आन्दोलन मत्थर हुन थालेपछि बंगलादेशको जनजीवन सहज बन्दै
News Desk
Jul-25 , 2024 तारिख 01:00 बेलुका

काठमाडौँ — श्रावण १०, २०८१। 

बंगलादेशमा सरकारी जागिरमा कायम विशेष आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको आन्दोलन मत्थर हुन थालेपछि त्यहाँको अवस्था केही सहज बनेको छ । 

सरकारले केही निश्चित स्थानमा इन्टरनेट सेवा खुलाएको छ भने कर्फ्युलाई केही खुकुलो बनाएको छ । आरक्षण र कोटा प्रणालीका सम्बन्धमा अदालतको आदेशले खारेज गरेपछि आन्दोलन मत्थर बनेको हो । बंगलादेशको अदालतले ९३ प्रतिशत सरकारी जागिर खुला प्रतिस्पर्धाबाटै हुने आदेश दिएपछि आन्दोलन केही मत्थर भएको हो ।

उक्त निर्णयलाई बंगलादेशको शेख हसिना सरकारले पनि स्वीकार गरिसकेको छ । बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका सन्तानलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा विश्वविद्यालयका विद्यार्थीले प्रदर्शन चर्काएका थिए । प्रदर्शनले हिंसात्मक रूप लिएपछि भएको झडपमा डेढ सयभन्दा बढीको ज्यान गएको थियो ।

‘मुक्ति बाहिनी’ को स्वतन्त्रता संग्रामपछि बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट अलग भएको थियो । उक्त आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीले विभिन्न स्थानमा र्‍याली गर्दै आएका थिए । जसअनुसार सरकारी जागिरमा ३० प्रतिशत आरक्षण र कोटा प्रणाली स्वतन्त्र संग्राममा लडेका सहिदहरूको परिवारले पाउँदै आएका थिए । जसलाई सन् २०१८ मा हसिना सरकारले खारेज गरेको थियो । तर गत जुन महिनामा तल्लो अदालतले सरकारको उक्त निर्णय उल्टाएपछि विरोध प्रदर्शन सुरु भएको थियो ।

बंगलादेशको पत्रिका डेली सनका अनुसार बुधबार ७ घण्टे कर्फ्युलाई हटाइएको छ भने सरकारी कार्यालयलाई सुचारु गर्नका लागि भनिएको छ । आन्दोलनका क्रममा १६ सयभन्दा बढीलाई पक्राउ गरिएको छ । राजधानी ढाकालगायतका सहरमा ठूलो मात्रामा भौतिक क्षति भएको छ ।

आन्दोलन मत्थर भए पनि आन्दोलनलाई दबाउन र मानवीय क्षतिको घटनाका लागि जिम्मेवार भएको भन्दै गृहमन्त्री, प्रहरी र अन्य पक्षहरूलाई कारबाही गर्नुपर्ने माग आन्दोलनकारीले राखेका छन् । हसिना सन् १९९६ मा पहिलो पटक बंगलादेशको प्रधानमन्त्री भएकी थिइन्, त्यसपछि उनी सन् २००९ मा नेतृत्वमा आइन् । अहिले लगातार बंगलादेशमा तानाशाही शैलीमा उनले शासन सञ्चालन गरिरहेकी छन् ।

‘नेपालीहरू सबै सुरक्षित’

बंगलादेशमा एक सातादेखि चर्किएको आन्दोलनका कारण बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी नेपाली विद्यार्थीहरू र अरू नेपालको अवस्था बुझ्न र सहजीकरण गरिदिन व्यस्त छन् । उनका अनुसार बुधबारसम्ममा त्यहाँको अवस्था सहज हुँदै गइरहेको छ ।

कान्तिपुरसँग कुराकानी गर्दै भण्डारीले भने, ‘बंगलादेशमा करिब ३ हजार नेपाली विद्यार्थी अध्ययनरत थिए । करिब १४ सय जना हवाई र सडक मार्ग हुँदै नेपाल फर्केका छन् । बाँकी नेपाली विद्यार्थीहरू होस्टलमा छन् भने अरू पनि सुरक्षित अवस्थामा छन् ।’

उनले नेपालीहरूसँग सम्पर्कमा रहिरहेको पनि उल्लेख गरे । राजदूत भण्डारीले केही समय अझै पढाइ सुरु हुने अवस्था नभएका कारणले गर्दा विद्यार्थीहरू नेपाल फर्कन पनि सक्ने उल्लेख गरे । ‘तर अहिले अवस्था सामान्य भएको छ । नेपालीहरू सबै सुरक्षित छन् । हामी नियमित सम्पर्कमा छौं,’ उनले भने ।

धेरै पढिएको