News Desk
इटहरी, सुनसरी – ड्रीम मोडलिङ एजेन्सी एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा तथा स्थानिय समुदायको सहकार्यमा ‘जुनियर मास्टर एण्ड मिस इटहरी २०८२ – सिजन ३’ को ग्राण्ड फिनाले एक भव्य समारोहबीच सम्पन्न भएको छ। इटहरीमा सम्पन्न उक्त प्रतियोगिताले पूर्वी नेपालका बाल प्रतिभाहरूको व्यक्तित्व विकास, प्रस्तुति क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्ने लक्ष्यसहित आयोजना गरिएको थियो।
प्रतियोगितामा सहभागी बालबालिकाले विभिन्न चरणका चुनौतीहरू पार गर्दै उत्कृष्ट प्रस्तुति दिएका थिए। अन्तिम चरणमा विशिष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई विभिन्न उपाधि र पुरस्कारले सम्मानित गरिएको थियो। मुख्य उपाधि ‘जुनियर मास्टर’ को विजेता अर्चित भट्टराई र ‘जुनियर मिस’ को विजेता आना यङ्देन घोषित भए। फस्ट रनर-अप उपाधि युबिन मगर र नेबिशा दाहालले हात पार्दा, सेकेन्ड रनर-अप प्रलेश राई र समिरा गौडैली बने। त्यस्तै, ‘भोटिङ स्टार अवार्ड’ अर्चित भट्टराई र स्वर्णिमा न्यौपानेले प्राप्त गरे भने ‘पब्लिक च्वाइस अवार्ड’ पुनः युबिन मगर र नेबिशा दाहालले जिते।
प्रतियोगीहरूको प्रस्तुति, व्यक्तित्व, बौद्धिक क्षमता तथा सार्वजनिक बोलीको मूल्याङ्कन निर्णायक मण्डलले गरेका थिए। निर्णायकको भूमिकामा फेसन विज्ञ तथा सामाजिक अभियन्ता आदेश प्रधान, मोडल प्रशिक्षक प्रकाश चौहान, युवा उद्यमी रोनक अग्रवाल, सौन्दर्य विशेषज्ञ आयुष्मा बराल, र सांस्कृतिक अभियन्ता शान्ति पार्खिन रहेका थिए।
कार्यक्रम सञ्चालनमा प्रस्तोता त्रिश्ना रेग्मी आकर्षणको केन्द्र बनेकी थिइन्। उनले ऊर्जा, आत्मविश्वास र प्रभावशाली संवादशैलीमार्फत सम्पूर्ण कार्यक्रमलाई जीवन्त र मनोरञ्जनात्मक बनाइन्।
समापनमा आयोजक संस्थाका तर्फबाट सबै प्रायोजक, सहयोगी संस्था, निर्णायकहरू, प्रशिक्षकहरू, अभिभावकहरू तथा कार्यक्रम व्यवस्थापनमा संलग्न सम्पूर्ण टोलीलाई विशेष धन्यवाद दिइएको थियो। आयोजकहरूले यस्तो प्रतिभा विकासमूलक कार्यक्रमले बालबालिकाको आत्मविश्वास, नेतृत्वदक्षता र सार्वजनिक प्रस्तुति सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ व्यापक र प्रभावशाली संस्करण ल्याउने प्रतिबद्धता जनाएका छन्।
