काठमाडौँ: किरात राईहरुको मौलिक संस्कार, संस्कृति, रीतिरिवाजमा आधारित चलचित्र 'यारी' बेलायतमा प्रदर्शन हुने भएको छ । यो चलचित्रको बेलायत प्रदर्शनको व्यवस्थापन भने किरात राई यायोक्खा बेलायतले गरेको हो।
चलचित्र आउँदो ४ मार्चका दिन लन्डनको अल्डरसटस्थित प्रिन्सेस हलमा प्रदर्शन हुन लागेको किरात राई यायोक्खा बेलायतका केन्द्रीय कार्यसमितिका अध्यक्ष मेजर योगेश कोयी राईले जानकारी दिए । चलचित्र हेर्नको लागि उमेर समूह अनुसार १०, १५, २५ र ३५ पाउन्ड शुल्क तोकिएको छ । चलचित्रको निर्देशन, पटकथा र छायांकन बीरबहादुर राई (युवराज)ले गरेका हुन् । यो चलचित्रमा किराती संस्कृतिलाई जिवन्त उतार्न खोजिएको छ । गाउँमा आउने विकासले संस्कार तथा संस्कृतिलाई मेट्दै गएको तितो यथार्थ चलचित्रमा त्यसलाई इंगित गरिएको निर्देशक राईले बताएका छन् ।
चलचित्र सिलिचुंग फिल्मले निर्माण गरेको हो भने निर्माताहरुमा प्रविन राई, दक्ष कुमार राई, गणेश गिरी र उर्मिला राई 'सरु' रहेका छन्।
त्यस्तै, चलचित्रमा राईहरुको कला, भेषभुषा, संस्कार, संस्कृतिहरु झल्काउदै अवको पुस्ताले सचेतरुपमा आफ्नो भाषा, संस्कार, संस्कृति, भेषभुषा, रीतिरिवाजलाई संरक्षण र संवर्द्धधन नगर्ने हो भने संकटमा पर्नेप्रति सचेत गराइएको निर्देशक राईले जानकारी दिए।
भोजपुर, खोटाङ र सोलुखुम्बू जिल्लाको विभिन्न ग्रामीण भेगमा छायांकन गरिएको यारीमा निर्भिक राई, विस्मिता राई, श्याम राई, जाइका राई लगायतको अभिनय छ ।
डक्टर किरात र पदम राईको संगीत रहेको चलचित्रको पार्श्व गायनमा रुपकुमार राई, मेलिना राई, निश्चल राई, भिषण राई र सुनिता थेगिम रहेका छन् । चलचित्रक नृत्य निर्देशन जनक राईले गरेका छन्।