News Desk
काठमाण्डौं । कवि तथा गीतकार मुकुन्द पौडेलले रुकुम जाजरकोट गीत सार्वजनिक गरेका छन् । पौडेलले आफनै मुकुन्द पौडेल नामको युट्युव च्यानलमार्फत सो गीत सार्वजनिक गरेका हुन् । गीतकार पौडेलको शब्द रहेको यो गीतमा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको वर्णन गरिएको छ। यस गीतमा गायक एवम् सङ्गीतकार सागर अधिकारीले मीठो गला दिनुभएको छ। हालै मुर्चुङ्गा डिजिटलमा रेकर्ड भएको यो गीत मानवीय संवेदनाले भरिएको छ। यस गीतले नेपाल सदा भूकम्पीय जोखिममा रहेको र त्यसबाट मुलुकले धेरै पटक ठूलो संख्यामा जन धनको क्षति ब्यहोर्दै आएको भावनालाई समेटिएको छ।
यो गीत हालै रुकुम जाजरकोट आसपासमा गएको भूकम्प र त्यसले पुर्याएको मानवीय र भौतिक क्षतिलाई देखेर त्यही भावनामा रचिएको गीतकार पौडेलले बताए । यस गीतमा स्वभावत भावुक र शलिन व्यक्तित्वका धनी मुकुन्दको चरित्र झल्किएको छ । सानै देखि नब्बे सालको भूकम्पको धेरै वर्णन सुनेका मुकुन्दले त्यसपछिका थुप्रै भूईचालोको पनि अनुभव गरेका छन्। भूईचालोबाट यो मुलुक धरै पटक मन कमाउने गरी हल्लिएको छ। ७२ सलको र हालै यसै ८० सालमा गएको भूकम्पले भने धेरै ठूलो मानवीय र भौतिक क्षति भएका घटनालाई उनी बिर्सन सक्दैनन। चार वटा कृतिका सर्जक मुकुन्दका हालसम्म आठवटा गीत रेकर्ड भएका छन् र दर्जनौं गीत रेकर्डको पर्खाईमा रहेका छन् । उनी भन्छन् 'नेपाल भूकम्पिय दृष्टिकोणले अति सम्बेदनशील राष्ट्र मानिएको हुँदा यस प्रकारका रचनाले सामाजिक रुपमा पनि केही जनचेतना जगाउनमा मद्धत पुर्याउने अपेक्षा छ'।
तनहुँ जिल्लाको रिस्ती बाहुन पोखरामा २०११ सालमा जन्मिएका मुकुन्द लामो समय सम्म नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा सेवारत रही केही वर्ष पहिले सेवानिवृत्त भएका थिए । सेवानिवृत्त भए पश्चात पौडेल साहित्यतिर जोडिन आईपुगेका हुन। त्यसो त पौडेलले सानैदेखि गीत कविता तिर झुकाव राख्दै आएका छन् ।