News Desk
काठमाडौँ– वरिष्ठ निर्देशक तुलसी घिमिरे द्वारा निर्देशित चलचित्र पहाड आगामी नयाँ वर्ष, विसं २०८३ वैशाख १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। युवा जनशक्ति विदेश पलायन भएपछि सुनसान बन्दै गएका पहाडी बस्ती र त्यसले निम्त्याएका सामाजिक तथा आर्थिक असरलाई चलचित्रले मुख्य विषय बनाएको निर्देशक घिमिरेले जानकारी दिनुभयो।
निर्देशक घिमिरेका अनुसार चलचित्रको प्रदर्शन मिति वितरक र प्रदर्शकहरूसँगको परामर्शपछि तय गरिएको हो। “मानव बसोबासविहीन बन्दै गएका उच्च पहाडको यथार्थ कथा यसमा समेटिएको छ,” उहाँले भन्नुभयो, “यो चलचित्रले हाम्रो दायित्व, समाजको वर्तमान अवस्था र देशको आवश्यकता दर्शाउँछ। दर्शकले पर्दामा आफ्नै कथा र आफ्नै परिवेश देख्न पाउनुहुनेछ।” नयाँ र पुराना पुस्तासँग एकसाथ काम गर्न पाउँदा आफू उत्साहित रहेको उहाँको भनाइ छ।
यसअघि बलिदान मा मदनकृष्ण श्रेष्ठ तथा चिनो मा स्वर्गीय अभिनेता सुनिल थापा सँग सहकार्य गरिसक्नुभएका निर्देशक घिमिरेले पुस्तान्तरणको सहकार्यले चलचित्र क्षेत्रमा सकारात्मक परिणाम दिने विश्वास व्यक्त गर्नुभयो। समाजका तीतो यथार्थलाई सशक्त रूपमा प्रस्तुत गर्ने उद्देश्यले ‘पहाड’ निर्माण गरिएको उहाँले बताउनुभयो।
चलचित्रका निर्माता ओजस्वी केसी हुन् भने छायाङ्कन प्रसिद्ध छायाकार प्रमोद प्रधान ले गर्नुभएको छ। चलचित्रमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ तथा सलोना बज्राचार्यलगायतका कलाकारहरूको अभिनय रहेको छ।
यस चलचित्रमार्फत निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्रीका रूपमा दर्शकमाझ प्रस्तुत गर्दै हुनुहुन्छ। साथै, प्राविधिक पक्षमा उहाँकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको भूमिका निर्वाह गर्नुभएको छ। चलचित्रमा सङ्गीतकार रञ्जित गजमेर को सङ्गीत रहेको छ।