News Desk
पूर्वराजाको स्वागतका लागि जम्मा भएको भिडलाई भने चलचित्र ंमाग्ने राजांका लागि पनि कैद गरिएको छ।
केदार घिमिरे 'माग्ने बुढो'को मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को लागि विमानस्थलदेखि महाराजगञ्जसम्मको प्रदर्शनकारीको दृश्य खिचिएको छ।
विमानस्थल, गौशाला, चाबहिल, गोपिकृष्ण हल हुँदै महाराजगञ्जसम्मको स्वागत र जुलुसको दृश्य खिच्न फिल्मका ७ जना छायांकार खटाइएको थियो। स्वागत गर्न पुगेको भीडलाई ड्रोनलगायतका क्यामेराको मद्दतमा खिचिएको निर्माणटिमले नेपालखबरलाई जानकारी दिएको छ।
फिल्ममा धेरै भिड देखाउनु पर्ने भएकाले प्रदर्शनकारीको दृश्य खिचिएको फिल्मका लेखक सामीप्यराज तिमल्सेनाले जानकारी दिए।
‘फिल्मको लागि क्राउडको सिक्वेन्स छ। त्यही सिनको लागि भनेर खिचेका हौँ। राजाचाँहि खिचेका होइनौँ,’उनले भने।
आयोजकबाट स्वीकृतिसहितको पत्र लिएर यो दृश्य खिचिएको हो। खिचिएका दृश्य फिल्मको २ देखि ३ मिनेटसम्म प्रयोग गरिनेछ। तर, जुलुसमा खिचिएका पोस्टर र आवाज भने फिल्ममा समावेश हुने छैनन।
उनका अनुसार स्वीकृतिपछि एयरपोर्टमा २, गौशालामा २, चाबहिलमा २, गोपिकृष्ण हलदेखि महाराजगन्ज चोकसम्म एक क्यामेराले दृश्य खिचिएको थियो।
शिवरात्रीबाट फिल्म ‘माग्ने राजा’ छायांकन धमाधम भइरहेको छ। ऋषि लामिछानेको निर्देशन रहेको फिल्ममा केदारसहित वर्षा शिवाकोटी, शारदा गिरी, विल्सनविक्रम राई, शिशिर वाङदेल, मिस पबी, पुष्कर गुरुङलगायतको अभिनय छ।
आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गरिरहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र सामीप्यराज तिमल्सेनाको पटकथा छ। यो फिल्म आगामी वर्षको तीजमा रिलिज हुनेछ।