक्का प्रहार गरी २९ रन बनाए । कप्तान विराट कोहली १४ र शिवम दुबे ७ रनमा आउट भए । हैदराबादका विजय शंकर, अभिषेक शर्मा र टी. नटराजनले १–१ विकेट लिए ।

(कान्तिपुर दैनिक)

म्यानचेस्टर सिटीको प्रभावशाली जित

खेलकुद


लन्डन — आश्विन ६, २०७७। 

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्सलाई ३–१ ले हराएर प्रभावाली जित हासिल गरेको छ ।  गत सिजन उल्भ्सले लिगका दुवै खेलमा सिटीलाई हराएको थियो ।

यसका केभिन डे ब्रुएना, फिल फोडेन र ग्याब्रिएल जिससले गोल गरे । उल्भ्सका तर्फबाट सम्भव भएको एक गोल जिमिनेजको नाममा रह्यो ।

अर्को खेलमा एस्टन भिल्लाले १० खेलाडीमा सीमित सेफिल्ड युनाइटेडलाई १–० ले हरायो ।त्यसमा इजरी कोन्साले निर्णायक गोल गरे । सेफिल्डको यो लगातार दोस्रो हार हो र यससँगै उसले लिगमा खराब सुरुवात गरेको छ। भिल्लाको भने यो पहिलो खेल हो ।

एसी मिलान विजयी

मिलान– एसी मिलानले इटालीको सिरी ए नयाँ सिजनको आफ्नो पहिलो खेलमा बोलोग्नालाई १–० ले हराएको छ । मिलानका लागि दुवै गोल ज्लाटन इब्रामोभिचले गरे ।

(कान्तिपुर दैनिक)

सुपर ओभरमा दिल्ली विजयी

खेलकुद


दुबई — आश्विन ५, २०७७। 

दिल्लीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबारको रोमाञ्चक खेलमा किंग्स इलेभन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ । १ सय ५८ रनको विजय लक्ष्य लिएर आएको पन्जाबले ८ विकेट गुमाई १ सय ५७ रनमात्र बनाउन सकेपछि निर्णय सुपर ओभरमा पुगेको थियो ।

आईपीएल क्रिकेटको आइतबारको रोमाञ्चक खेलमा किंग्स इलेभेन पन्जाबको विकेट लिएपछि दिल्लीका खेलाडी । तस्बिर : बीसीसीआई
अन्तिम ओभरमा पन्जाबलाई विजयका लागि १३ रन चाहिने अवस्थामा मायंक अग्रवाल एक्लैले पहिलो ३ बलमा १२ रन बनाएका थिए । चौथो बलमा उनले कुनै रन बनाउन सकेनन् । अन्तिम दुई बलमा मार्कुस स्टोइनिसले अग्रवाल र क्रिस जोर्डनलाई आउट गरेपछि स्कोर बराबर (१५७) भएर सुपर ओभरमा पुगेको थियो ।

इलिमिनेटरमा दिल्लीका कागिसो राबाडाले पन्जाबका कप्तान केएल राहुललाई २ रनमा आउट गरे भने अर्को बलमा निकोलस पूरनलाई बोल्ड गरे । दिल्लीले ३ रनको लक्ष्य तेस्रो बलमै पूरा गरेको थियो ।

अग्रवालले ६० बल खेली ७ चौका र ४ छक्का प्रहार गर्दै ८९ रन बनाएर खेललाई अन्तिम ओभरको रोमाञ्चक अवस्थामा

पुर्याएका थिए । राहुलले २१ र कृष्णप्पा गोवथमले २० रन बनाए । करुण नैर १, पूरन शून्य, ग्लेन म्याक्सवेल १ रनमा आउट भए । छैटौं ओभर बलिङमा आएका रविचन्द्रन अश्विनले एकै ओभरमा नैर र पूरनलाई आउट गरेका थिए । तर काँधको चोटपछि उनले मैदान छाडेका थिए । उनीसँगै राबाडा र स्टाइनिसले पनि २–२ विकेट लिए। 

यसअघि टस हारेपछि ब्याटिङमा आएको दिल्लीले दुबई अन्तर्राष्ट्रिय रंगशालामा ८ विकेट गुमाई १ सय ५७ रन बनाएको थियो । अस्ट्रेलियन ब्याट्सम्यान स्टाइनिसले अन्तिम समयमा आक्रामक खेलेपछि दिल्लीको हेर्नलायक स्कोर बनेको थियो । उनले २१ बलमा ७ चौका र ३ छक्का प्रहार गरी ५३ रन बनाए । उनी १५ औं ओभरमा ब्याटिङमा आएका थिए र दिल्लीले इंग्लिस बलर जोर्डनको इनिङसको अन्तिम ओभरमा ३० रन जोड्दा स्टाइनिस एक्लैले दुई छक्का र लगातार तीन चौकासहित २५ रन जोडेका थिए । इनिङ्सको पाँचौं बलमा उनी आउट भएका थिए ।

