News Desk
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्नसके विदेशी भन्दा नेपाली चलचित्र चल्ने बताए । शनिबार आठौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्र्तगतको ‘संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग चलचित्रका कुरा’ विषयक सेसनमा उनले चलचित्र बनाउने विषय निर्माताको मात्रै नभएर समग्र चलचित्र उद्योग र देशसँग जोडिएको बताए । एउटा चलचित्र सफल भएको अवस्थामा निर्माता, निर्देशक र कलाकारसहित समग्र मुलुकलाई फाइदा हुने उनको भनाई थियो । उनले विश्व सम्पदा सूचीमा समावेश भएका नेपालका धरोहरलाई समेटर चलचित्र उधोगीहरू अघि बढ्न सकेको अवस्थामा नेपालको पर्यटन क्षेत्रलाई अन्तराष्ट्रिय स्थरमा पुर्याई त्यसबा लाभ लिन सक्ने बताए । उनका अनुसार, चलचित्रकर्मीहरू साँघुरो मानसिकता भन्दा माथि उठेर फराकिलो सोच राखेर अगाडी बढ्नुपर्छ । नेपालको चलचित्र क्षेत्रमा लगानी गर्न आउनेहरुलाई सहज वातावरण बनाउन सदैव तयार रहेको पाण्ेले बताए ।
निर्माताले चलचित्र राम्रो चल्ने वातावरण बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने बताउदैँ राज्य सबैको अभिभावक रहेको स्पष्ट पारे । उनले भने, चलचित्र राम्रो चल्दा सबैलाई सहज हुने र आम्दानीको स्रोत अगाडि बढ्ने छ । चलचित्र निर्माणका लागि मन्त्रालय आउँदा सधैं सबैको लागि ढोका खुल्ला रहेने पनि उनले बताए । उनले निति नियम सहित चलचित्र खिच्न अनुमति लिने, भाषा र मन्त्रालयगत कामहरूमा कुनै पनि ढिला नहुने पनि बताए ।
मन्त्री पाण्डेले चलचित्रबाट देशभक्तिको गाथा उजागर गर्ने गरि राज्यले समेत सोच्नु पर्ने अवस्था रहेको बताए । उनले निराशा र नकारात्मकको भाष्य नभई मुलुक बन्छ भन्ने भाष्यसहित चलिचित्र क्षेत्र अघि बढ्नुपर्नेमा जोड दिए । उक्त कार्यक्रमको सहजीकरण निमा काफ्ले गरेकी थिइन् ।