नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औं ग्रेजुएशन फेसन शो ‘अनुकल्पित प्रभानम्’ सम्पन्न
News Desk
Mar-29 , 2025 तारिख 06:16 बेलुका

ललितपुर, मार्च २८ । सांस्कृतिक विविधता र आधुनिकताको समिश्रणमा आधारित ‘अनुकल्पित प्रभानम्’ शीर्षकमा नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औं ग्रेजुएशन फेसन शो अत्यन्तै सृजनात्मक र सम्झनलायक कार्यक्रमको रूपमा सम्पन्न भएको छ। २०२५ मार्च २८, शुक्रबार साँझ ललितपुरको झम्सीखेलस्थित द प्लाजा नेपालमा आयोजित उक्त कार्यक्रम केवल फेसन शो मात्र नभई मौलिक परम्परा, सांस्कृतिक धरोहर र आधुनिकताको संगमका रूपमा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा स्नातक तहका ८८ जना विद्यार्थीहरूले आफ्ना विभिन्न डिजाइन संग्रहहरू प्रस्तुत गरेका थिए, जसले नेपाली फेसनको उज्ज्वल भविष्य र सम्भावनाको झलक प्रदान गर्‍यो। फेसन शोमा नौ वटा प्रमुख संग्रहहरू प्रस्तुत गरिएको थियो, जसले प्रत्येक डिजाइनरको व्यक्तिगत दृष्टिकोण, सृजनात्मकता र सांस्कृतिक जडत्वलाई उजागर गर्‍यो। यी संग्रहहरू नेपाली परम्परागत कला र सांस्कृतिक मूल्यहरूलाई आधुनिक फेसनको दृष्टिकोणबाट पुनः व्याख्या गर्दै दर्शकमा गहिरो प्रभाव पार्न सफल देखिए।

कार्यक्रमको विशेष आकर्षण प्रत्येक संग्रहको ‘मास्टरपिस’ अर्थात् उत्कृष्ट रचनात्मक पहिरनहरू थिए, जसले विद्यार्थी डिजाइनरहरूको कडा परिश्रम र सिर्जनशीलताको परिपूर्णता दर्शायो। ती पहिरनहरू केवल कपडाका रूपमा नभई नेपाली संस्कृति, परम्परा र जीवनका महत्वपूर्ण आयामहरूलाई आफ्नै रूप, रङ र कथाको रूपमा प्रस्तुत गरिएको थियो।

कार्यक्रम नमूना कलेजकी संस्थापक प्रिन्सिपल श्रीमती ज्ञानी शोभा तुलाधरको रनवे उपस्थिति मार्फत प्रारम्भ भएको थियो। फेसन शोमा ३६ जना मोडलहरूको आकर्षक प्रस्तुति देख्न पाइयो। कार्यक्रमको सम्पूर्ण आयोजना, व्यवस्थापन र प्रस्तुति कलेजको १९औं ब्याचका विद्यार्थी डिजाइनरहरूद्वारा गरिएको थियो। कार्यक्रमको कोरियोग्राफी तथा निर्देशन फेसन कोरियोग्राफर र सञ्चारकर्मी रोजिन शाक्यले सम्हालेका थिए। शोको संयोजन १९औं ब्याचका प्रिशा जोशी, अनिमा श्रेष्ठ, सनिशा बलामी, प्रियांशी खेतान, भरोसा गौतम तथा निशान्त चापागाईंले गरेका थिए।

कार्यक्रमको विशेष अवसरमा नमूना कलेज अफ फेसन टेक्नोलजीद्वारा प्रकाशित फेसन क्याटलगको चौथौं संस्करण सार्वजनिक गरिएको थियो। उक्त विमोचन पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार निलमणी पोखरेल, व्यवस्थापन संकायका डीन डा. सन्देश डास श्रेष्ठ, परीक्षा नियन्त्रक बलेन्डु हमाल तथा कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरले संयुक्त रूपमा गर्नुभएको थियो।

‘अनुकल्पित प्रभानम्’ शीर्षक अन्तर्गत आयोजित यो फेसन शो, नमूना कलेज अफ फेसन टेक्नोलजीमा स्नातक तहको ‘ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्ट’ अन्तर्गतको अन्तिम परीक्षा स्वरूप प्रस्तुत गरिएको थियो। कार्यक्रममा फैशन, डिजाइन र सांस्कृतिक समावेशीताको उत्कृष्ट उदाहरण प्रस्तुत गरिएको थियो। फेसन क्षेत्रमा ख्यातिप्राप्त निर्णायकहरू डा. कुल बहादुर बस्नेत, प्रोफेसर डा. जया प्रधान, राजेन्द्र सिंह, कुश्मा श्रेष्ठ, डिजाइनर राजेश धाख्वा र अनु श्रेष्ठ, एनसिएफटी अलुम्नाइकी लिना महर्जन, मिस विभा २०२४ प्रेमा लाम्गाडे र मिस नेवाः नेपाल ११४५ प्रलिशा शाक्य निर्णायक मण्डलमा रहनु भएको थियो।

कार्यक्रमको प्रत्येक पक्षले डिजाइनरहरूको सृजनात्मकता, सांस्कृतिक बोध र पेशागत क्षमताको उत्कृष्ट प्रस्तुतिको परिचय गराएको थियो। यी युवा डिजाइनरहरूले नेपाली सांस्कृतिक धरोहरलाई आधुनिक दृष्टिकोणबाट पुनः व्याख्या गर्दै फेसनलाई कथा सुनाउने सशक्त माध्यमका रूपमा स्थापित गर्न सफल भएका छन्।