मधानी महोत्सवमा गोविन्दाको संगीत तथा नृत्य प्रस्तुति
News Desk
Mar-09 , 2024 तारिख 06:45 बिहान

बलिउड अभिनेता गोविन्दा अहुजाले शुक्रवार रौतहटको मौलापुर नगरपालिकामा आयोजित मधानी महोत्सवमा संगीत तथा नृत्य प्रस्तुति दिएका छन। गोविन्दाले महोत्सवमा मनोरञ्जन प्रदान गरे।

नगरपालिकालाई विश्व सम्पदा स्थलको रूपमा विकास गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवमा गोविन्दा विशेष पाहुनाका रूपमा सहभागी भएका हुन। उनले त्यहाँ आफू अभिनित चर्चित बलिउड फिल्मका गीत गाए, नाचे र संस्कृतका श्लोक पनि पाठ गरे।

पानी, बिजुली र जमिनको कर नलिने, स्कुल जाने किशोरीलाई साइकल र ल्यापटप दिने तथा विवाहमा केटीलाई आर्थिक सहायता प्रदान गर्ने नगरपालिकाको कामको गोविन्दाले प्रशंसा गरेका छन।

उनले नगरप्रमुख रीनाकुमारी साहलाई उक्त अवसरमा यो जनमुखी कार्यका लागि बधाई तथा शुभकामना समेत दिए। दुई हजार वर्ष पुरानो मानिने मधानीलाई विश्व सम्पदाको रूपमा विकास गर्न आफूले सघाउने वचन समेत गोविन्दाले दिए।

उक्त महोत्सवमा अभिनेता पल शाह, भोजपुरी अभिनेत्री नीलम गिरी र गायक रविराज साह, सुनिल पण्डित, प्रेम परियार, डान्सर भावना चौधरी, रचना शिवाकोटी‚ प्रीति पासवान लगायतका कलाकारले पनि प्रस्तुति दिएका छन।‍

महोत्सवलाई दिनेश डिसीले होस्ट गरेका थिए। डिसीका अनुसार गोविन्दाले उक्त अवसरमा महोत्सवमा सहभागीसँग भलाकुसारी समेत गरे। गोविन्दा शुक्रबार बेलुका भारत फर्किएका छन।

धेरै पढिएको