‘लाइगर’मा विजय देवरकोन्डा र माइक टाइसन एकसाथ
News Desk
Nov-18 तारिख 03:14 बेलुका

मुम्बई — सन् १९९० ताकाका अमेरिकी हेभिवेट बक्सर माइक टाइसन दक्षिण भारतीय फिल्ममा देखिने भएका छन् । करण जोहरको कम्पनी धर्मा प्रोडक्सनको ब्यानरमा निर्माणाधीन तेलुगु फिल्म ‘लाइगर’ बाट उनलाई भारतीय फिल्ममा डेब्यु गराइने भएको हो । विजय देवरकोन्डा नायक रहेको फिल्मलाई पुरी जगन्नाथले निर्देशन गरिरहेका छन् । टाइसन मुख्य कलाकार छन् भने फिल्ममा अनन्या पाण्डे र रमया कृष्णाको पनि अभिनय रहनेछ । टाइसनसँगका दृश्य छायांकनका लागि निर्माण टोली यतिबेला अमेरिकामा छ ।

देवरकोन्डाले अमेरिका पुगेपछिको अनुभव आफ्नो इन्स्टाग्राममा सेयर गरेका छन् । उनले त्यहाँ लाइगरका लागि स्मरणीय काम भइरहेको बताएका छन् । यो फिल्म तेलुगु र हिन्दी भाषामा एकै साथ आउने घोषणा गरिएकाले देवरकोन्डाको यो बलिउड डेब्युका रूपमा मानिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । फिल्म तमिल, कन्नड र मलयालम भाषामा पनि ल्याइने भनिएको फिल्मको प्रदर्शन मिति टुंगो भइसकेको छैन ।            

( कान्तिपुर दैनिक )