राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड–२०८२ को फर्म भर्ने म्याद जेठ ५ सम्म
News Desk
Apr-28 , 2025 तारिख 02:55 बिहान

काठमाडौँ, १४ वैशाख। ओप्सना फिल्म्स प्रा. लि.ले राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड–२०८२ प्रदान गर्ने जनाएको छ। आधुनिक गीत, पप गीत, चलचित्रका गीत, टेलिसिरियल, भाषा भाषीका गीत, राष्ट्रिय गीत, लोक गीत, डेउडा गीत लगायत विभिन्न संगीत विधा र अन्य क्षेत्रहरू गरी ३९ वटा विधामा सम्मान तथा अवार्ड प्रदान गरिने प्रालिका अध्यक्ष तथा संगीतकार ओम प्रकाश राईले जानकारी दिनुभयो।

संगीत, कलाकारिता, खेलकुद, पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई समेत सम्मान तथा अवार्ड प्रदान गरिनेछ। साथै, लामो समयदेखि गीत–संगीतमा समर्पित व्यक्तित्वलाई लाइफटाइम अचिभमेन्ट अवार्ड र विदेशमा बसेर गीत–संगीत तथा अन्य क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई डायस्पोरा अवार्ड प्रदान गरिनेछ।

अवार्डका लागि आवेदन फर्म ओप्सना फिल्म्स प्रा. लि.को बुद्धनगरस्थित कार्यालयमा उपलब्ध रहेको राईले जानकारी दिनुभयो। थप जानकारीका लागि मोबाइल नम्बर ९८५१०६६०९२ र ९८४००५३०७६ मा सम्पर्क गर्न सकिनेछ। सबै विधाका लागि जेठ ५ गतेसम्म फारम बुझाउन सकिने र डायस्पोरा अवार्डका लागि भने इमेलमार्फत पनि फारम बुझाउन सकिनेछ।

संगीत, साहित्य र समाजको क्षेत्रमा लामो समयदेखि सेवा गर्दै आएको ओप्सना फिल्म्स प्रा. लि.ले यसअघि पनि विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ। संगीत, साहित्य, पत्रकारिता, खेलकुद तथा सामाजिक क्षेत्रमा नवआगन्तुक र निरन्तर सेवा पुर्‍याइरहेकाहरुलाई प्रोत्साहनस्वरूप अवार्ड प्रदान गरिन लागेको अध्यक्ष राईले बताउनुभयो। नेपाली संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय राई दम्पतीले हालसम्म करिब ४ हजारभन्दा बढी गीतहरूमा संगीत प्रदान गरिसक्नुभएको छ।