रुसी सेनामा भर्ना भएका कञ्चनपुरका २४ वर्षीय सिजनबहादुर सिंह भागेर घर फर्किए
News Desk
Mar-18 तारिख 11:15 बिहान

रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किनुभएको छ । रुसी सेनाबाट भागेर उहाँ शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश फर्किनुभएको हो । “पछिल्लो तीन महिनादेखि तलब पाइएन । खाना नपाएर साह्रै गाह्रो भयो । रुसी सेनाले नेपालीसँग भएको पैसा, खाना लुट्ने र अग्रमोर्चामा युद्धका लागि खटाउँथे”, उहाँले भन्नुभयो, “त्यसपछि भागेर आएको हिँडे ।”

उहाँ रुस–युक्रेन युद्धमा अग्रमोर्चामा खटिनुभएको थियो । उहाँ अन्य १० जना साथीसँगै गत भदौ १ ‘भिजिट भिसा’मा रुस गएर सेनामा भर्ती हुनुभएको थियो । परिवारका जेठा छोरा उहाँ ऋण तिर्न पैसा कमाउन अर्को ऋण काढेर रुसी सेनामा पुग्नुभएको थियो । घर फर्किंदा रित्तो हात हुनु परेको छ । “घरमा रु ३० लाख ऋण थियो । बुबाले कमाएर तिर्न सक्ने अवस्था थिएन । स्वदेशमा पाइने रु २०-३० हजारको जागिरले ब्याज तिर्न पनि सकिँदैनथ्यो”, उहाँले भन्नुभयो, “परिवारको बाध्यताले युद्धको भँुवरीमा हामफालेँ तर सोचेकोजस्तो भएन ।”

सुरुआतमा रुसी सरकारले तलब दिए पनि पछिल्लो तीन महिनामा तलब पनि नदिएको र भोकभोकै काम गर्न नसकिने अवस्था आएपछि भागेर स्वदेश फिर्ता भएको उहाँले सुनाउनुभयो । उहाँका अनुसार घर धितो राखेर रु सात लाख ५० हजार ऋण निकालेर रुस हानिएका हुन् । सँगै रुस गएका अन्य १० साथी युद्धभूमिमै ढलेको उहाँ बताउनुहुन्छ । “त्यहाँको अवस्था देख्दा बाँचिएला सोचेकै थिएन । सँगैका सबै साथी मरे । डराएर म पछि पछि लागेर युद्धमा जाने हुनाले बचेँ”, उहाँ भन्नुहुन्छ, “दैनिक ५०-६० जना नेपाली सैनिकमा भर्ती हुन पुग्थे ।”

मासिक रु अढाई लाखदेखि पाँच लाखसम्म आम्दानीलगायत प्रलोभनमा परेर रुसी सेनामा भर्ना भइरहेको उहाँको भनाइ छ । केही महिनाको सैन्य तालिमपछि युद्धका लागि परिचालन गरिएको उहाँले बताउनुभयो । युद्ध लडिरहेको रुसी सेनाको फौजबाट भागेर राजधानी मस्को पुगेका सिंह घरबाट पैसा मगाएर दिल्ली हुँदै स्वदेश पुग्नुभएको हो । मस्कोमा एक दलाललाई रु दुई लाख ५० हजार बुझाएर घर पुग्न सफल भएको उहाँ बताउनुहुन्छ । “तीनजना भागेर मस्को पुगेका थियौँ । सँगै दिल्लीको टिकट काटिएको थियो”, सिंह भन्नुहुन्छ, “तर विमानमा दिल्ली आउँदा एक्लै थिए । पछि बुझ्दा एकजनालाई अध्यागमले समातेको रहेछ ।” रुसी सेनामा भर्ना भएका नेपालीको अवस्था दयनीय रहेको उहाँ सुनाउनुहुन्छ ।