“मिस्टर र मिस एसईई सुपर मोडल २०२५ संस्करण ४” भव्य रुपमा सम्पन्न
News Desk
Jun-19 , 2025 तारिख 04:48 बेलुका

काठमाडौं – एभरेष्ट इभेन्ट्सको आयोजना र एन प्लस प्रोफेसनलको प्रस्तुतीमा सम्पन्न “मिस्टर र मिस एसईई सुपर मोडल २०२५ चौथो संस्करण” राजधानी काठमाडौंमा अत्यन्तै भव्य र गौरवपूर्ण वातावरणमा सम्पन्न भएको छ। एसईई परीक्षा दिइसकेका युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्दै उनीहरूको आत्मविश्वास, क्षमता र व्यक्तित्वलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम नेपालकै चर्चित फेसन तथा व्यक्तित्व विकास सम्बन्धी प्रतियोगिता बनेको छ।

प्रतियोगितामा देशभरबाट सहभागी भएका सयौँ प्रतिस्पर्धीहरूलाई पछि पार्दै श्याम झा र दिव्या थापाले मिस्टर र मिस एसईई सुपर मोडल २०२५ को उपाधि जित्न सफल भएका छन्। उनीहरूले अब नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्, जुन उनीहरूको भविष्यको करिअरका लागि एक महत्वपूर्ण पाइला हुनेछ।

त्यस्तै निरवान प्रसाद कर्माचार्य र सम्बृद्धि सिलवाल पहिलो उपविजेता घोषित भए। सपर्श तण्डुकार र भिनस राई दोस्रो उपविजेता भए भने छिरिङ लामा र प्रणिशा खड्का तेस्रो उपविजेता बने। भिजन तामाङ र मुस्कान थापा चौथो उपविजेता तथा प्रतिज्ञा चौधरी पाँचौँ उपविजेता घोषित भए।

विशेष उपाधिहरूमा अभिव मल्ल “एसईई सुपर मोडल २०२५ का अनुहार (पुरुष)” घोषित भए भने आरियाना खड्का “एसईई सुपर मोडल २०२४ की अनुहार (महिला)” को रूपमा सम्मानित भइन्। कुशल तामाङ र रोज शक्य “ब्रान्ड प्रतिनिधि” घोषित भए। रिदम सिलवाल र प्रतिक्ष्या श्रेष्ठ “आयोजकको रोजाइ” बन्न सफल भए। त्यस्तै प्रणिशा शाह “सौन्दर्य र बुद्धिको संगम” को उपाधिका लागि चयन भइन् भने परिना श्रेष्ठ “जनप्रिय अवार्ड” र कृञ्जल क्षेत्री “सबैभन्दा धेरै हेरिएको छनोट” बने।

विजेताहरूलाई नगद १ लाख रुपैयाँ, स्मार्टफोन, र अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागिता, साथै विज्ञापन, भिडियो गीत, लघु चलचित्र र मिडियामा उपस्थिति हुने अवसर प्रदान गरिएको छ। उनीहरूले देशभरका १४ वटा प्रतिष्ठित शिक्षण संस्थाबाट साइन्स, व्यवस्थापन, मानविकी तथा ए-लेभल अध्ययनको लागि छात्रवृत्ति प्राप्त गरेका छन्। साथै, एभरेष्ट फिल्म अकादमीबाट १ लाख रुपैयाँ बराबरको छात्रवृत्ति, आशिका अकादमीबाट पेसागत मेकअप तालिम तथा फ्लाइटेक इन्टरनेशनलबाट एयर होस्टेस तालिम छात्रवृत्ति प्रदान गरिएको हो।

सहभागीहरूलाई घुमघाम प्याकेज, सीजीजी खेलकुद केन्द्रबाट बक्सिङ र मुवाथाई फिटनेस तालिम, साथै एन प्लस प्रोफेसनल, फ्रुट जेम्स, रुलेक्स ९, अौरा ब्यूटी केयर र ओप्स नेपालबाट विशेष उपहार प्याकेजहरू पनि प्रदान गरिएको थियो।

कार्यक्रमलाई सफल बनाउने श्रेय संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठ (रो बेन) लाई जान्छ। प्रतिभाहरुलाई प्रशिक्षित गर्न कोरियोग्राफर सुगन्धा अधिकारी र अर्शु महर्जनले महत्वपूर्ण भूमिका खेलेका थिए। कार्यक्रमको सञ्चालन रोजिन शक्यले गरेका थिए भने तस्वीरहरू अनीश श्रेष्ठ र आकेंद्र चालौनेले खिचेका थिए। मेकअपमा आशिका अकादमीको टिम सक्रिय थियो भने पोशाक डिजाइन आईआईएफटी विद्यालयद्वारा गरिएको थियो।

यो प्रतियोगिताले युवा पुस्ताको आत्मविश्वास, नेतृत्व क्षमता, सौन्दर्य र सृजनात्मकतामा आधारित भविष्य निर्माणमा योगदान पु¥याउँदै नेपालका लागि गौरवको पहिचान बनेको छ।

धेरै पढिएको