नमोबुद्धमा सहीछाप प्रदर्शन हुने
News Desk
Jun-24 तारिख 11:50 बिहान • आज

नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक सहीछाप प्रदर्शन हुने भएको छ  । नगरपालिकाले नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागेको हो ।
विशेष गरी नेपाली समाजमा अझै पनि चुनौतीको रूपमा रहेका बालविवाह, लागू पदार्थको दुर्व्यसनी, साइबर अपराध तथा अन्य समसामयिक सामाजिक विसङ्गतिहरूलाई नाटकको मुख्य विषयवस्तु बनाइएको छ । सूचना, मनोरञ्जन र चेतनालाई एकैसाथ प्रस्तुत गरिने यस नाटकले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख तारादेवी सुनुवारका अनुसार नाटक असार ११ र १२ गते नगरका दुई विद्यालयहरूमा प्रदर्शन गरिनेछ  ।
असार ११ गते नमोबुद्ध नगरपालिका वडा नं. ४, भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा दिउँसो १:०० बजे र असार १२ गते नमोबुद्ध नगरपालिका वडा नं. ९, दाप्चास्थित कृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा दिउँसो १:०० बजे ।
शाखा प्रमुख सुनुवारले नाटक प्रदर्शनमा उपस्थित भई सचेतना अभियानलाई सफल बनाउन विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूलाई हार्दिक अनुरोध समेत गर्नुभएको छ  ।
आदिइत्यादिको प्रस्तुति रहेको नाटकलाई रङ्गकर्मी तथा निर्देशक पुरु लम्सालले लेखन तथा निर्देशन गर्नुभएको हो  । नाटकमा प्रमुख कलाकारहरू बरिष्ठ कलाकार प्रभाकरदेव शर्मा, चर्चित कलाकार खुपीका बाउका रुपमा परिचित कमलमणि नेपाल, गौरीका रुपमा परिचित अनामीका लामिछाने, सागर कार्की, सेविता अधिकारी, रुपेश मण्डल र अन्जु खड्काको अभिनय रहनेछ ।

धेरै पढिएको