News Desk
गत वर्षको चर्चित नेपाली फिल्म ‘फर्की फर्की’ अहिले एउटा अनपेक्षित विवादमा तानिएको छ। सुयोग गुरुङ निर्देशित उक्त फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङबीचको एक संवाद अहिले कानुनी मुद्दाको मुख्य कारण बनेको छ।
फिल्ममा जसिताले अनमोलसँग फोन नम्बर माग्ने दृश्यमा उनले एक निश्चित नम्बर उच्चारण गर्छन्। दुर्भाग्यवश, उक्त नम्बर एक वास्तविक व्यक्तिको मोबाइल नम्बर रहेको खुलेको छ, जसले अहिले निर्माता पक्षलाई अदालतसम्म पुर्याएका छन्।
उक्त नम्बर कवि तथा वरिष्ठ कलाकार नरेन्द्रबहादुर श्रेष्ठको रहेको खुलेको छ। उमेरले सात दशक पार गरिसकेका श्रेष्ठले “आफ्नो अनुमतिबेगर मोबाइल नम्बर फिल्ममा प्रयोग गरिएको र त्यसका कारण मानसिक तनाव, सामाजिक असजिलोपन र शारीरिक असहजता भोग्नुपरेको” भन्दै काठमाडौँ जिल्ला अदालतमा दुष्कृतिसम्बन्धी मुद्दा दर्ता गरेका हुन्।
श्रेष्ठका अनुसार फिल्म २०८१ सालको जेठ १० गते प्रदर्शनमा आएपछि उनीमाथि एकाएक अनमोल केसीलाई सम्पर्क गर्न चाहने अपरिचितहरूको फोन आउन थाल्यो। यति धेरै फोन आउन थाल्यो कि बाध्य भएर उनले आफ्नो मोबाइल फोन नै बन्द गर्नुपर्यो।
समस्या देखिएपछि श्रेष्ठले फिल्म निर्माण पक्ष, निर्देशक सुयोग गुरुङ, तथा अन्य सम्बन्धित निकायमा बारम्बार गुहार गरेका थिए। निर्देशक गुरुङले समस्या समाधान गर्ने आश्वासन दिए पनि व्यवहारमा कुनै पहल नगरेको श्रेष्ठको भनाइ छ।
श्रेष्ठले संवाद हटाउन पटक–पटक अनुरोध गरे तापनि निर्माण पक्षले बेवास्ता गरेपछि उनले चलचित्र विकास बोर्ड, चलचित्र जाँच समिति (सेन्सर बोर्ड) र सञ्चार मन्त्रालयजस्ता सरकारी निकायको ढोका ढकढक्याउन थाले।
विशेष कुरा के थियो भने, फिल्म रिलिज बेलामा चलचित्र विकास बोर्डको अध्यक्ष अनमोल केसीका पिता भुवन केसी नै थिए। श्रेष्ठले भुवन केसीलाई व्यक्तिगत रूपमा पनि समस्याबारे जानकारी गराए, फोन मार्फत अनुरोध गरे र बोर्डमा लिखित रूपमा निवेदन समेत दिएका थिए।
तर, श्रेष्ठको गुनासो भुवनले गम्भीरतापूर्वक नलिएको आरोप छ। पीडितका अनुसार, उनले दिएको अनुरोध एक कानले सुनेर अर्को कानले उडाइदिएजस्तो व्यवहार गरिएको थियो।
संबन्धित पक्षहरूको उदासीनता र उपेक्षाका कारण अन्ततः श्रेष्ठ न्यायालय धाउन बाध्य भए। अहिले उक्त संवादकै कारण अभिनेता अनमोल केसी कानुनी कारवाहीको घेरामा परेका छन्।