कमेडियन कैलाश कार्कीको नयाँ प्रयोग ‘फन टूस शो’ सार्वजनिक, इम्प्रभ कमेडीको नयाँ यात्रा सुरू
News Desk
Nov-03 , 2025 तारिख 06:29 बिहान

काठमाडौं – हाँस्य कलाकार कैलाश कार्कीले नयाँ किसिमको कमेडी शो ‘फन टूस शो’ (The Fun 2ss Show) दर्शकमाझ ल्याएका छन्। यो कार्यक्रम नेपालमा पहिलो पटक प्रस्तुत गरिएको इम्प्रभ कमेडी (Improvised Comedy) शैलीमा आधारित रहेको छ, जहाँ सबै प्रस्तुति पूर्ण रूपमा अनस्क्रिप्टेड हुन्छन्।

निर्देशक तथा निर्माता कार्कीका अनुसार शोको मुख्य उद्देश्य नेपाली दर्शकलाई नयाँ विधाको कमेडीसँग परिचित गराउनु हो। उनले भने, “हाँस्य कलाकारको हैसियतले म दर्शकलाई फरक स्वाद र नयाँ शिल्पमा हसाउन चाहन्छु। इम्प्रभ कमेडी नेपालमा नौलो भए पनि विश्वभर लोकप्रिय विधा हो, र यसलाई हाम्रो सन्दर्भमा स्थापित गर्ने प्रयास गर्दैछौं।”

‘फन टूस शो’ हिल्स एण्ड होराइजन फिल्म्स प्रा.लि.को प्रस्तुतिमा तयार भएको हो। यसको पहिलो एपिसोड शनिबार साँझ युट्युब च्यानल ओएसआर रियालिटी मार्फत सार्वजनिक गरिएको छ। शो हरेक शनिबार नियमित रूपमा प्रसारण गरिनेछ।

कार्यक्रममा चर्चित कमेडियन सन्तोष थापा प्रस्तोताको भूमिकामा छन् भने आशिष न्यौपाने, रजनीश अर्याल, सतीश कार्की, जय खतिवडा, श्रिया सुवेदी र आस्था तिमिल्सिना प्रतिस्पर्धीका रूपमा सहभागी भएका छन्। उनीहरूले विभिन्न चरणमा फरक–फरक इम्प्रभ गेमहरूमा सहभागी हुँदै आफ्नो हाँस्य प्रतिभा प्रस्तुत गर्नेछन्।

शो तीन राउन्ड—सिल्भर, गोल्ड र डायमन्ड—मा विभाजन गरिएको छ। प्रत्येक राउन्डमा ६ एपिसोड रहनेछ भने एलिमिनेसनवाइल्डकार्ड प्रणाली पनि लागू गरिएको छ। अन्तिम अर्थात् २०औं एपिसोडमा एक जनालाई विजेता घोषणा गरिनेछ।

विजेताले आकर्षक नगद पुरस्कार र अन्य उपहार प्राप्त गर्नेछन्। शोको विशेषता भनेको कलाकारहरूको तत्क्षणिक हाजिरजवाबी, परिस्थितिअनुसार सिर्जनात्मक हाँस्य र दर्शकलाई नयाँ प्रकारको मनोरञ्जन दिने प्रयास हो।

कैलाश कार्कीले थपे, “यो शोले नेपाली कमेडी जगतमा नयाँ दिशा र सिर्जनात्मक प्रयोगको संस्कृतिको सुरुवात गर्नेछ भन्ने मेरो विश्वास छ।”

धेरै पढिएको