दिल्लीको सुरुआत निकै दयनीय थियो । दोस्रो ओभरमा शिखर धवन शून्यमा आउट भए । अर्का ओपनर पृथ्वी शले पनि ९ बल खेली ५ रनमात्र बनाउन सके । माथिल्लोक्रममा पठाइएका सिमरन हेटमायरले पनि १३ बलमा ७ रनमात्र बनाउन सके । कप्तान श्रेयस ऐर र ऋषभ पन्तले मात्र पन्जाबको बलिङमा आत्मविश्वास देखाउन सकेका थिए । पन्तले २९ बलमा ४ चौकासहित ३१ र आयरले ३२ बलमा ३ छक्कासहित ३९ रन बनाए ।

नेपालका स्पिन स्टार सन्दीप लामिछानेलाई दिल्लीले प्लेइङ ११ मा राखेको थिएन । दिल्लीले अश्विन र अक्षर पटेल गरी दुई स्पिनरमात्र खेलाएको थियो । प्रमुख तीब्र बलर इशान्त शर्मा घाइते रहेकाले राबाडासँगै अर्का दक्षिण अफ्रिकी बलर एनरिच नोर्टजेलाई खेलाएको थियो ।

(कान्तिपुर दैनिक)

वेस्ट ह्यामविरुद्ध आर्सनल विजयी, क्रिस्टल प्यालेसले म्यानचेस्टरलाई हरायो

खेलकुद


लन्डन — आश्विन ४, २०७७। 

मिखेल आर्टेटाको आर्सनलले शनिबार राति वेस्ट ह्यामलाई २–१ ले हराएर इंग्लिस प्रिमियर लिगमा लगातार सुरुवाति दुई खेल जितेको छ । आर्सनलका लागि एडी केटिहले खेलको अन्त्यतिर निर्णायक गोल गरे ।

यसपल्ट आर्सनलसँगै एभरटन र क्रिस्टल प्यालेसले सुरुवाति दुई खेल जितेका छन् । आर्सनलले एलेक्जान्डर लेकाजेटको गोलले अग्रता लिएयता वेस्ट ह्यामका लागि मिखाइल एन्टोनियोले बराबरी गोल फर्काएका थिए ।

यसअघि म्यानचेस्टर युनाइटेड भने सिजनको आफ्नो पहिलो खेलमा प्यालेससँग घरमा ३–१ ले पराजित रह्यो । विलफ्रेड जाहाले दुई गोल गरेपछि प्यालेस यो जित निकाल्न सफल भएको हो ।

यस्तै अर्को खेलमा लिड्स युनाइटेडले फुलहमलाई ४–३ ले पन्छायो ।

(कान्तिपुर दैनिक)

आईपीएलको उद्घाटन खेलमा चेन्‍नाई विजयी

खेलकुद


डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित

अबुधाबी — आश्विन ४, २०७७। 

सुस्त सुरुवात लिएको चेन्नाइले पछि आक्रामक खेल प्रदर्शन गर्दै इन्डियन प्रिमियर लिगमा शनिबार डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको छ ।

जितका लागि १ सय ६३ रन पछ्याइरहेको चेन्नाइले चार बलको खेल बाँकी छँदै आवश्यक रन बनाएको थियो । चेन्नाईका लागि अम्बाती रायडुले सर्वाधिक ७१ रन बनाए । यस्तै फाफ डु प्लेसिस ४४ बलमा ५५ रन बनाएर नटआउट रहे ।

यसअघि मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । त्यसमा शौरभ तिवारीले सर्वाधिक ४२ रन बनाए । गत वर्षको प्रतियोगितामा मुम्बईले चेन्नाईलाई नै हराएर उपाधि जितेको थियो ।

(कान्तिपुर दैनिक)
 

कोरोनामै एन्फामा तलब वृद्धि

खेलकुद


काठमाडौँ — आश्विन ४, २०७७। 

कोरोना भाइसका कारण विश्वभरको खेलकुद गतिविधिमा धक्का लागेको छ। कोरोनाले ठप्प भएका अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू भर्खर सुरु हुने क्रममा छन्।

कोरोनाले निम्त्याएको आर्थिक संकटका कारण फुटबलका हस्ती देशको राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीको तलबभत्तामा समेत व्यापक कटौती गरिएको छ। खेलकुदसँगै अन्य क्षेत्रमा रोजगारीको अवसर गुमेको अवस्था छ। विश्व फुटबलमा राम्रो आम्दानी गरिरहेका क्लब र खेलाडी पनि आर्थिक हिसाबले मारका परेका छन्।

