पाँचथरको हिलिहाङ गाउँपालिकामा पर्ने ‘यवा मार्ग’को स्तरोन्नति तथा नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले के.आई. ग्रुपले आगामी जुन ६ मा साउदी अरबको जुबैल सहरमा एक भव्य साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
कार्यक्रमका संचालक श्रीप्रसाद यवाका अनुसार सो कार्यक्रम अल हुमैदान हल (लुलु हाइपरमार्केटको पछाडि) मा सम्पन्न हुनेछ। कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरू—रचना रिमाल, प्रीति आले, प्रकाश दुतराज, नोगेंन लिम्बु, मधुमाया थापा मगर, सुनिता थेगिम र प्रीति पासवानको नृत्य प्रस्तुति रहनेछ।
गत १५ वर्षदेखि साउदी अरबको जुबैलमा के.आई. हिमालयन किचन, के.आई. फेन्सी, र के.आई. ट्राभल जस्ता व्यवसाय सञ्चालन गर्दै आएका के.आई. ग्रुपका अर्का संचालकहरू श्री ओमप्रसाद फुयाँल र ईश्वर काप्रीका अनुसार संस्था सामाजिक कार्यहरूमा पनि सक्रिय रहँदै आएको छ।
कार्यक्रमको संयोजन देव धिमालले गरेका छन्।
पाँचथर हिलिहाङ गाउँपालिकाको ‘यवा मार्ग’को १० किलोमिटर बाटो व्यक्तिगत लगानीमा निर्माण गरिसकेका श्रीप्रसाद यवा सामाजिक उत्तरदायित्वमा विशेष चासो राख्दै आएका छन्। उनका अनुसार यस्ता कार्यक्रमहरूबाट प्राप्त हुने आम्दानी सामाजिक कार्यहरूमा खर्च गरिँदै आएको छ।
कार्यक्रमको टिकट साउदी अरबको जुबैल , दमाम र खोबर क्षेत्रका नेपाली होटलहरूमा उपलब्ध रहेको जानकारी पनि आयोजकहरूले दिएका छन्।