मिस नेपाल २०२५ का लागि द हिडेन ट्रेजर र एभेन्टोज नेपालबीच भोटिङ साझेदारी सम्झौता सम्पन्न
News Desk
May-12 , 2025 तारिख 11:34 बेलुका

काठमाडौं, बैशाख २९ – नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२५ का लागि द हिडेन ट्रेजर र एभेन्टोज नेपालबीच डिजिटल भोटिङ साझेदारीसम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ।

बैशाख २८ गते सम्पन्न उक्त सम्झौताअनुसार, एभेन्टोज नेपाल मिस नेपाल २०२५ का लागि एक्सक्लुसिभ भोटिङ पार्टनर बन्नेछ। यस सहकार्यमार्फत प्रतियोगितामा सहभागी हुने प्रतिस्पर्धीहरूलाई पारदर्शी र प्रविधिमैत्री भोटिङ प्रणालीमार्फत जनसमर्थन प्राप्त गर्ने अवसर उपलब्ध हुने भएको छ।

एभेन्टोज नेपालले नेपालको सबैभन्दा प्रतिष्ठित र इतिहास बोकेको सौन्दर्य प्रतियोगितासँग आबद्ध हुन पाएकोमा गहिरो गर्व र उत्साह व्यक्त गरेको छ।
“हामी द हिडेन ट्रेजरसँगको सहकार्यमा मिस नेपाल २०२५ को गौरवपूर्ण यात्रामा सहभागी हुन पाउँदा अत्यन्तै उत्साहित र गर्वित छौं,” एभेन्टोज नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस डिजिटल भोटिङ प्रणालीले नेपाल तथा विदेशमा रहेका दर्शकहरूलाई आफ्ना मनपर्ने प्रतिस्पर्धीहरूलाई सजिलै भोट दिन सकिने सुविधा प्रदान गर्नेछ, जसले प्रतियोगितामा पारदर्शिता र सहभागिता दुवैलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

द हिडेन ट्रेजरले पनि यस साझेदारीप्रति स्वागत व्यक्त गर्दै उक्त सहकार्यले प्रतियोगितामा दर्शकको सहभागिता अभूतपूर्व रूपमा वृद्धि गर्ने र परम्परागत प्रणालीमा नवीनता ल्याउने विश्वास व्यक्त गरेको छ।

यो वर्षको मिस नेपाल प्रतियोगिता डिजिटल भोटिङ मार्फत ऐतिहासिक जनसहभागिता रहने अपेक्षा गरिएको छ, जसको प्रविधि एभेन्टोज नेपालले उपलब्ध गराउनेछ।