News Desk
काठमाडौं — कलश इभेन्ट्सको आयोजनामा हुँदै गरेको छैठौं “लिटिल मिस एञ्जेल नेपाल” र तेस्रो “लिटिल मास्टर नेपाल २०८२” अन्तर्गतको ट्यालेन्ट शो भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी २५ जना बालबालिकाहरूले आ–आफ्ना बहुआयामिक प्रतिभाहरू प्रस्तुत गरेका थिए। नृत्य, गायन, मार्शल आर्ट, चित्रकला, धिमे बाजा, भायोलिन, बाँसुरी जस्ता सांगीतिक प्रस्तुतिहरूले दर्शकको मन जितेका थिए।
प्रतियोगिताको मूल्याङ्कन निर्णायक मण्डलीमा रहनुभएका नरेश प्रजापति, सितु महर्जन, जेनिशा श्रेष्ठ र मनरा प्रजापतिले गर्नुभएको थियो।
कलश इभेन्ट्सको तेर्हौं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको यस प्रतियोगिताको ग्रान्ड फिनाले २०८२ साल जेठ ३१ गते (शनिवार) दिउँसो २ बजे साँकृतिक संस्थान नाचघर, जमल, काठमाडौंमा आयोजना गरिनेछ।
कलश इभेन्ट्सका प्रबन्ध निर्देशक वर्षा महर्जनका अनुसार, यो कार्यक्रम बालबालिकाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, ट्राफिक शिक्षा, ध्यान, योग, पौडी तथा बाल यौन दुर्व्यवहारसम्बन्धी सचेतना (गुड टच/ब्याड टच) जस्ता विषयमा प्रशिक्षण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो। साथै, उनीहरूलाई विभिन्न सिर्जनात्मक गतिविधिमा समेत सहभागी गराइएको छ।
ग्रान्ड फिनालेमा सहभागी बालबालिकाहरू Deenaz Fashion House द्वारा डिजाइन गरिएको विशेष पोशाकमा सजिनेछन्। रोहिया महर्जनको कोरियोग्राफीमा आधारित यस प्रतियोगिताबाट प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतिस्पर्धीहरूलाई ट्रफी, ताज, प्रमाणपत्र तथा विभिन्न उपहारहरू प्रदान गरिनेछ।
कार्यक्रमको बारेमा थप जानकारी कलश इभेन्ट्सका प्रबन्ध निर्देशक वर्षा महर्जनले साझा गर्नुभएको थियो।