तर, अन्तर्राष्ट्रिय सफलताका हिसाबले शून्य बन्दै गएको नेपाली फुटबललाई कोरोनाले कत्ति पनि नछोएको भान भएको छ। कोरोना संक्रमणकैबीच अखिल नेपाल फुटबल संघ ९एन्फा० ले एन्फाका कर्मचारी र खेलाडीको तलबभत्तामा वृद्धि गर्ने तयारी गरेको छ।

एन्फाले कर्मचारी र खेलाडीको तलबभत्ता वृद्धि गर्न लागेपछि महिला खेलाडीलाई पनि पुरुष खेलाडी सरह तलबभत्ता दिनुपर्ने माग उठेको छ। एन्फाले कर्मचारी र खेलाडीको तलबभत्ता बढाउन लागेकाले एन्फाअन्तर्गत महिला समितिले महिला फुटबल खेलाडीको सुविधा पनि पुरुष खेलाडी सरह हुनुपर्ने माग अगाडि सारेको छ।

एन्फाका सचिव एवं प्रवक्ता किरण राईले कर्मचारी र खेलाडीको तलबभत्तालगायत सुविधा बढाउने विषयमा एन्फा सचिवालयले गृहकार्य सुरु गरेको बताएको आजका अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

सेन्ट एटियन लिग वानको शीर्ष स्थानमा

खेलकुद


मार्से — आश्विन २, २०७७। 

लिग वानमा सेन्ट एटियनले बिहीबार मार्सेलीलाई २–० ले हराएको छ । एटियनका लागस  रोमन हामोमा र डेनिस बोनगाले एक/एक गोल गरे । सन् १९७९ यता सेन्ट एटियनले मार्सेलाई उसकै घरमा हराएको यो पहिलो पल्ट हो ।

आन्द्रे भिलास बोएको टिमका लागि हार ठूला धक्काका रूपमा रहेको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको खेलमा झगडाका कारण रातो कार्ड पाएका कारण मार्सेलीका लागि दुई प्रमुख खेलाडी फरवार्ड डारियो बेनेडेटो र लेफ्ट ब्याक जोर्डन अमाभीले सेन्ट एटियनविरुद्ध खेल्न पाएन् ।

यसले मार्से टिम कमजोर देखिएको थियो । स्टेड भलोड्रोममा हजार दर्शकलाई भने प्रवेश दिइएको थियो । यो जितपछि सेन्ट एटियन लगातार तेस्रो जित निकाल्नै अंक तालिकाको शीर्ष स्थानमा उक्लिन पनि सफल भएको छ । उसको तीन खेलबाट नौ अंक छ ।

(कान्तिपुर दैनिक)

सन्दीपको प्रशंसा गर्दै पूर्वभारतीय क्रिकेटर

खेलकुद


नयाँदिल्ली — आश्विन १, २०७७।

आखिरमा धेरै उतारचढावपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन सुरुमा कुनै शंका रहेन । शनिबारदेखि प्रतियोगिता यूएईमा सुरु हुँदै छ ।

अहिलेसम्म जति पनि सम्भावना भएको टिम मानिए पनि दिल्ली क्यापिटल्सले प्रतियोगिता जित्न सकेको छैन । यस्तोमा यो तथ्य दिल्लीको समर्थकका लागि निराशाजनक छ । प्रत्येक नयाँ सिजन सुरु हुनुअगाडि चर्चा हुने गर्छ, यसपल्ट दिल्लीले केही गर्ने सम्भावना हुन्छ । तर सिजनको अन्त्यमा खाली निराशा मात्र हात लाग्ने गर्छ ।

सन् २०१८ को सिजन त दिल्लीका लागि निकै खराब रह्यो, लिग चरण समाप्तिमा यो टिम सबैभन्दा पुछारमा थियो । यो टिमसँग सम्बन्धित सबैले एक आपसमा यही प्रश्न गरेका थिए, ‘हामी कहाँनिर नराम्रोसँग चुक्यौं त ?’ जति मुख उति कारण भने जस्तै, दिल्लीको खराब प्रदर्शन पछाडि हजार कारण थिए, तर टिमको प्रदर्शन सुधारका लागि पनि हजार उपाय प्रस्तुत भए । कम्तीमा गत सिजन दिल्लीका लागि त्यति खराब रहेन । कम्तीमा टिमले फाइनल प्रवेशको सम्भावना त कायम राख्यो । अब यसपल्ट दिल्लीको क्रिकेट घेरामा चर्चा हुन सुरु भइसकेको छ, सन् २०२० को सिजन दिल्लीका लागि हुन सक्छ र यो दाबी पछाडि बलियो कारण उत्तिकै छन् । सबैको नजर सन्दीप लामिछानेमा पनि छ । केही भन्छन्, नेपालका यी लेग स्पिनरले टिममा मौका नै पाउने छैनन् । फेरि अर्काथरी के पनि भन्छन् भने दिल्लीलाई अहिलेसम्म हात नपरेको सफलता दिलाउने खेलाडी भनेकै यी त हुन्, सन्दीप ।

