News Desk
धनगढी । मोडलिङ, प्रतिभा, आत्मविश्वास तथा व्यक्तित्व विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको ‘मिस लिटिल एन्ड टिन फारवेस्ट नेपाल २०२६’ को ग्रान्ड फिनाले सम्पन्न भएको छ। फिनालेमा विभिन्न विधाका विजेताहरू घोषणा गरिएको छ।
प्रतियोगिताको ग्रान्ड विनरको उपाधि परिधि दाहालले जितेकी छन्। त्यस्तै, मिस टिन ग्लोबल इन्टरनेसनल नेपालको उपाधि बिन्दु जोशीले हात पारेकी छन्।
यसैगरी, मिस टिन फारवेस्ट नेपाल २०२६ को उपाधि प्रतिभा खड्काले जितेकी छन् भने मिस लिटिल फारवेस्ट नेपाल २०२६ को उपाधि प्रिन्शिका भण्डारीले प्राप्त गरेकी छन्। प्रतियोगितामा निर्मला बम र विशेषता खड्का रनरअप घोषित भएका छन्।
प्रतियोगितामा सहभागीहरूलाई ग्रान्ड फिनालेअघि २२ दिनसम्म विशेष प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षणका क्रममा सहभागीहरूलाई मोडलिङ वाक, स्टेज प्रस्तुति, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, फोटोसुट, प्रतिभा प्रस्तुति तथा सञ्चारसम्बन्धी विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रशिक्षणले सहभागीहरूमा स्टेजमा प्रस्तुत हुने आत्मविश्वास, अनुशासन तथा व्यक्तित्व विकाससँगै मोडलिङसम्बन्धी आधारभूत र व्यावहारिक सीप विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
‘ब्युटी • ट्यालेन्ट • कन्फिडेन्स • कल्चर’ अर्थात् सौन्दर्य, प्रतिभा, आत्मविश्वास र संस्कृतिलाई मुख्य अवधारणा बनाएर आयोजना गरिएको प्रतियोगिताको उद्देश्य बालबालिका तथा किशोर-किशोरीमा लुकेर रहेका प्रतिभाको पहिचान गर्नुका साथै उनीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा सौन्दर्यलाई मात्र प्राथमिकता नदिई सहभागीहरूको प्रतिभा, आत्मविश्वास, प्रस्तुति क्षमता, अनुशासन तथा व्यक्तित्व विकासलाई समेत महत्व दिइएको आयोजकको भनाइ छ। प्रतियोगिताले सहभागीहरूलाई आफ्नो क्षमता पहिचान गर्न र भविष्यमा मोडलिङ तथा सिर्जनात्मक क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
२२ दिनको प्रशिक्षणपछि सहभागीहरूले ग्रान्ड फिनालेमा आफूले सिकेका सीप तथा प्रतिभा प्रस्तुत गरेका थिए। विभिन्न चरणमा सहभागीहरूको प्रस्तुति, आत्मविश्वास तथा प्रतिभाका आधारमा विजेता र उपविजेता छनोट गरिएको आयोजकले जनाएको छ।
ग्रान्ड फिनालेसँगै विजेताहरूलाई आगामी दिनमा विभिन्न मोडलिङ गतिविधि, व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण तथा अन्य सिर्जनात्मक कार्यक्रममा सहभागी गराउने तयारीसमेत भइरहेको आयोजकले जनाएको छ।
प्रतियोगिताले सुदूरपश्चिममा बालबालिका तथा किशोर-किशोरीको प्रतिभा पहिचान, व्यक्तित्व विकास र क्षमता अभिवृद्धिका लागि थप अवसर सिर्जना गर्ने आयोजकको विश्वास छ। प्रतियोगितामा सहभागी सबैलाई आगामी दिनमा आफ्नो प्रतिभा र क्षमतालाई निरन्तरता दिन आयोजकले शुभकामना दिएको छ।