अपलोड भएको केही दिनमै निकै च​र्चामा मोडेल​
News Desk
Nov-16 , 2025 तारिख 06:18 बिहान

 मोडेल आश्मा विश्वकर्माले सामाजिक सञ्जालमा सार्वजनिक गरेको ४४ सेकेन्डको छोटो नृत्य भिडियो अहिले निकै तहल्का मचाइरहेको छ। दक्षिण भारतीय अभिनेता रामचरणको फिल्म पेड्डी को गीतमा आधारित उक्त भिडियो अपलोड भएको केही दिनमै निकै चर्चित बनेको छ। तीन दिनअघि अपलोड गरिएको भिडियोले आश्मालाई झनै लोकप्रिय बनाउँदै धेरैको ध्यान आकर्षित गराएको छ।

‘चिकरी चिकरी’ गीतमा गरिएको नृत्य प्रस्तुतिलाई टिकटकमा झन्डै १ करोड ६७ लाख पटक हेरेको छ भने ९ लाख ७८ हजारभन्दा धेरैले लाइक गरेका छन। फेसबुकमा झन १ करोड ८९ लाखभन्दा बढी भ्यु पुगेको छ। आश्माका अनुसार, उक्त गीत सुनेपछि आफैँलाई भिडियो बनाउन मन लागेको थियो।

दर्शकहरूले आश्माको नृत्य शैली मूल गीतको कोरियोग्राफीभन्दा पनि झनै आकर्षक भएको प्रतिक्रिया दीरहेका छन। नेपालका दर्शक मात्र होइन, बलिउडका कलाकारहरू, गायिका दीपा झा, पेड्डीकी अभिनेत्री जान्ह्वी कपुर तथा फिल्मको अफिसियल पृष्ठले समेत आश्माको भिडियोलाई इन्स्टाग्राममा सेयर गर्दै प्रशंसा व्यक्त गरेका छन। रामचरणका फ्यान क्लबहरूले समेत भिडियो सेयर गरी साथ दिएका छन।

दहचोकस्थित स्विटजरल्यान्ड पार्कमा खिचिएको भिडियोको सम्पादन सुरोज अधिकारीले गरेका हुन। आश्माका अनुसार, भिडियो सहजै तयार भए पनि, आफू धुम्रपानबाट टाढा रहने भएकाले चुरोट समाइने दृश्य भने निकै चुनौतीपूर्ण थियो।

आश्माको पोशाक, डान्स स्टेप तथा आकर्षक हाउभाउ नै भिडियोको मुख्य आकर्षणका रूपमा देखिएका छन। प्रायः नृत्यका कारण नै चर्चामा रहने आश्माका यसअघि पनि थुप्रै भिडियो तथा स्टेज डान्स दर्शकमाझ भाइरल भइसकेका छन। उहाँ कार्टुन्ज क्रुसँग पनि आबद्ध हुनुहुन्छ।

एआर रहमानको संगीत र मोहित चौहानको आवाज रहेको ‘चिकरी चिकरी’ गीतमा नेपालका धेरै युवाहरूले पनि टिकटक र रील्स बनाइरहेका छन्, जसले यो गीतलाई विश्वव्यापी रूपमा झनै चर्चित बनाइदिएको छ।

धेरै पढिएको