रामजी ज्ञवालीद्वारा निर्देशित छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक
News Desk
Aug-23 , 2020 तारिख 05:31 बेलुका

काठमाडौँ — भाद्र ७, २०७७। 

छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरिएको छ ।

एक दशकदेखि कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीको निर्देशनमा तयार भएको उक्त चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन् ।

त्यस्तै तनुजा कार्की, निशाव लम्साल, युमी बरालले यसमा अभिनय गरेका छन्।

साहिल खान चलचित्र उद्योगका सर्वाधिक डिमान्डेड ट्रेलर मेकर हुन् ।

सूर्याले केही चलचित्रमा अभिनेत्रीको भूमिकामा काम गरिसकेकी छिन् भने क्रिजन गौतम नेपाली चलचित्र उद्योगका बाल कलाकार हुन् ।

सामाजिक यथार्थ घटनालाई ‘डार्क मुन’मार्फत देखाउन खोजिएको छ ।

एउटी आमाले सन्तानप्रतिको दायित्व बिर्संदा उनका सन्तानको भविष्य कतातर्फ जान्छ ? यसमा मन छुने तरिकाले देखाउन खोजिएको छ । 

निर्देशक ज्ञवाली भन्छन्, ‘यो समाजको यथार्थ तस्बिर हो, जुन भिडियोबाट देखाउन खोजिएको छ । यो हेरिसकेपछि हरेक आमाबुबाले के सोचिदिनुपर्छ भने, आफ्ना सन्तान आफ्नै कारण घरवारविहीन नहुन्। आफ्नो व्यक्तिगत खुसीका लागि सन्तानको भविष्य अन्धकार नहोस् भन्ने सन्देश दिनु यसको उद्देश्य हो ।’

डार्क मुनको कथा नेपाली चलचित्र उद्योगको सफल चलचित्र लेखक प्रदीप भारद्वाजले लेखेका हुन्।

कृष्मा गौतम र सारा भुर्तेलले निर्माण गरेको यो चलचित्रलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्।

चलचित्रमा सुदीप बरालको डिओपी, एलिश कार्कीको ब्याकग्राउन्ड स्कोर, विशाल निरौलाको गायन तथा संगीत, साहिल खानको सम्पादन छ । 

चलचित्रलाई द सेलिब्रेटी टाइम्सले प्रस्तुत गरेको हो। द सेलिब्रेटी टाइम्सकै युट्युब च्यानलमार्फत यो चलचित्र सार्वजनिक गरिएको छ ।

शुक्रबार मात्रै यसको टिजर सार्वजनिक गरिएको थियो । 

‘डार्क मुन’ निर्देशक ज्ञवालीले यसअघि ‘लकडाउन’नामक छोटो चलचित्र सार्वजनिक गरेका थिए ।