यो आईपीएल मेरा लागि धेरै महत्त्वपूर्ण हुनेछ  : सन्दीप लामिछाने
केही भारतीय मिडियाले दिल्लीको सम्भावनालाई लिएर क्रिकेट पण्डितहरूसँग कुरा गरेका छन् । त्यसमध्ये केही अविश्वसनीय रूपमा सन्दीपको पक्षमा छन् र तिनले खुलेर उनको समर्थनमात्र गरिहेका छैनन्, भनिरहेका छन्, ‘यी खेलाडी गज्जबका छन् ।’ सन्दीपले यति धेरै प्रशंसा बटुल्नु पछाडिको एउटा प्रमुख कारण हो, भर्खर सकिएको क्यारेबियन प्रिमियर लिग (सीपीए) मा राम्रो गर्नु । जमैका तलाबाजका लागि उनी सर्वाधिक विकेट लिने दोस्रो खेलाडी थिए ।

भारतका पूर्व अलराउन्डर अजित अगारकर मान्छन्, सन्दीप दिल्लीले खेलाउनुपर्ने चार प्रमुख विदेशी खेलाडीमध्ये एक हुन् । यस्तै राय छ, अर्का पूर्व खेलाडी आकाश चोपडाको । तय छ, सन्दीपले सुरुआती ११ मा पर्नका लागि दक्षिण अफ्रिकाका कागिसो रबाडा, वेस्ट इन्डिजका सिमरन हेटमायर र अस्ट्रेलियाका डानियल स्याम्सबाट चर्को प्रतिस्पर्धा सामना गर्नुपर्नेछ । सन्दीपसँग प्रतिस्पर्धा गर्नेमा एनरिक नोर्ट्जे, मार्कस स्टोइनिस र किमो पाउल पनि हुनेछन् ।

यस्तै अर्का पूर्व भारतीय खेलाडी दीपदास गुप्ता पनि सन्दीपको पक्षमा छन् । अझ अगारकरले त सन्दीपलाई प्रतियोगितामा दिल्लीकै लागि सबैभन्दा बढी ‘ब्रेक थु’ स्टार हुनसक्ने खेलाडी मान्छन् । उनी भन्छन्, ‘सन्दीप निकै अब्बल दर्जाका खेलाडी हुन् र उनको उपस्थितिले टिमको प्रदर्शनमा धेरै फरक पर्न सक्छ ।’ केही भारतीय पत्रकार पनि सन्दीपलाई के मान्छन् भने उनले दिल्लीका लागि पर्याप्त खेल्न पायो भने त्यो टिमकै फाइदामा हुनेछ ।

आईपीएलको निर्णायक सिजनमा सन्दीप
यिनै पूर्व खेलाडी र पत्रकार के पनि मान्छन् भने दिल्लीको टिमको ‘डेथ बलिङ’ भने कमजोर छ अर्थात इनिङ्सको अन्त्यतिर कसिकसाउ बलिङ गर्नसक्ने बलरको कमी छ, दिल्ली टिममा । पूरा टिमकै कुरा गर्ने हो टिमको सबैभन्दा बलियो पक्ष बलिङमै छ र त्यो हो, टिममा रहेका चार स्पिनर । क्रिकेट विश्लेषकहरू के मान्छन् भने यसपल्टको प्रतियोगितामा दिल्लीमा जत्तिको गतिला स्पिनर अन्यत्र छैनभन्दा पनि हुन्छ । यूएईको पिचमा धेरै ‘टर्न’ हुन्छ भने त्यसमा दिल्लीले खेलाउन हुने सबैभन्दा राम्रो विकल्प भनेकै सन्दीप हुन सक्ने छन् ।

फेरि यूएईको पिचको स्वभाव भारतीय पिचको तुलनामा धेरै फरक मानिन्छ । त्यहाँको पिचले स्पिनरलाई नै बढी सहयोग गर्ने मानिन्छ । धेरैभन्दा धेरै सम्भावना छ, दिल्लीले सकेसम्म बढी स्पिनरलाई खेलाउने । यस्तोमा सन्दीपले भारतीय टिमबाट खेलिरहेका अक्षर पटेलसँग कडा प्रतिस्पर्धा गर्न सक्नुपर्नेछ । अनि टिमले उपाधि जित्ने सम्भावना ? चोपडा दिल्लीकै खेलाडी हुन् । उनी मान्छन्, दिल्ली शीर्ष चारमा पर्ने मात्र छैन, यसले उपाधि जित्ने सम्भावना प्रचुर छ । उनी एक प्रकारले यसमा आत्मविश्वासी देखिन्छन् ।

(कान्तिपुर दैनिक)