२ वर्षको काम आफूले ६ महिनाभित्रै गर्ने चलचित्र विकास बोर्ड अध्यक्षको दावी
News Desk
Nov-22 , 2024 तारिख 05:54 बिहान

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले २ वर्षको काम आफूले ६ महिनाभित्रै गर्ने दावी गरेका छन्।

यसवर्षको बाँकी रहेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ आउँदो साताभित्र गर्ने तयारीमा रहेको जानकारी दिँदै अध्यक्ष डिसीले आफूलाई कुनै पनि बहाना बनाएर अलमल गर्ने र काम नगर्ने छुट नरहेको उल्लेख गरे। 

“बोर्डमा अध्यक्ष बन्नुभन्दा अगाडि मैले पनि स्वायतता चाहिन्छ भनेर धेरै पटक बोलेको छु तर यहाँ काम गर्न कुनै रोकावट रहेनछ, स्वायत्तता छ‚’ उनले भने, ‘त्यसकारण मैले मेरो समूहसँग मिलेर यहाँ भएका सेवालाई चुस्तदुरुस्त बनाउने र आवश्यक सेवा थप्ने गरी काम गरिरहेको छु। मैले गरेका काम आगामी वर्षको वैशाख १ गतेसम्ममा देखिनेछ, चलचित्रकर्मीले महसुस गर्ने गरी काम गरेर परिणाम देखाउने छु।”

अध्यक्ष डिसीले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसदमा पेश गर्न, चलचित्र क्षेत्रको इतिहास सङ्ग्रहित गर्न, पटकथा सङ्ग्रहित गर्न, आउँदो वर्ष २०८२ वैशाख १ गतेदेखि बक्सअफिसमा ‘रियल टाइम डाटा’ निर्मातालाई उपलब्ध गराउनेलगायत काम गर्न आफ्नो समूहले अहोरात्र काम गरिरहेको दावी पनि गरे।

“चलचित्रकर्मीलाई अपनत्व महसुस गराउन बोर्डको सभाहललाई एकपटकको कार्यक्रम गर्न निःशुल्क उपलब्ध गराउनुका साथै केही चलचित्रकर्मीको हकमा निधन भएपछि अन्तिम संस्कार गर्न कठिनाइ देखिएका कारण अब त्यसको समन्वय बोर्डले गर्नेछ‚’ उनले भने, ‘यसैगरी बोर्डसहित बाँकी रहेका सम्पूर्ण चलचित्र भवनलाई अपाङ्तामैत्री (ह्वीलचेयर पुग्ने) बनाउँछौँ।”

धेरै पढिएको