News Desk
फिल्म ‘कार्की साइँला’ भ्यालेन्टाइन डेको अवसर पारेर घोषणा गरिएको छ। कर्ण बहादुर फिल्म्स प्रालिको ब्यानरमा बन्ने यस फिल्मको निर्देशन राजेन्द्र बस्नेतले गर्नेछन्, भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन्।
बालकुमार राई र श्याम मगर निर्माता रहेको फिल्मको घोषणा शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै गरिएको हो। पोस्टरमा पहाडी भूगोलमा भारी बोकेर ओरालो हिँड्दै गरेको एक भरियाको चित्रण गरिएको छ, जसले फिल्म ग्रामीण जीवनको कथा बोकेको संकेत गर्छ।
निर्देशक बस्नेतका अनुसार फिल्ममा गाउँमा बस्ने आम मानिसको संघर्षपूर्ण जीवनलाई उतारिनेछ। "हाम्रो पात्र भरिया हो, जो गाउँभरिका मानिसहरूलाई सन्तुष्ट पार्दै, भारी बोकेर आफ्नो जीविकोपार्जन गर्छ," बस्नेतले भने।
फिल्मका छायाँकार डम्बरबहादुर राई हुन् भने कथा अजित लामिछानेले लेखेका छन्। पटकथा तथा संवाद अजित लामिछानेकै रहेको छ भने गीत जीवनाथ गौतमको रहनेछ। धनकुटाको सहिदभूमि गाउँपालिकाका विभिन्न स्थानमा छायांकन हुने यस फिल्मका लागि कलाकार छनोटको प्रक्रिया सुरु भइसकेको निर्माण टिमले जनाएको छ।