News Desk
तीनवटै संस्थाले संयुक्त रूपमा आयोजना गरेको भेलापछि जारी विज्ञप्तिमा एफएम तथा रेडियो क्षेत्र आर्थिक संकट र दिगोपनाको चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै विगतमा निर्धारण गरिएका रोयल्टी दरहरू समयानुकूल नरहेको बताएका छन् । उनीहरूले वर्तमान परिस्थितिअनुसार व्यवहारिक र वैज्ञानिक आधारमा पुनः मूल्याङ्कन आवश्यक रहेको धारणा राखेका छन् ।
भेलाले भक्तपुर एफएमका सञ्चालकमाथि गत वैशाख २५ गते सङ्गीत रोयल्टी सङ्कलन समाजको नाममा फौजदारी अभियोग लगाएर गरिएको पक्राउप्रति गम्भीर आपत्ति जनाएको छ । छलफल र संवादको प्रक्रिया जारी रहँदा धरपकड तथा मुद्दा दायर गरिनुले सर्जक र रेडियो सञ्चालकबीच अविश्वास र दूरी बढाउने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।
त्यस्तै, प्रतिलिपि अधिकार ऐन, २०५९ को गलत व्याख्या गर्दै व्यापारिक एजेन्ट परिचालन गरी रेडियोकर्मी तथा सञ्चालकलाई अपराधीसरह व्यवहार गर्ने प्रवृत्ति अन्त्य गर्न माग गरिएको छ । भेलाले दफा २५ अन्तर्गत पर्ने देवानी प्रकृतिको विषयलाई दफा २७ को प्रयोगमार्फत फौजदारी मुद्दामा रूपान्तरण गरी त्रास सिर्जना गर्ने कार्य तत्काल रोक्नुपर्ने जनाएको छ ।